सम्पादकीय-
राजनीतिको रंग कैलो हुन्छ। यसको विश्वास गर्न कठिन छ भन्ने विश्वास रहेको छ। जसको कारण राजनीतिमा दुई दुना तीन वा पाँच हुन्छ भन्ने कुरा पनि खुलासा भएकै हो। अबका शिक्षित युवाहरु यो कुरा मान्न तयार छैनन् । अब सधैँ जनतालाई भेडो बनाइराख्न सकिन्छ भन्ने भ्रमबाट मुक्त भई युवाहरूको आवाजलाई सम्बोधनतर्फ लाग्नु राजनीतिक दलहरूका लागि श्रेयस्कर हुन्छ। नत्र स्वतन्त्रको भेलले दलहरूले अस्तित्व धान्न धौ-धौ हुने पक्का छ।
दलिय राजनीतिवाट विरक्तिएका नेपाली युवाहरुको आकर्षण स्वतन्त्रमा देखिएको छ। जसको कारण बालेन शाह, हर्क साङपाङ राई जस्ता प्रखर मेयरहरुप्रतिको अपार आकर्षणले महत्व राख्न थालेको छ। चाडै हुन गैरहेको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा पनि स्थानीय निर्वाचनमा जस्तै स्वतन्त्र उम्मेदवारहरुतिर नेपाली युवाहरुको आकर्षणमा दिनानुदिन बृद्धि हुदैगएको छ।
नेपालका मूलधारका पार्टीमध्ये माओवादीको हैसियत रक्षात्मक अवस्थाबाट गुज्रिराखेको छ भने नेपाली कांग्रेस, नेकपा एमालेलाई नेपाली राजनीति पेचिलो बन्दैगएको छ। गठबन्धनको नाम आपसी मिलोमतो नै काफी सम्झनु आफैमा घात हुने निश्चित छ । राजनीतिबाट बिरक्तिएका तमाम नेताहरू छन् जो आज युवाहरूको शरणमा पुगिसकेका छन्। परम्परागत ढंगले अघि बढे त्यसको परिणामले धेरै बालेन-हर्क जन्मने निश्चित छ।
उक्त पृष्ठभूमिमा पार्टीहरू खास गरेर अग्रगामी राजनीतिका मसिहाहरू (कांग्रेस–कम्युनिष्ट) थप गम्भीर र जिम्मेवार हुनुपर्ने देखिन्छ। लोकतन्त्र र गणतन्त्रविरोधी शक्तिले विस्तारै मुन्टो उठाउँदै गरेको विद्यान अवस्था छ। राजतन्त्रको कुरा जबरजस्त उठिरहेको छ। राजतन्त्र र गणतन्त्र एक अर्काका प्रमुख दुश्मनतन्त्र हुन्।
यस्तो स्थितिमा युवाहरूको आवाजलाई सम्बोधन नगरी पेलेरै जाने र पार्टीभित्र पनि पैसा र पाखुराको भरमा उम्मेदवारी छनौट गर्ने परिपाटीलाई त्याग्नु आवश्यक छ। विचार, सिद्धान्त, निष्ठा र आदर्शको आधारमा पार्टी र सरकार चल्दैन। त्यस्तो पार्टीमा जसरी पनि बसिरहनुपर्छ भन्ने अवको मान्यता भएको पाइदैन। पार्टीले बेवास्ता र मतलव नगरेमा निर्वाचनमा स्वतन्त्र भएर अगाडि बढ्ने विकल्प भएको कारण पार्टीहरुको लागि निर्वाचन फलामे चिउरा जस्तै बन्न थालेको छ।
निष्ठा र आदर्शबाट कुनै पनि पार्टी स्खलित हुन्छ भने निःसन्देह त्यहाँ रहनु- नरहनुको कुनै अर्थ रहँदैन । लोकतान्त्रिक प्रणालीका मुख्य आधार स्वतन्त्रता, समानता, न्याय र भ्रातृत्व हुन् । न अहिले समानता छ न न्याय नै ह। स्वतन्त्रताको उपभोगमा पार्टी अनुशासनको डण्डाले तर्साउन खोजिन्छ भने उता पार्टीभित्रको अस्वस्थ प्रतिस्पर्धाले भ्रातृत्व सम्बन्धमा ह्रास आएको छ।
त्यसैले सबै प्रमुख पार्टीभित्र आन्तरिक सम्बन्ध अत्यन्तै कमजोर हुँदै गएको अवस्था छ। कतिलाई लागेको होला आसन्न चुनावमा टिकट पाउनु नै जित हुनु हो तर त्यस्तो सोचाइ सरासर भुल हो । यस्तो सोचले धेरै बालेन र हर्क जन्माउने काम गर्छ। केही नेताहरू आफ्नो संगठनका साथीहरूको मानमर्दन गरेर भए पनि पार्टीको टिकट पाउनुलाई नै जित सुनिश्चित ठानेका छन्, जुन बुझाइ एकदमै गलत सावित हुने निश्चित छ। स्वतन्त्रको उद्वेगको उत्कर्षले जसरी काठमाडौँमा सिर्जना र केशवलाई पाखा लगाइदियो त्यसरी नै आसन्न संघीय निर्वाचनमा त्यही नियति भोग्न दलहरू तयार हुनुपर्छ।
अहिले सामान्य अध्ययनले पनि के देखाउँछ भने दल आबद्ध तमाम कार्यकर्ता स्वतन्त्रप्रति आकृष्ट भएको सर्भेक्षेणबाट अनुभूत गरिँदैछ। प्रत्यक व्यक्तिसँगको भेटमा त्यस्तै गुनासो पाइन्छ। यो यथार्थलाई बुझ्ने कोसिस भएन र हिजो जसले जितेको छ आज उसैलाई टिकट दिने परम्परागत विधि र प्रक्रिया अपनाउने हो भने परिवर्तनकामी जनता र कार्यकर्ताको भावनामा चोट पुग्ने पक्का छ। कार्यकर्ता र जनताको परिवर्तनको भावनालाई आत्मसात नगर्दाको परिणाम काठमाडौँ र धरानलगायत अन्य स्थानमा जे भयो त्यही नियति भोग्न तयार हुनुपर्छ। पार्टीहरू अलिकति चुक्ने र कमजोर हुने बित्तिकै नेताहरूलाई ज्यान जोगाउन हम्मेहम्मे पर्ने स्थिति देखिँदै छ।
अब हिजोको जस्तो अवस्था छैन पार्टीका नेताले जे भन्यो त्यही हुने । कार्यकर्ता जनतासँग घुलमिल हुन छोडिसकेका छन् । एउटा कार्यकर्ताले जनतालाई जता–जता भन्यो उतै उतै भेडा बाख्रा बनाएर डोहो-याउने अवस्था अब देखिँदैन। यसर्थ पनि दलहरूले यदि अरू थप बालेन र हर्क जस्ताको जन्म नहोस् भन्ने या हुन दिनबाट रोक्ने हो भने गम्भीरतासाथ पछिल्लो विकसित राजनीतिक घटनाक्रमलाई अध्ययन विश्लेषण गरेरमात्र टिकट दिनुपर्छ । धेरै मेहनत र कसरत गर्न आवश्यक छ। अन्यथा, बालेन तथा हर्कहरुको बोलवाला हुने निश्चित छ।
(नामी साप्ताहिकवाट सम्पादकीय साभार)
प्रकाशन मिति–२०७९ साल भाद्र २४ गते शुक्रवार ।