पुष्पकमल दाहाल प्रचण्डको जन्म वि. सं. २०११ मंसिर २६ गते कास्की ढिकुरपोखरी गाविस वडा नं. २ लेवाडेमा भएको हो । पिता मुक्तिराम र माता भवानीका ज्येष्ठ पुत्र प्रधानमन्त्री प्रचण्डले रामपुर कृषि क्याम्पसबाट कृषिमा बि.एस्सी गर्नु भई एम.पी.ए.सम्म गरेका छन् ।
विक्रमसम्वत् २०१९ मा ढिकुरपोखरी–२ बाट चितवन भरतपुरको शिवनगर गाविसमा बसाइँसराइ गरेका प्रचण्डको विसं २०२६ बैशाखमा सीता पौडेलसँग विवाह भएको हो । उनका तीन छोरी र एक छोरा छन् । जेठी छोरीको क्यान्सरबाट निधन भइसकेको छ । उनी नारायणी विद्यामन्दिर मा.वि.शिवनगर (२०२९साल, डण्डा मावि नवलपरासी र भीमोदय मावि,आरुघाट,गोरखा २०३३÷०३५सालमा अध्यापन गरी २०३२ सालमा युएसएडमा सेवारत रहेका थिए ।
विसं २०२८ मा नेकपाको पुष्पलाल समूहमा पार्टीको सदस्यताबाट आफ्नो राजनैतिक जीवन प्रारम्भ गरेका प्रचण्डले बादल, मित्र दवाडी, खेम भण्डारी र पुष्प भुर्तेलसँग मिलेर २०३१ सालमा माक्सवादी अध्ययन समूह गठन गरेका थिए । उनी २०३४ सालमा चौथो महाधिवेशनमा प्रवेश गरी २०३५ सालमा पूर्णकालीन कार्यकर्ता र २०३६ सालमा चितवन जिल्ला समिति सदस्यमा निर्वाचित भए । उनी विसं २०३८ मा क्षेत्रीय ब्युरो सदस्य एवं अखिल नेपाल युवक संघको केन्द्रीय समितिको महासचिव भई २०४० मा संघको केन्द्रीय अध्यक्षमा निर्वाचीत भएका थिए।
विसं २०४१ मा नेकपा (मशाल)को पाँचौ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित २०४२ मा पोलिटब्युरो सदस्य, २०४६ मा महामन्त्री र २०४८ सालमा नेकपा–एकता केन्द्रको महामन्त्री भए । यसैगरी २०५१ सालमा तत्कालीन नेकपा – एकता केन्द्रको प्रथम राष्ट्रिय सम्मेलनपछिको तेस्रो विस्तारित बैठकपछि पार्टीको नाम फेरेर नेकपा (माओवादी) राखेपछि महामन्त्री भएका प्रचण्ड २०५७ सालमा दोस्रो राष्ट्रिय सम्मेलनबाट नेकपा माओवादीको अध्यक्ष भए ।
विक्रम सम्वत् २०५८ मा जनमुक्ति सेना नेपालको सर्वोच्च कमान्डर भएका प्रचण्ड २०६३ साल असार २ गते बालुवाटारमा पत्रकार सम्मेलन गरी काठमाडौँमा भूमिगत जीवनबाट सार्वजनिक भएका थिए । प्रचण्डका नेपाली क्रान्तिका समस्या (भाग १, २ र ३), संस्कृति, कला र सौन्र्दय चिन्तन, प्रचण्डका छानिएका रचनाहरू (खण्ड १ र २ ) तथा ’प्रचण्डका छानिएका सैन्य रचनाहरू’लगायतका पुस्तक प्रकाशित छन् । उनी पहिलो संविधान सभा निर्वाचनमा काठमाडौँ १० र रोल्पा–२ बाट निर्वाचित भएका थिए भने दोस्रो संविधान सभा निर्वाचनमा सिराहा ५ बाट निर्वाचित भएका हुन् । हाल उनी नेकपा माओवादी केन्द्रको अध्यक्ष छन् ।
छविलालबाट पुष्पकमल
