काठमाडौ। नेपालका अत्यन्त प्रिय स्वर्गवासी राजा वीरेन्द्र र रानी ऐश्वर्य तथा उनको परिवारको नाममा हालसम्म करिब ८७ अर्बको चल अचल सम्पत्ति भेटिएको छ। नेपाल ट्रस्टको कार्यालयले हालसम्म वीरेन्द्र र उनको परिवारको चलअचल सम्पत्ति ८७ अर्ब भएको अनुमान गरेको छ।

नेपालको संसदको राज्य व्यवस्था समितिको बिहीबारको बैठकमा नेपाल ट्रस्टका सचिव डा.रमेशप्रसाद सिंहले अहिलेसम्म ८७ अर्बको रकम प्राप्त भएको बताएका छन्। सो सम्पत्तिलाई अल्पकालीन, मध्यकालीन र दीर्घकालीन व्यावसायिक योजना बनाएर परिचालन गरी आएको रकम शिक्षा र स्वास्थ्यमा लागानी गर्ने उद्देश्य रहेको डा.सिंहले बताएका छन्। सो कार्यान्वयन गर्न निर्देशिका तयार भैसकेको पनि उनले भनेका छन्।

नेपाल ट्रस्टमा स्वर्गीय राजा वीरेन्द्र र उनको परिवारको अचल सम्पत्तिअन्तर्गत २२ हजार रोपनी जग्गा प्राप्त भएको र चल सम्पत्तिअन्तर्गत १ अर्ब ६९ करोड रुपैंया प्राप्त भएको सचिव सिंहले जानकारी दिए। यसैगरी, विदेशी मुद्रा अन्तर्गत हालसम्म ४९ हजार पाउण्ड, १ लाख ४१ हजार डलर प्राप्त भएको छ भने नविल बैंकमा ४ लाख ३५ हजार सेयर, होटल अन्नपूर्णमा ३० हजार ५ सय ३० सेयर, नेपाल पब्लिक निगममा ३७ सय ५० सेयर लगानी देखिएको छ। त्यस्तै, रत्नमन्दिर पोखरा, दियालो बंगला चितवन र मकवानपुरके बंगलामा अचल सम्पत्ति रहेको उनले बताए। पोखराको फेवातालमा मात्रै करिब २ सय रोपनी जग्गा रहेको उनले जानकारी दिएका छन्।
प्रकाशन मिति–२०७५ साल असोज १९ गते शुक्रबार ।