काठमाडौं। चलचित्र पनि आम सञ्चारको सशक्त माध्यम हो। चलचित्रले देश र समाजलाई परिवर्तन गरिरहेको हुन्छ। यसलाई बुझाउन र बुझ्न आवश्यक छ। सस्तो मनोरञ्जनको माध्यमको रुपमा चलचित्रलाई लिइरहेको अवस्थालाई गलत भएको तथ्य जाहेर गर्ने कार्य चलचित्र पत्रकारवाट अव हुनु आवश्यक छ। चलचित्रले कैयन सामाजिक परिवर्तन गर्ने कार्यमा प्रमुख भूमिका निर्वाह गरेको तथ्यलाई नकार्न मिल्दैन। यो माध्यम अत्यन्त महत्वपूर्ण र सञ्चारको सशक्त माध्यम हो।

यस माध्यमलाई मूलधार बनाएर चलचित्र पत्रकारिता गर्ने चलचित्र पत्रकार अझ परिवर्तनका संवाहक हुन। यिनै संवाहक चलचित्र पत्रकारहरुलाई पनि चुनाव लागेको छ। चलचित्र पत्रकार संघ नेपालको नयाँ कार्य समितिका लागि आगामी चैत्र ३ गते निर्वाचन हुने भएको छ। त्यसको लागि धमाधम चलचित्र पत्रकारहरुले उम्मेदवारी घोषणा गरेका छन्।

अध्यक्षमा अघिल्लो पुस्ताका अग्रज चलचित्र पत्रकार डब्बु क्षेत्रीले उम्मेदवारी दिएका छन्। त्यसैगरेर, महिला चलचित्र पत्रकारका तर्फवाट गीता अधिकारीले पनि अध्यक्षमा उम्मेदवारी दिएको घोषणा गरेकी छन्। अनिल यादव पनि अध्यक्षको आकांक्षी देखिएका छन्। महासचिवमा समिर बलामी र जीवन पराजुलीको उम्मेदवारी देखिएको छ।

अघिल्लो पुस्ता र नयाँ पुस्ताको अधिपत्यता रहेको चलचित्र पत्रकार संघ नेपालमा दुवै पुस्तालाई समानान्तर रुपमा लग्ने प्रतिबद्धता अध्यक्षमा उम्मेदवारी दिएका अग्रज पत्रकार डब्बु क्षेत्रीले जनाएका छन्। अध्यक्षका उम्मेदवार क्षेत्रीले संघ चुनावको बेलामा मात्र रन्किने गरेको र अरुबेला सुस्ताउने गरेको अवस्थाको अन्त गरेर चलचित्र पत्रकारहरुको स्तरोन्नतिका लागि अनेक कार्यक्रम आफूले राखेको बताएका छन्।

हरेक महिना कम्तिमा नै स्तरोन्नतिका कार्यक्रम राख्ने तथा चलचित्र पत्रकारहरुका लागि कल्याणकारी कोष खडा गरेर उनीहरुका लागि आवश्यक स्वास्थ्य बीमा देखि पेन्सन दिने योजना पनि बनाएको अध्यक्षका उम्मेदवार क्षेत्रीले भिजन संसार डटकमसंगको कुराकानीमा भनेका छन्।

जीवनभर चलचित्र पत्रकारिता गर्दैआएका पत्रकारहरुको बृद्धावस्था सहज र सरल होस् भनेर आफूले चलचित्र पत्रकार पेन्सन प्लानलाई मुख्य एजेन्डाको रुपमा ल्याएको बताएका छन्। चलचित्र पत्रकारहरुको जीवनबृतिका लागि पेन्सन प्लान अत्यन्त आवश्यक भएको र यो निश्चित भएमा चलचित्र पत्रकारिता गर्नेहरुले जीवनको अन्तिम अवस्थासम्म पनि गौरब गर्ने प्रशस्त स्थान हुने तथ्यलाई अध्यक्षका उम्मेदवार क्षेत्रीले उजागर गरेका छन्।
प्रकाशन मिति–२०७६ साल फागुन २८ गते बुधवार ।