–सुनकुमार अवाल
काठमाडौं। काठमाडौं महानगरपालिका वडा नंबर ३२ स्थित कोटेश्वरमा मकै पोलेर जीविकापार्जन गर्दै गरेकी माया मगरलाई माया मगर भनेर खासैले चिन्दैन। मकैवाली कालीआमा भनेर मात्र चिन्ने गरेको छ।
विगत वीस वर्षदेखि कोटेश्वर भाटभटेनी अगाडिको आकाशे पुलनेर मकै पोलेर परिवार पाल्दैआएकी मकैवाली कालीआमा पूर्वीनेपालको धनकुटा छिन्ताङवाट त्यो बेला नै काठमाडौं आएकी थिइन। श्रीमान गाडी चलाउने व्यवसाय गर्दथे। एक छोरी र एक छोराको आमा मकैवाली कालीआमाको जिन्दगी काठमाडौंमा जसोतसो रमाइलो नै थियो।
१५ बर्षअगाडि श्रीमानको सवारी दुर्घटनामा दुःखद निधन भएपछि भने जिन्दगीमा पहाड नै खसेजस्तो अनुभव भएको सुनाउने मकैवाली कालीआमाको दुःख माथि अर्को दुःख थपियो। सोही बर्ष किड्नी फेल छोरीको पनि मृत्युभएपछि संसार नै अध्यारो जस्तै अनुभव मकैवाली कालीआमालाई भएको थियो।
तरपनि, जसोतसो सानो छोराको अनुहार हेरेर मकै पोल्दै कोटेश्वरमा गुजारा गर्दैआएकी मकैवाली कालीआमालाई जारी लकडाउनमा नै लडेर खुट्टा भाँचिदा समस्या माथि समस्या थपिएको छ।
एकातिर लकडाउनका कारण गुजाराको माध्यम मकै पोलेर व्यवसाय गर्न नपाएको अर्कोतिर खुट्टा भाँचिएर थप समस्या बढाएपछि रुनु न हाँस्नु बनेका मकैवाली कालीआमाले लकडाउनमा सरकारको राहत १० किलो चामल वाहेक केही पाएको छैन्।
जारी लकडाउनको ६१ दिन पुग्दा ज्याला–मजदुरी गरेर पेट पाल्ने मकैवाली कालीआमा जस्ती धेरैलाई व्यापक समस्या भएको छ। त्यस्तैगरेर, मध्यम बर्गिय परिवारको पनि त्यस्तै विषम परिस्थिति रहेको छ। सरकारले यसतर्फ समयमा नै विचार गरेर विशेष राहत प्याकेज नल्याएमा रोगले भन्दा बढी भोकले मर्ने डर भैसकेको छ।