काठमाडौं। सानो उमेरमा चलचित्र निर्देशन गरेर विश्व रेकर्ड कायम गरिसकेका बाल निर्देशक सौगात विष्टको दोश्रो चलचित्र हैरान अव अमेरिकामा रिलिज हुने भएको छ। अमेरिकाको राजधानी वासिङटन डीसी, मेरिल्याण्ड, भर्जिनिया लगायतका स्थानमा रिलिज हुन लागेको हो।

अमेरिकामा नै रहेका नेपाली सामाजिक अभियन्ता रोशन पुरीको संयोजकत्वमा चलचित्र हैरान रिलिज हुन गैरहेको छ। पहिलो शो को रुपमा यही आउने अगष्ट ४ मा रिलिज हुने भएको छ। त्यसपछि विभिन्न स्थानमा समय मिलाएर रिलिज गर्न आफूले भरमग्दूर प्रयास गर्ने जानकारी संयोजक पुरीले भिजन संसार डटकमलाई दिएका छन्।

नेपालमा रिलिज भैसकेको चलचित्र हैरान पूर्णतया सस्सपेन्स, थ्रिलर मुुबी हो। जसमा बेरोजगारीको हैरानी देखि सानातिना राजनीतिक कार्यकर्ताहरुले पाएको हैरानी देखि बालआश्रममा साना बालबालिकाले पाएको हैरानीलाई जस्ताको तस्तै चलचित्रमा देखाउने प्रयास भएको चलचित्र हैरानकी निर्मात्री संझना पोखरेलले बताएकी छन्।

चलचित्र हैरानी पूर्णतया सामाजिक सन्देशमूलक चलचित्र भएको दावी पनि निर्माता पोखरेलको रहेको छ। चलचित्रमा सरोज खनाल, गजित विष्ट, हैट बुद्धि तामाङ लगायतका चुनिएका र गनिएका कलाकारहरुको बेजोड अभिनय रहेको छ। विश्व रेकर्ड राख्न सफल नेपाली बाल निर्देशक सौगात विष्टको चलचित्र हैरान अगाडि पहिलो चलचित्र लब यु बाबा हो। आठ बर्षको उमेरमा सौगात विष्टले लब यु बाबा निर्देशन गरेर विश्वलाई चकित पार्दै विश्व रेकर्ड राखेका थिए।


प्रकाशन मिति–२०७६ साल साउन १० गते शुक्रवार ।