काठमाडौ। काठमाडौमा पुष महिना लागेदेखि निक्कै चिसो बढेको छ। यो चिसो काठमाडौमा कतिपय आमा तथा बाबाहरु रोडमा नै कठाग्रिने अवस्थामा रहेका होलान्।
ती चिसोमा लडिरहेका आमा तथा बाहरुलाई न्यानो लगाउन दिएर तथा तातो खाना दिएर तिनको संरक्षण गर्न सकेमा आफूलाई यो चिसो याममा न्यानो महशुश हुने हजुरआमाहरुकी पनि आमाको नामबाट प्रसिद्धि पाएकी काठमाडौ कालिमाटी रविभवन स्थित आमाघरकी संचालिका दिलशोभा आमाले भनेकी छन्।
भिजन संसारसंगको विशेष कुराकानीमा दिलशोभा आमाले काठमाडौका रोडहरुमा यो चिसो महिनामा अलपत्र परेर रहेका आमा तथा बाहरुलाई रोडबाटै उठाएर संरक्षण गर्ने अभियानमा आफू लाग्ने बताएकी छन्। रविभवन स्थित आमाघरमा ३५ जना बृद्धा आमाहरु र गुरजुधाराको आमाघरमा १५ जना आमासहित ५० जना आमाहरुको लालनपालन तथा संरक्षणमा व्यस्त बनिरहेकी दिलशोभा आमाले काठमाडौको बाफल चोकमा पनि आमाघर विस्तार गर्ने तर्खरमा रहेकी छन्।
यो चिसो महिनामा रोडमा अलपत्र परेर बसेका आमा तथा बाहरुलाई बाफलचोकमा राख्नको लागि हाल आफू तयारीमा रहेको दिलशोभा आमाले भनेकी छन्। बृद्धबृद्धा आमा–बाहरुलाई राख्न काठमाडौमा प्रायले घर–बहाल नदिने पीडा आफूले भोगेको र बाफलचोकमा एक दयावानले आमा–बा राख्न आफूलाई घर–बहाल दिएको बताएकी छन्।
त्यस घरमा आमा–बालाई राख्न हाल घरको रंगरोगन तथा सरसफाई कार्य भैरहेको बताउने दिलशोभा आमा दाताहरुको सहयोगवाट त्यहाँपनि रोडमा फालिएका आमा–बाहरुले संरक्षण पाउने जिकिर गर्छिन्। केही दिनपछि बाफलचोकको उक्त घरमा आमा–बाहरु व्यवस्थित रुपमा राख्न तयारी भैरहेको समेत दिलशोभा आमाले भनेकी छन्।
भारतको नाकाबन्दीको कारण रविभवनको आमाघरमा ग्याँसको हाहाकार भएको महिनौ भैसकेको छ। ग्याँस नभएपछि चुल्होमा दाउरा बालेरै भएपनि आमाघरमा आश्रित आमाहरुको लागि खाना तथा नास्ता अनि दूध–चिया तयार हुने गरेको छ। ग्याँसमा पकाएको खानाभन्दा दाउरामा पकाएको खानेकुरा आमाहरुले मिठो मानेर खानेगरेको खाना पकाउने कार्यमा प्राय व्यस्त भैरहने ग्वोमयजुले बताएकी छन्।
आमाहरुको स्वादअनुसारको खानेकुरा पकाउने कार्य गर्न पाउंदा निक्कै खुशी लाग्ने गरेको बताउने ग्वोमयजुलाई भान्छामा दिलशोभा आमा आफैपनि गएर सघाउने गरेकी छन्। आमाघरमा आश्रित आमाहरुको सरसफाई देखि खानापिना सवै कार्यमा अहोरात्र खटिरहने दिलशोभा आमाको यो चिसो महिनामा पनि व्यापक सक्रियता र तन्नेरी जोशले सवैलाई हौसला दिने गरेको छ।
प्रकाशन मिति–२०७२ साल पुष ३ गते शुक्रबार ।