Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)सँग अमेरिकाले सबै सम्बन्ध तोडेको घोषणा गरेका छन्। शुक्रबार ह्वाइटहाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘हामीले डब्ल्यूएचओलाई ब्यापक सुधार गर्न अनुरोध गरेका थियौं। तर ऊ असफल भयो। आजबाट हामीले विश्व स्वास्थ्य संगठनसँगको नाता तोड्दैछौं।’
संयुक्त राष्ट्रसंघ अन्तर्गतको संस्था डब्ल्यूएचओलाई अमेरिकाले दिँदै आएको आर्थिक सहयोग अब विश्व पब्लिक हेल्थमा लगाउने पनि ट्रम्पले बताएका छन्। अमेरिका डब्ल्यूएचओको सबैभन्दा ठूलो दाता हो । अमेरिकाले हरेक वर्ष डब्ल्यूएचओलाई ४५ करोड डलर आर्थिक सहयोग गर्छ। चीनबाट सुरु भएको कोरोना भाइरस संक्रमण विश्वभर फैलिनु र जनधनको ठूलो क्षति हुनुमा डब्ल्यूएचओ नै जिम्मेवार रहेको आरोप ट्रम्पको छ।
डब्ल्यूएचओले चीनको पक्षपोषण गरेको आरोप ट्रम्पले शुक्रबार पनि दोहो-याए। चीनले शुरुमा कोरोनाभाइरस पत्ता लाग्नासाथ सही सूचना लुकाएको र डब्ल्यूएचओले पनि ढाकछोप गरेको आरोप ट्रम्पको छ। अमेरिकाले कोरोनाभाइरस फैलिनुको कारण पत्ता लगाउन डब्ल्यूएचओले विशेषज्ञहरुको टोली चीनमा पठाउनुपर्ने माग राख्दै आएको छ।
सन् २०१९ को डिसेम्बर अन्तिम साता चीनको वुहानस्थित एक पशुपन्छी बजारबाट कोरोना भाइरससंक्रमण फैलिएको थियो। तर, अमेरिकाले चीनको कुनै ल्याबबाट कोरोनाभाइरस फैलाएको आशंका गर्दै आएको छ। कोरोनाभाइरसलाई चीनले पूर्ण नियन्त्रणमा लिइसकेको छ। तर अमेरिका अहिले कोरोनाबाट विश्वमै बढी प्रभावित देश बनेको छ।
अमेरिकामा कोरोना संक्रमणका कारण एक लाख २ हजार ७ सय ९८ जनाको ज्यान गइसकेको छ भने १७ लाख ४५ हजार ६ सय ६ जना संक्रमित छन्। कोरोनाभाइरसको महामारी संक्रमण फैलिनबाट रोक्न डब्ल्यूएचओ असफल भएको आरोप लगाउँदै ट्रम्पले यसअघि नै अमेरिकाले दिँदै आएको आर्थिक सहयोग बन्द गराएका थिए। प्रकाशन मिति–२०७७ साल जेठ १७ गते शनिवार ।