काठमाडौं। विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) का कारण जारी लकडाउनले नेपालको शैक्षिक क्षेत्र अस्त व्यस्त नै बनेको छ। यसको ठूलो शिकारका रुपमा गत बर्षको विद्यालय शिक्षाको फलामे ढोका मानिएको तत्कालिन एसएलसी एवम् वर्तमान एसइई परीक्षा नै हुन सकेन।
लकडाउनको करिब तीन महिनासम्म नेपालका करिब पाँचलाख परीक्षार्थीहरु एसइई परीक्षाकै तनाबमा रहे। हुने या नहुने दुवै व्दिविधामा रहंदै गरेका एसइई परीक्षाका परीक्षार्थीहरुलाई सरकारले राहत प्रदान गरेको छ। उनीहरुलाई यो बर्ष एसइई परीक्षा नै दिन नपर्ने गरेर पास गरिदिएको छ।
विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा ग्रेडिङ सिस्टमवाट कक्षा १० को एसइई परीक्षा अटोमेटिकली पास हुने भाग्यशाली ऐतिहासिक विद्यार्थी हुन पाएकोमा यो बर्षको एसइई परीक्षाका परीक्षार्थी समिर अवाल खुशी छन्। तर, परीक्षा दिन पाएको भए, त्यसको अझ महत्व हुने समिर अवालको प्रतिक्रिया रहेको छ।
परीक्षा नहुंदा नून विनाको तरकारी जस्तो भएतापनि वर्तमान विषम परिस्थितिमा नहुनु मामा भन्दा कानो मामा राम्रो भनेजस्तै भयो भनेर समिरले भनेका छन्। भविष्यमा मेकानिकल इञ्जिनियर वन्ने ठूलो सपनामा रहेका समिर प्रतिभाशाली किशोर हुन।
काठमाडौं महानगरपालिका वडा नंबर ३२ कोटेश्वर भाटभटेनी पछाडिको दीपनगर निवासी समिरको कथा दुःखद नै रहेको छ। सानो उमेरमा नै ममतामयी आमाको दुःखद निधनका कारण बाल्यकाल मामाघरमा वितेको वताउने समिरका लागि आमा पछिको मायामोह मामावाटै भयो।
मामा–माइजु, मावली बाजे–बज्यैको प्यार तथा ममतामा हुर्केको बाल्यकाल समिरका लागि सदा अविस्मरणीय नै रहेको छ। किशोर अवस्थामा पुगेपछि जन्मदिने पिताको प्यार अनि हजुरबुवाको माया तथा ठूलो बुवा सुनकुमार अवाल र ठूलीआमा तरिमैं अवालको स्नेहवाट रमेको जिन्दगी साँच्चै गर्बिलो महशुश भएको समिरको भनाइ छ।
मानिसको जिन्दगीमा सुख तथा दुःख सवै हुने र त्यसमा आफूहरु रम्न सक्नु पर्दछ भन्ने सोचका समिर अव कक्षा ११ को तयारीमा रहेका छन्। आफ्नो जिन्दगीवाट आफै रमाउंदै हिंड्नुपर्दछ भन्ने भनाइमा रहेका समिर कसैसंग आफूलाई तुलना नगरिकन अगाडि बढ्ने कोशिशमा छु भन्छन्।