काठमाडौं महानगरपालिकावाट दशौं लाखको ए–डिभिजनका क्लबहरुलाई ऐतिहासिक सहयोग

काठमाडौं। राष्ट्रिय खेलकुदमा योगदान दिने काठमाडौंका ए–डिभिजनका फुटबल क्लबहरुलाई पहिलो पल्ट स्थानीय निकायवाट मोटो रकम अनुदान उपलव्ध गरिएको छ। काठमाडौं महानगरपालिकाले काठमाडौंका ए–डिभिजनका ६ वटा फुटबल क्लबहरुलाई जनही १० लाखका दरले सहयोग उपलव्ध गराएको हो।

काठमाडौं महानगरपालिकाको तर्फवाट त्यसरी अनुदान सहयोग प्राप्त गर्ने ए–डिभिजनका ६ वटा क्लबहरुमा हिमालयन शेर्पा क्लब, मनाङ–मस्र्याङ्दी क्लब, सरस्वती क्लब, मछिन्द्र क्लब, संकटा क्लब र काठमाडौं खेल मण्डल रहेको छ। ६ वटै ए–डिभिजनका क्लबहरुलाई सहयोग राशीका साथमा फुटबल, जर्सी लगायतका खेल सामाग्री काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आइतवार आयोजित कार्यक्रममा हस्तान्तरण गरेका हुन्।

सहयोग राशी हस्तान्तरण कार्यक्रममा बोल्दै मेयर शाक्यले खेल र खेलाडी अनुशासनको प्रतिक भएको उल्लेख गर्दै राजनीतिकर्मीहरुले पनि खेल र खेलाडीको अनुशासनवाट धेरै पाठ सिक्नु पर्ने जिकिर गरे। खेलमा जित्नेभन्दा हार्ने धेरै हुन्छ। हार्नेले जित्नेलाई गाली गर्नुभन्दा तिनले भन्दा पछिल्लो खेलमा राम्रो खेल देखाएर जित्ने प्रयत्न गर्ने खेलाडी अत्यन्त प्रेरक विषय भएको मेयर शाक्यको भनाई रहेको छ।

यो प्रेरक तथ्यलाई नेपाली राजनीतिकर्मीहरुले बुझ्नुपर्ने गुरुमन्त्र नै भएको मेयर शाक्यले भनेका छन्। कार्यक्रममा अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले आजको दिन नेपाली फुटबलको इतिहासमा ऐतिहासिक दिन सावित भएको बताउंदै स्थानीय सरकारले खेल क्षेत्रमा ओनरसीप प्रदान भएको विश्वकै दोश्रो नौलो घटना भएको दावी गरे।

एन्फा अध्यक्ष शेर्पाले विश्वको इतिहास केलाउंदै नेपालभन्दा पहिला माल्दिभ्सको स्थानीय सरकारले खेल क्षेत्रमा ओनरसीप दिएको उल्लेख गरे। माल्दिभ्सले २ सय ५० करोडको अनुदान सहयोगको कीर्तिमान कायम गरिसकेको र नेपालमा काठमाडौं महानगरपालिकाले शुरुवातीमा १० लाखवाट भएपनि राम्रो शुरुवाती गरेकोमा अध्यक्ष शेर्पाले प्रसन्नता व्यक्त गरे।

यस सहयोगले राष्ट्रिय स्तरको खेलाडी तयार पार्न सहयोग हुने भएको छ। त्यसको अलावा राष्ट्रिय,शहीद र एन्फा प्रेसिडेन्ट गरेर तीन लिग फुटबल खेल सञ्चालन हुने भएको छ। साथमा ए–डिभिजनका क्लबहरुले काठमाडौं महानगरपालिकाको टीम पनि तयार पार्न मदत गर्ने भएको हो।

सहयोग राशी र खेल सामाग्री हस्तान्तरण कार्यक्रमको संचालन तथा क्लबहरुका अध्यक्षहरुसंग काठमाडौं महानगरपालिकाको तर्फवाट सामाजिक विकास विभागका प्रमुख नुरनिधि न्यौपानेले हस्ताक्षर गरेका थिए।


प्रकाशन मिति–२०७५ साल भदौ २५ गते सोमवार।