काठमाडौ। नेपालका राष्ट्रकवि माधवप्रसाद घिमिरे स्वास्थ्य उपचारको क्रममा हाल भारतको हरियाणस्थित मेदान्त अस्पतालमा रहेका छन्। मेदान्तमा राष्ट्रकवि घिमिरेको उपचार अत्यन्त राम्रो भएको सोही अस्पतालमा कार्यरत नेपाली डाक्टर किरण अधिकारीले बताएका छन्।

डाक्टर अधिकारीका अनुसार, राष्ट्रकवि माधवप्रसाद घिमिरेको स्वास्थ्यमा सुधार आएपछि आज सोमवार क्याविनमा सारिएको छ। मेदान्त अस्पतालको ‘हाई केयर युनिट’ मा भर्ना भई उपचार गराइरहेका राष्ट्रकवि घिमिरेलाई क्याबिनमा सारिएको डाक्टर अधिकारीले भनेका छन्। “उहाँको भाइटल साइनहरु सबै ठिक छ, आन्द्राको रक्तस्राव रोकिएको छ।” डाक्टर अधिकारीले भने।

डाक्टर अधिकारीका अनुसार राष्ट्रकवि घिमिरेलाई अहिले पनि अक्सिजनमा राखिएको छ। “९९ बर्षको उमेरमा अस्पतालमा अक्सिजन दिएर राख्नु सामान्य नै मान्नु पर्छ,” भनेर डाक्टर अधिकारीले भनेका छन्। केही दिनसम्म निरन्तर स्वास्थ्य अवस्था अनुगमन गरेपछि मात्रै कहिले डिस्चार्ज गर्ने भन्ने थाहा हुने पनि डाक्टर अधिकारीले भनेका छन्।

यद्यपि राष्ट्रकवि घिमिरले भने आफू चारपाँच दिनमै स्वदेश फर्कने भन्दै खुशी व्यक्त गरेका छन् । उच्चरक्तचाप लगायतका समस्या भएपछि काठमाडौंको ग्राण्डी अस्पतालमा भर्ना गरिएका राष्ट्रकवि घिमिरेको आन्द्राबाट भइरहेको रक्तस्राव नियन्त्रणमा नआएपछि अस्पतालले भारत लैजान सिफारिस गरेको थियो । घिमिरेलाई गत ९ जेठमा मेदान्त पुर्‍याइएको थियो।


प्रकाशन मिति–२०७५ साल जेठ १४ गते सोमवार ।