Rishi Ram Shrestha- Resource   Peron of Ghermu Research Center, Lamjung.
Rishi Ram Shrestha- Resource Peron of Ghermu Research Center, Lamjung.

–ऋषिराम श्रेष्ठ
(स्रोतव्यक्ति– घेर्मु स्रोत केन्द्र, जिल्ला शिक्षा कार्यालय लमजुङ्ग)
लमजुङ्ग । विद्यालय सिकाइको केन्द्र हो । विद्यालयमा पढ्ने वालवालिका देखि अभिभावक ,समुदाय र राज्यले त्यस विद्यालयवाट दिइने शिक्षा गुणस्तरीय होस र भोलिको दिनमा योग्य नागरिक वनाउन सफल होस भन्ने अपेक्षा राखेको हुन्छ। यसैका लागि स्थानीय अभिभावक सरोकारवालाहरु र राज्यवाट शारीरिक ,मानसिक र आर्थिक लगानी विद्यालय शिक्षाका लागि वढ्दो रुपमा भैराखेको छ।

समयानुकूलको पाठ्य्क्रम परिवर्तन,शिक्षण विधि र सन्दर्भ सामग्रीको विकास सरकारी तवरवाट भैरहेको छ । वदलिंदो पाठ्यक्रमले विषयवस्तुको साथै सिकाइ शेली र विधिलाई वढी महत्व दिएको छ । जवसम्म सिकाइ विधि प्रभावकारी हुँदैन तवसम्म शिक्षा प्रभावकारी हुँदैन।

school-students-1

विगतका समयमा गुरु कक्षाकोठामा सर्वेसर्वा हुन्थे।उनले भनेका ,गरेका कार्य जस्ताको तस्तै नक्कल गर्नु पर्दथ्यो । गुरुको इच्छा विपरित कुनै कार्य भएमा सजायको भागीदार हुनु पर्दथ्यो । त्यहाँ सिकारुको सिक्ने तरीका ,शैली इच्छाको कुनै महत्व थिएन । गुरुको नजरमा आज्ञाकारी र अनुशासित भए पुग्थ्यो। अहिले समयले कोल्टो फेरेको छ। पुरातन सोच र शैलीमा उलटपुलट आएको छ।

अहिलेका शिक्षक कक्षाकोठामा सहजकर्ताको रुपमा उभिनु पर्छ ,सवैको भावना,इच्छा र सृजनशीलतालाई कदर गर्नु पर्छ । वर्तमानको शिक्षाले पढाउने भन्दा पनि सिकाउने पक्षलाई वढी महत्व दिन्छ। सिकाइ सहज छैन ।कसैले कसैलाई कुनै ज्ञान ,सीप दिन चाहेर मात्र हुँदैन । कसरी दिने कुन कुन प्रर्किया ,कुन विधि अपनाउने, कुन,सिकारुको क्षमता कति छ कसरी सिक्छ भन्ने जस्ता कुराको पनि योजना तथा पूर्व तयारीका साथ कक्षाकोठामा प्रवेश गर्नु पर्दछ । वर्तमान परिवर्तित विद्यालय स्तरीय पाठ्यक्रममा सिकाइ उपलव्धीको सट्टा सक्षमता राखिनुको कारण पनि यही हो।

हाम्रा सामुदायिक विद्यालयहरुमा पढाउने काममा गुरुहरु लाग्नु भएको छ ,विद्यार्थीको स्तर उकास्न सक्दो प्रयास गरिरहनु भएको छ ,ता पनि सन्तुष्ट हुनुहुन्न । भन्नु हुन्छ विद्यार्थी पढ्दै पढ्दैनन् ,अभिभावकहरुको चासो नै छैन ,थोरै दरवन्दीका शिक्षक ,भौतिक सुविधा न्यूनका कारण समस्या रहेको सुन्छौं। जहाँ जस्तो समस्या छ त्यहाँ त्यसको विकल्प खोजिनु पर्छ । त्यही समस्यामा रुमल्लिएर समाधान हुँदैन । कमजोरीको जरा पत्ता लगाउनु पर्दछ।

school-students-2

शिक्षक ,विद्यार्थी ,अभिभावक ,समुदाय कसले के भूमिका खेल्नु पर्ने हो त्यसको पहिचान गर्नु पर्दछ। पढ्ने विद्यार्थीहरु सवैले असल संस्कार सिकेका हुँदैनन् ।व्यक्तिको स्वभाव फरक फरक हुन्छ । सिकाइमा वैयक्तिक भिन्नतालाई पनि ध्यान दिनु पर्दछ । हामी वद्मासीको कारण खोज्दैनौ । कारण खोज्न धेरै समय लाग्छ ।त्यो भन्दा एकै चोटी दे दनादन गर्छौं । टन्टा खलास । त्यसपछि ऊ एकछिन चुप लाग्छ । यसको असर कति पर्छ भन्ने कुरामा हेक्का राख्दैनौ । एउटा भकुण्डोलाई जति वल लगाएर भुइंमा पछार्छाैं त्यति नै जोडले माथि उफ्र्रन्छ । वदलाको भावना र तनावको कारण उसको सिकाइमा सुधार आउन सक्दैन । वालवालिकामा सिकाइ कमजोर हुनाका कारण पत्ता लगाउन हरेक शिक्षकले कार्यमूलक अनुसन्धान गर्नु पर्ने प्रावधान छ ,तर त्यो व्यवहारिक रुपमा नभै स्थायी शिक्षकहरुले कार्यसम्पादन मूल्यांकन फाराम भर्दा मात्र प्रयोग हुने औपचारिकतामा सिमित रहेको छ।

