काठमाडौ। पूर्वी नेपालको सुनसरी जिल्ला इटहरी उपमहानगरपालिका–१२ खनारस्थित पाथीभरा पोल्ट्री फर्ममा पालिएको लेयर्स जातका कुखुरामा बर्डफ्लूको सङ्क्रमण देखिएको छ। जसको पुष्टि भएपछि त्यस फर्ममा रहेका ४ हजार ५ सय कुखुरा शुक्रबार नष्ट गरिएको छ।
राससका अनुसार रु ५० लाखको लगानीमा मिलन चापागाई, सञ्जय गौतम, भोला अधिकारी र विष्णु पाण्डेव्दारा स्थापित उक्त फर्ममा ६ हजार ५सय लेयर्स जातको कुखुरा रहेको तथा फागुन १३ देखि नै फर्ममा रहेका कुखुरा मर्न थालेपछि त्यसको नमुना जाँचपछिमात्र विहीवार त्यहाँ बर्डफ्लू फैलिएको पुष्टि भएको थियो। पाँच वर्षअघि पनि एचवान एनवान बर्डफ्ल्रू भाईरसले रु ३५ लाखको नोक्सानी ब्यहोरेको उक्त फर्मले यो वर्ष भने एच फाइभ एन एट बर्डफ्ल्रू भाइरसले रु ४० लाखभन्दा बढीको नोक्सानी ब्यहोनुपर्ने अवस्था सिर्जना भएको छ।
विभागले विहीवार परिपत्र गर्नासाथ आज शुक्रबार सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीको अध्यक्षतामा बसेको बैठकले ती कुखुरा नष्ट गर्ने निर्णय भएलगत्तै कुखुरा नष्ट गरिएको जिल्ला पशु सेवा कार्यालयका डा विजयनाथ यादवले बताएका छन्। क्षेत्रीय पशु सेवा निर्देशनालयका चिकित्सक सञ्जय यादवका अनुसार पाथीभरा पोल्ट्री फर्ममा बर्डफ्लूको सङ्क्रमण पुष्टि भएकाले सो फर्मदेखि २०० मिटर आसपासका क्षेत्रलाई शिल गरी आसपासमा रहेको ईश्वरीप्रसाद लुर्इंटेल र हरिबहादुर कार्कीको घरमा रहेका स्थानीय कुखुरासमेत नष्ट गरिएको छ।
बर्डफ्लूको सङ्क्रमण फैलिएको उक्त कुखुरा फर्म आसपासका क्षेत्रमा बर्डफ्लूको सङ्क्रमण फैलन नदिन र अन्य नोक्सानी हुन नदिन फर्ममा भएका सवै कुखुरा मारेर खाल्डो खनि पुरिएको छ । कुखुरा पालक चारजना किसानले नष्ट भएका कुखुराको प्रतिगोटा एक सयका दरले क्षतिपूर्ति पाउने व्यवस्था रहेको डा. यादवले बताएका छन्।
प्रकाशन मिति–२०७३ साल फागुन २७ गते शुक्रबार ।