ललितपुर। काठमाडौ नजिकैको शहर ललितपुरको महालक्ष्मी नगरपालिकाको वडा नंबर ४ इमाडोल स्थित कमलपोखरी ग्रीनहिलका स्थानीयहरुले सरकार भएको महशुश गर्न पाएका छैनन्।

विगत १५ दिन देखि बस्तीमा जमेको पानीको उचित निकास दिन स्थानिय सरकारले कुनै पहल गरेको देखिएन। जसले गर्दा त्यहाँका बासिन्दाहरु आफ्नो घरमा आतेजाते गर्न कम्मरमाथिसम्म आउने पानीको सामना गरेर जानु पर्ने दैनिक समस्या देखिएको छ।

धेरै पानी पर्दा रातभर जाग्राम बस्नुपर्ने तथा बस्तीका स्थानिय बासिन्दाहरु तनाबै–तनाबमा देखिएका छन्। बस्तीमा जमेको पानीको उचित निकासका लागि धेरै स्थानमा हार–गुहार गर्दापनि कुनै समाधान नभएको गुनासो स्थानिय भगवती अधिकारीको रहेको छ।

स्थानिय जनप्रतिनिधिहरुले पनि बस्तीप्रति खासै चासो नदेखाएको र पोहोर–परार पनि यस्तै समस्या हुंदादेखि हालसम्म भन्दा समेत कुनै सुनुवाइ नभएको अधिकारीको दुःखेसो रहेको छ।

सोही बस्तीको जमेको घरको पानीको दोश्रो तल्लामा विगत १५ दिनदेखि त्रासै–त्रासमा दिन विताइरहेकी ७० बर्षिया गीतादेवी कायस्थको पीडा देख्दा सवैको मन कटक्क खाने गर्दछ। छोरीवेटी लगायत आफन्तजन भेट्न आउंदा आधा शरीर पानी डुबाएर डुबानवाट निस्कदै गरेको दृश्य अत्यन्त दर्दनाक हुने गरेको छ।

१५ दिनदेखि जमेको पानीमा माछा तथा सर्पहरु पनि देखिन थालेको छ। सर्पको कारण डुवानमा परेका घरका स्थानियहरु त्राहीमाम हुने गरेका छन्। जमेका पानीमा माछा मार्न आउनेहरुको संख्यामा बृद्धि भएको छ। उनीहरुले रमाइलोको लागि भनेर माछा मार्ने क्रममा पनि दिनमा चार–पाँच किलो माछा मार्ने गरेको बताएका छन्।

यस्तो अवस्थामा पनि व्यवस्थित शहर बनाउने नाराकासाथ चुनाव जितेर आएका महालक्ष्मी नगरपालिकाका मेयर लगायतका स्थानिय जनप्रतिनिधिहरुले खासै पहल नगर्नु विडम्बना देखिएको छ।

उचित ढल–निकासको अविलम्ब व्यवस्था गरेर हरेक बर्ष आउने गरेको यो समस्याको समाधान गरिनु आवश्यक छ। यसमा मौन बनेर बेवास्ता नगर्न स्थानियको गुनासो रहेको छ।
प्रकाशन मिति–२०७५ साल साउन ९ गते बुधवार ।