काठमाडौ। पहिलो चरणको स्थानीय निर्वाचनका लागि काठमाडौ महानगरपालिकामा विभिन्न राजनीतिक दलका उम्मेदवारले उत्साहपूर्वक उम्मेदवारी मनोनयन पत्र दर्ता गराएका छन् । बैशाख ३१ गते हुने पहिलो चरणको निर्वाचनको उम्मेदवारी मनोनयन आज मंगलवार बिहान १० बजेबाट सुरु भई ५ बजे सकिएको थियो।
प्रमुख राजनीति दलसहितका अन्य दल र स्वतन्त्र उम्मेदवारले उत्साहपूर्वक उम्मेदवारी मनोनयन पत्र दर्ता गर्नका लागि प्रर्दशनीमार्गस्थित राष्ट्रियसभाको हलमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए। दिउँसो साना दल र केही स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गराएपनि अन्तिम समयमा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रमुख तथा उपप्रमुखमा उम्मेदवारी दर्ता गराएका थिए।
उम्मेदवारहरु बाजागाजासहित आफ्नो पार्टीको झन्डा बोकी उम्मेदवारी दर्ता गराउन गएका थिए । सबभन्दा पहिला साझा पार्टीका किशोर थापाले उम्मेदवारी दर्ता गराएका थिए। उम्मेदवार मनोनयनका लागि निर्वाचन कार्यालयले प्रमुख र उपप्रमुख पदका उम्मेदवारका लागि छुट्टाछुट्टै ठाउँमा मनोनयन दर्ताको व्यवस्था गरेको थियो भने वडाका लागि पनि छुट्टै ठाउँमा दर्ता गर्ने व्यवस्था गरिएको थियो। मनोनयन दर्ताका लागि ३ बजेपछि उम्मेदवारको भीड लागेको थियो।
सबभन्दा ठूलो महानगरपालिका भएकाले पनि धेरै उम्मेदवारले मनोनयन दर्ता गराउन गएका थिए। उम्मेदवारको मनोनयन दर्ता गर्न निर्वाचन कार्यालयलाई हम्मेहम्मे नै परेको थियो। साँझ ६ बजेसम्म वडा अध्यक्ष र सदस्यको उम्मेदवार मनोनयन गर्न उम्मेदवारहरु लाइनमा बसेका थिए । उम्मेदवार मनोनयन गराउनका लागि सम्पत्ति विवरण पनि भर्नु पर्ने अनिवार्य व्यवस्था भएका कारण कतिपयलाई सम्पत्ति विवरण भर्न समस्या परेको थियो।
उम्मेदवारीको फारम लिएर उम्मेदवारले बाहिर चौरमा बसेर फाराम भरेको देखिन्थ्यो । उम्मेदवार दर्ता गराउन सङ्घीय समाजवादी फोरमबाट तालमेल गरेका नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई प्रमुख र उपप्रमुखको उम्मेदवारी दर्ता गराउन आफैँ पुगेका थिए। नेपाली काँग्रेसतर्फबाट आफ्नो दाजु राजुराज जोशी प्रमुख पदका उम्मेदवार बनेकोमा उद्योगमन्त्री नवीन्द्रराज जोशी पनि दाजुसंगै उम्मेदवारी दर्ता स्थल सभागृहमा पुगेका थिए।
आफ्नो पार्टीकातर्फबाट उम्मेदवार दर्ता गराउन एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य पुगेकी थिइन्। नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच प्रमुख र उपप्रमुखमा तालमेल भए पनि छुट्टाछुट्टै रुपमा उम्मेदवारी दर्ता गराइएको छ। एमालेका तर्फबाट प्रमुखमा विद्यासुन्दर शाक्य र उपप्रमुखमा राप्रपाबाट राजाराम श्रेष्ठले उम्मेदवारी दर्ता गरेका थिए।
नेकपा माओवादी केन्द्रबाट प्रमुखको उम्मेदवार बनेका सर्वोेत्तम डङ्गोल आफ्ना कार्यकतासँग उम्मेदवारी दर्ता गराउन पुगेका थिए । ३२ वडा रहेको महानगरमा प्रमुख, उपप्रमुख वडा अध्यक्ष र चार सदस्यसहित १६२ जना निर्वाचित हुने छन् ।
प्रकाशन मिति–२०७४ साल बैशाख १९ गते मंगलवार ।