तत्कालीन अवस्थामा दश कक्षामा फारम भर्ने बेलामा त्योबेला नयाँ नाम राख्न पाइन्थ्यो । उनलाई छबिलाल नाम त्यति राम्रो लागेको थिएन । फारम भर्ने बेलामा उनलाई नाम फेर्ने ईच्छा जाग्यो । पढाइमा राम्रो विद्यार्थी भएकोले शिक्षकहरुले पनि छविलाललाई मन पराउथे । त्यसबेला त्यो विद्यालयका प्रधानाध्यापक राजकृष्ण कँडेल थिए । भन्छिन हेडसरको कोठामा बसेर उनले नाम फेर्ने कुरा गरेपछि दश–बीसवटा नामका लिष्टनै तयार भएका थिए ।
त्यो लिष्टमा कमलराज, कमलप्रसाद, कमलहरि, आदि नाम थिए । अन्तमा उनको नाम पुष्पमा गएर अडियो । पुष्पमा मन त अडियो तर पुष्पराज राख्ने कि पुष्पप्रसाद राख्ने अथवा पुष्पमात्र राख्ने भन्ने दोधार परे उनी । अर्का सर चन्द्रराज भुर्तेल पनि त्यही पढाउँथे । चन्द्रराज भुर्तेल सरले पुष्प पछाडि कमल राख्ने सल्लाह दिए । उनको सुझाव ठिक लागेर छबिलालबाट उनको नाम पुष्पकमल दाहाल भएको हो । उनीसँगै पुष्प भुत्र्याल भन्ने साथी पनि सँगै अध्ययन गर्ने । उनले पनि पछाडि विमल थपेर पुष्पविमल बनाएका थिए ।
बाल्यकालमा ३ र ६ चिन्न एक वर्ष
प्रचण्डले विद्यालय गएर ‘क’ भन्ने अक्षर चिनेका होइनन् । उनले घरमै बसेर ‘क’ चिनेका हुन् । बाल्यकालमा घरको अवस्था निकै दयनीय थियो । उनी सात आठ वर्षको हुँदा उनका बा घरमा थिएनन्। कास्कीको ढिकुरपोखरीमा जन्मेका उनको घरनजिकै मामाघर थियो। सोही घरमा उनले ‘क’ चिनेका हुन्। खरीपाटीमा क, ख लेख्न सिकेका उनले सात वर्षको उमेरमा मात्र अक्षर चिन्न सुरु गरेका थिए । अक्षर लेख्न र पढ्न त्यति गाह्रो नभएपनि अंक लेख्न र सिक्न भने उनलाई निकै गाह्रो भएको जानकारहरु बताउँछन । अंकहरुमध्येमा पनि ३ र ६ अंक चिन्न उनलाई धौ–धौ परेको थियो। ३ कता फर्कन्छ र ६ कता फर्कन्छ भन्ने चिन्न उनलाई एकवर्ष लागेको थियो।
प्रचण्डको राजनीतिक यात्रा
चौथो महाधिवेशनपछि उनको भक्तबहादुर श्रेष्ठसँग घनिष्ठ सम्बन्ध गाँसिन पुग्यो । त्यस हिसाबले उनको राजनैतिक जीवनको आरम्भ तत्कालीन पुष्पलाल समूहमा २०२८ सालमा प्रवेश गरेपछि भएको मान्न सकिन्छ । भक्तबहादुर पार्टीको महामन्त्री हुनेबेला प्रचण्ड क्षेत्रीय ब्युरो सदस्य पदमा कार्यरत थिए । ०३९ सालतिर निर्मल लामा र मोहनविक्रम सिंहबीच विवाद आएपछि प्रचण्ड त्यसबेला मोहनविक्रमतिर लागेका थिए । उनको विश्लेषणमा, लामाको चुनावप्रतिको मोह भएका कारण उनलाई परित्याग गरेर मोहनविक्रमतिर लागिएको हो । पछि उनै मोहनविक्रम प्रचण्डविरुद्ध केन्द्रिय समितिमा नकारात्मक रुपमा प्रस्तुत भएपछि उनी मोहन वैद्यसँग नजीक हुन पुगे।
