भक्तपुर। भक्तपुर जिल्लाको शान तथा गौरब अनि चिनारी विस्केट जात्रा यो बर्ष पनि नहुने भएको छ। भारतका विभिन्न प्रान्तहरुमा कोरोना भाइरस संक्रमण फैलिरहँदा नेपालमा पनि जोखिम बढ्ने सम्भावना रहेको भन्दै आइतबार जिल्लास्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)का पदाधिकारीहरुको बैठकले पूजारीलाई मात्र राखेर पूजा गर्ने तथा रथ तान्ने र लिंगो ठड्याउने काम नगर्ने निर्णय लिएको हो।
यस्तै बैठकले नयाँ वर्ष २०७८ का अवसरमा हुने पूजा, पाठ, सप्ताह र पिकनिकजस्ता कार्यक्रमहरु पनि सीमित संख्यामा कोभिडको मापदण्ड पालना गरेरमात्र गर्न–गराउन अनुरोध गर्ने निर्णय गरेको छ। अत्यधिक भीडभाड हुने जिब्रो छेड्ने तथा सिन्दुर जात्रा नगर्न र कोरोनाबाट बच्न जनचेतनामूलक कार्यक्रम गर्न नगरपालिकाहरुलाई अनुरोध गर्ने निर्णय पनि गरिएको छ।
कोरोना भाइरस संक्रमणको जोखिम नियन्त्रणका लागि सरकारले जारी गरेको मापदण्डहरु उल्लंघन गर्नेलाई संक्रामक रोग ऐन २०२० बमोजिम कारबाही गर्नेसमेत निर्णय गरिएको छ। बैठकमा डीसीसीएमसीका सल्लाहकार एवं जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलाल, प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, सुरक्षा निकायका प्रमुखहरु, स्वास्थ्य क्षेत्रका प्रमुख लगायतको उपस्थिति रहेको थियो।
प्रकाशन मिति–२०७७ साल चैत्र २३ गते सोमवार ।