काठमाडौ। तीन दिने भारतको नीजि भ्रमण पूरा गरेर विहीवार नेपाल फर्केका उपप्रधानमन्त्री तथा परराष्ट्रमंत्री कमल थापाले नेपाल र भारत वीच बढेको असमझदारीको दूरी केही दिनमा नै हट्ने बताएका छन्। नेपाल फर्केको लगतै त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा पत्रकारहरुसंगको संक्षिप्त कुराकानीमा थापाले चांडै स्थितिमा सुधार आउने संकेत गरेका छन्। नीजि भ्रमणका क्रममा भारतको बेग्लोर हुंदै दिल्ली पुगेर भारतीय विदेश मन्त्री सुषमा स्वराज लगायतसंगको गोप्य मन्त्रणा पश्चात स्थितिमा सुधार आउने निश्कर्षमा पुगेका मन्त्री थापाका साथमा भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय पनि काठमाडौ आएका छन्।
भुटानको लागि पनि नेपालको राजदूतको जिम्मेवारी पाएपछि उपाध्याय भुटानको थिम्पुमा ओहदाको प्रमाणपत्र बुझाउने क्रममा काठमाडौ आएको राजदूत उपाध्यायले भनेका छन्। यसैवीच प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय विदेशमन्त्री सुषमा स्वराजसंगको टेलिफाने बार्तापछि मधेश मुद्दालाई लिएर नेपाल र भारत वीच देखिएको असमझदारीको अन्त्य भएको सरकारी अधिकारीहरुको दावी रहेको छ। यो सम्वादले नेपाल र भारतबीच देखिएको असमझदारी हटेको बालुवाटार स्रोतले दाबी गरेको छ।
भारतले चासो दिँदै आएको मधेसका तीन मुद्धामा नेपाल सरकारले तीन चरणमा राजनीतिक समझदारी हुने बताएको छ। समानुपातिक समावेशीताको सुनिश्चितता र जनसंख्याका आधारमा निर्वाचन क्षेत्रका लागि तत्काल संविधान संशोधन प्रक्रिया अघि बढाउने सरकारले बताएको छ। सीमांकनबारे मधेसी मोर्चाको मागमा भने राजनीतिक समिति बनाएर तीन महिनाभित्र टुंग्याइने भएको छ।
बालुवाटारले दिल्लीसँग अब पारवहन र आपूर्तिमा भारतले गर्दै आएको अवरोध क्रमिकरुपमा हट्न सक्ने समेत अधिकारीहरु बताउँछन्। नयाँ संविधानलाई लिएर बेखुशी बनेको भारतले मधेस आन्दोलनलाई देखाउँदै असोज ३ मा नयाँ संविधान जारी भएपछि अघोषित नाकाबन्दी गर्दै आएको छ।
अन्तराष्ट्रिय स्तरमा चर्को आलोचना हुँदासमेत नाकाबन्दी गरेको अस्वीकार गर्दै भारतले मधेस आन्दोलनलाई देखाउँदै आएको थियो। तर, झण्डै तीन महिना पनि सहजै समझदारी भयो भन्ने प्रष्ट आधार भने नरहेको अधिकारीहरु बताउँछन्। केही कूटनीतिक विज्ञहरुले थप केही समझदारी भएको हुन सक्ने आशंका गरेका छन्। यो भोलिका दिनमा प्रष्ट हुनेछ।
प्रकाशन मिति–२०७२ साल मंसिर १७ गते विहीवार ।