त्यतिखेर वैद्य पनि मोहनविक्रमबाट छुट्टीएर नेकपा ‘मशाल’ का महामन्त्री भएका थिए। त्यसबेला गोप्य योजना बनाई सशस्त्र विद्रोहको तयारी गर्न नपाउँदै प्रहरीकहाँ त्यो सूचना पुग्यो र दर्जनौँ कार्यकर्ता पक्राउ परे । त्यसपछि वैद्यले नैतिकताका आधारमा राजीनामा दिई प्रचण्डलाई महामन्त्री पदमा सिफारिस गरेका थिए । ०४६ सालको जनआन्दोलनपछि तत्कालीन चार कम्युनिस्ट पार्टीहरू ‘मशाल’, चौथो महाधिवेशन, सर्वहारावादी श्रमिक सङ्गठन र विद्रोही मसाल मिलेर बनेको एकता केन्द्रको समेत प्रचण्ड महामन्त्री हुन पुगे । त्यसपछि ०५१ सालमा फेरि एकताकेन्द्र छुट्टीएर दुई चिरा भएपछि प्रचण्ड समूहचाहिँ नेकपा माओवादीका रूपमा देखीयो ,जसले एक वर्षपछि सशस्त्र विद्रोह युद्धको घोषणा गर्र्यो ।
भनिन्छ, ०४६ सालको जनआन्दोलन हुनु केही समयअघि प्रचण्डले गोरखाको सिरूबारीको तिरानचोकमा १६ जनालाई पहिलोपटक हतियार चलाउने तालीम दिएका थिए । २०६२ फागुन २ गतेको ‘जनादेश’ लाई दिइएको अन्तर्वार्तामा प्रचण्डले भनेका छन “त्यो तालीमको तयारीका लागि राइफल किन्न बादल र म मनाङस्थित देव गुरुङको घरमा गएका थियौं, त्यही क्रममा ०४५ सालमा पार्टीका सैन्य दस्तावेज, लेखराज भट्टले पार्टीलाई उपलब्ध गराएको एउटा पेस्तोल र १० गोला जिलेटिन शरीरमा लुकाएर बादल र म बसबाट गोरखा जाँदै गर्दा मुग्लिनको पुल तरेपछि तनहुँको डीएसपी र सीडीओद्वारा भएको खानतलासीमा रौँ प्रमाणले मात्र बँचियो।” त्यसपछि ०५२मा ‘जनयुद्ध’ थाल्नुभन्दा केही समयअघि गोरखाकै गाईपुरमा अर्को तालीम दिए, प्रचण्डले। १० वर्षका समयमा लडाइँका मोर्चाहरू तयार पार्नेदेखि आक्रमणका योजना बनाउनेसम्म काम गरे पनि प्रचण्डले प्रत्यक्ष लडाइँमा सहभागीता भने जनाएनन् ।
२०५२ सालपछि २०६३ सालमा प्रचण्डको बाबुसँग भेट भएको थियो । न्वारानको नाम छविलाल भएकाले उनलाई छवि नै भन्थे परिवारमा । घरको प्यारो नाम ‘बाबु’ थियो । तर, स्कूल पढ्दापढ्दै छविले आफ्नो नाम आफैँ पुष्पकमल राखेका थिए । बाबुआमाले प्रचण्ड भन्ने नाम आफ्नो छोराको हो भनेर धेरै पछि मात्रै थहा पाएका थिए ।
२०५७ सालमा भारत, पन्जाबको जालन्धरमा सम्पन्न माओवादीको दोस्रो राष्ट्रिय सम्मेलनले प्रचण्डपथको अवधारणा पास गरेपछि पार्टी भित्रै उनका केही आलोचक पनि जन्मिएका थिए । दोस्रो राष्ट्रिय सम्मेलनले पारित गरेको दस्तावेज अनुरूप माओवादीले २०५८ सालमा आफ्नो छुट्टै ‘जनमुक्ति सेना, नेपाल’ गठन गर्न पुग्यो । जसको सर्वोच्च कमान्डर प्रचण्डलाई नै बनाइयो । २०६१ भदौमा फुन्टीबाङमा सम्पन्न बैठकले रणनैतिक प्रत्याक्रमणको योजना कार्यान्वयन गर्न पार्टीको सैन्य र राजनैतिक फाँट दुवैमा प्रचण्डकै नेतृत्व हुनुपर्ने निर्णय गरेपछि डा. बाबुराम भट्टराई समूहसँग उनको मतमतान्तर निकै चुलीएको थियो । २०५२ सालमा सुरु भएको माओवादी जनयुद्ध २०६२ मा आएर टुङ्गीएको थियो । त्यसपछि मुलुकले अर्को युद्धको सामना गर्नुपरेको छैन् ।