Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90
काठमाडौं। जारी लकडाउनका कारण विपदमा परेका सांगीतिककर्मीहरुलाई नेपाल सांगीतिक संघले घरको दैलो–दैलोमै राहतरुपी मायाको पोको पुर्याउने कार्य गरेको छ। नेपाल सांगीतिक संघ आवद्ध गायक, संगीतकार, गीतकार, एरेन्जर, बाद्यवादक,नृत्यकार लगायतका सांगीतिकर्मीहरुलाई मायाको पोको राहत सहयोग गर्ने कार्य भएको हो।
सम्पूर्ण संगीतकर्मीहरुको एक मात्र छाता संगठन नेपाल सांगीतिक संघले कोरोनाभाइरसको महामारीका कारण दुई महिनाभन्दा धेरै समय घरमै लकडाउन भएर बस्नु परेकोले आफ्नो नियमित काममा फर्किन नपाएका र भएको खर्च सकिएर अप्ठ्यारोमा परेका नेपाली सांगीतिककर्मीहरुलाई संघको कर्तब्य ठानी ६० घर परिवारलाई राहत वितरण गर्ने कार्य सम्पन्न भएको जानकारी संघका अध्यक्ष मिलन मोक्तानले भिजन संसार डटकमलाई दिएका छन्।
गीतकार संघ नेपाल, संगीतकार संघ नेपाल, नेपाल चलचित्र नृत्य संघ र केही बरिष्ठ कलाकारहरुको सिफारिसमा प्राप्त नामावलीको आधारमा काठमाडौंका विभिन्न स्थानहरु फर्पिङ दक्षिणकाली, मच्छेनारायण कुण्ड, कीर्तिपुर, कुलेश्वर हाईट, कलकीं, ताहाचल, स्वयम्भू, सानो भर्याङ, बानियाँटार, चपली हाईट, लाजिम्पाट, बबरमहल, थापागाउँ, नयाँ बानेश्वर, पुलचोक, मैतिदेवी, डिल्लीबजार, मुलपानी, गौशाला, सामाखुसी, बागबजार, पुतलीसडक, बालुवाटारमा अस्थाई रुपमा बसोबास गर्ने वाध्यबादक, गायक/गायीका, गीतकार, संगीतकार, नृत्यकार, कला निर्देशक, कला पत्रकारहरुको घर दैलोमै प्रत्यक्ष पुगी राहत मायाको पोको वितरण गरिएको संघका अध्यक्ष मिलन मोक्तान बताउँछन।
नेपाल साङगीतिक संघका सक्रिय पदाधिकारीहरु, अध्यक्ष मिलन मोक्तान, वरिष्ठ उपाध्यक्ष खर्क बुढा मगर, कोषाध्यक्ष बिमल श्रेष्ठ, कार्यकारी सदस्यव्दय डा.गौरी शंकर मानन्धर र आशा गौतमले जेष्ठ २५÷२६ र २७ गते ३ दिन कठिन परिस्थितीमा पनि आफ्नो कर्तब्य निर्वाह गरेको संघले जनाएको छ।
राहत संकलन गर्ने कार्य संघका वरिष्ठ सल्लाहकार शंभुजीत बाँसकोटाको शंंभुजीत संगीत घर र साधना कला केन्द्रवाट भएकोको थियो भने, राहत प्रायोजन सेञ्चुरी कमर्शियल बैंक पुतलीसडकद्धारा गरिएको थियो।
यसरी महामारीको विपदको अवस्थामा पनि घर–घर, दैलो–दैलोमै राहत (मायाको पोको) पुर्याउन आएकोमा आपतमा परेका कतिपय संगीतकर्मीहरुले आँखाभरी आँसु पारी नेपाल सांगीतिक संघलाई धन्यबाद तथा आभार व्यक्त गरेको कुरा कोषाध्यक्ष बिमल श्रेष्ठले वताएका छन्।
कलाकारहरुको अभिभावकको रुपमा रहेको सेञ्चुरी बैंकबाट प्राप्त राहत (मायाको पोको) मा चामल, नुन, तेल, मसला, दाल, गेडागुडी, चिउरा, चिनी गरि एक परिवारलाई कम्तिमा १५ दिनलाईं पुग्ने गरि खाद्य सामाग्री उपलब्ध गराइएको थियो।
यसैगरि अन्य दाताहरुसंग पनि राहतका लागि पहल गरिरहेको र प्राप्त भएमा पुनःराहत वितरण गर्ने कुरा संघका अध्यक्ष मिलन मोक्तानले वताएका छन्।