काठमाडौ। सवैलाई पायक पर्ने काठमाडौको भृकुटीमण्डप प्रदर्शनी मार्ग स्थित मोडल अस्पताल अगाडिको लोकेशनमा रहेको ब्लड बैंक ललितपुरको रिंगरोड स्थित बालकुमारी मन्दिर नजिक सरेको छ।
पुष ६ गते सोमवारबाट ब्लड लिन तथा दिनको लागि भृकुटीमण्डप नभइकन अव ललितपुरको बालकुमारी पुग्नुपर्ने भएको नेपाल रेडक्रस सोसाइटीले जनाएको छ। महाभूकम्पले भृकुटीमण्डपको ब्लड बैंकमा क्षति पुर्याएकोले त्यसको मर्मत तथा संभारको लागि भनेर बालकुमारी सारिएको रेडक्रसले भनेको छ। भृकुटी मण्डपमा नयाँ भवन बनेपछि पूनः सोही स्थानमा सार्ने गरेर हाललाई अल्पकालिन रुपमा बालकुमारी सारिएको पनि भनेको छ।
पुष ६ गतेबाट बालकुमारीबाट सेवा दिने कार्य भएको ब्लड बैंकका सिनियर मेडिकल अफिसर डा.प्रकाशकुमार यादव भन्छन्। यद्यपि, केही दिन भृकुटीमण्डपवाट पनि आँशिक सेवा दिइने डा.यादवले बताएका छन्।
ब्रिटिश रेडक्रसको सहयोगमा ३ करोडको लागतमा निर्माण भएको बालकुमारी आकस्मिक रक्तसंचार केन्द्र गत बैशाख ५ गतेवाट नै संचालनमा आएको बताइएको छ। सोही अत्याधुनिक भवनमा ब्लड बैंक सारिएकोले लोकेशनले रक्तदाता तथा विरामीहरुलाई केही समय अलि गाह्रो हुने भएको छ।
प्रकाशन मिति–२०७२ साल पुष ६ गते सोमवार ।