वर्तमान शिक्षा नीति र पाठ्यक्रमले विद्यालयलाई प्रजातान्त्रिक अभ्यास गराउन खोजेको छ । विद्यालयमा गरिने ,हुने हरेक योजना र कार्यक्रममा अभिभावक ,समुदायको सहभागितालाई जोड दिएको छ । हरेक सिकाइ प्रक्रिया विद्यार्थीको रुची ,क्षमता र पहुँचयोग्य वनाउन खोजेको छ , सिकाइलाई व्यवहारिक वनाउन खोजेको छ । यसै तथ्यलाई ध्यान दिइ विद्यालयलाई प्रजातान्त्रिकरण वनाउन सवै लाग्नु पर्ने मलाई लागेको छ।

school-students
१. विद्यालयमा हुने हरेक क्रियाकलाप तथा योजना, कार्यक्रम पारदर्शी हुनु पर्दछ । विद्यालयले समुदायको विश्वास जित्नु पर्दछ। यसो भएको खण्डमा विद्यालयको हरेक कार्यक्रममा समुदायको सहभागितामा वृद्धि हुन्छ । जुन विद्यालयमा समुदायको सक्रीय सहभागिता रहन्छ त्यो विद्यालयको शैक्षिक ,भौतिक ,आर्थिक सवै पक्षको विकास हुन्छ र राज्यले चाहेको उद्देश्य पनि पुरा हुन्छ ।

२. वालमैत्री शिक्षाको अवधारणालाई मध्यनजर राखी सिकाइ शैलीमा सुधार ल्याउनु पर्दछ । यसका लागि—
क.पढाउने भन्दा सिकाउने वातावरण तयार गर्नु पर्दछ।
ख. वालवालिकाको मनोभावना ,सिक्ने शैली र क्षमता ,तथा वैयक्तिक भिन्नताको ज्ञान शिक्षकमा हुनु पर्दछ ।
ग. वालवालिकालाई विदाको दिनमा पनि विद्यालयमा आउँ आउँ लाग्ने वातावरण तयार गर्नु पर्दछ । यसका लागि शिक्षण विधिमा पर्याप्त, परिवर्तन ल्याउनु पर्दछ ।
घ. पर्याप्त शिक्षण सामग्रीको व्यवस्था र प्रयोग गर्नु पर्दछ । दुखको कुरा भन्नुपर्दा विद्यालयमा भएका शिक्षण सामग्रीको प्रयोग नभै कोठामा, ,वाकसमा थन्किएको अवस्था पनि छ । यसलाई सुधार गर्नु पर्दछ।
ड. सिकाइका नविनतम विधिका वारे जानकारी शिक्षकले राख्नु पर्दछ ,यसका लागि विभिन्न सन्दर्भ सामग्रीका साथै संचारका माध्यमको अध्ययन गरी आफूलाई अध्यावधि राख्नु पर्दछ ।
च. वालवालिकाहरुमा व्यवहार परिवर्तन ल्याउनका लागि आफू उदाहरण वनेर देखाउनु पर्दछ ।
छ. एकोहोरो शिक्षक मात्र सक्रिय नभै सिकाइका लागि वालवालिकाहरुलाई सक्रिय वनाउनु पर्दछ र शिक्षक एक सहजकर्ताको रुपमा रहनु पर्दछ ।
ज. विद्यार्थीको निरन्तर मूल्यांकनको मर्म अनुसार हरेक दिनको व्यक्तिगत अभिलेख अध्यावधि राख्नु पर्दछ।यसकै आधारमा पृष्ठपोषण ,उपचारात्मक शिक्षण प्रक्रिया अपनाउनु पर्दछ ।

.विद्यालयको हरेक कार्यक्रमहरु वार्षिकोत्सव, अभिभावक भेला,सामाजिक परीक्षण,योजना निर्माण आदि
(विद्यार्थीको उमेरलाई ध्यानमा राखेर) विद्यार्थीहरुलाई जिम्मेवारीका साथ सहभागि गराउनु पर्दछ । यसवाट उनीहरुमा विद्यालय प्रति अपनत्वको भावना जाग्छ ।

४. विद्यालयको शैक्षिक पक्षमा सुधार ल्याउन वालवालिकाहरुलाई विभिन्न क्ल्वको निर्माण गरी जिम्मेवारी दिइनु पर्दछ । विद्यालयमा हुने विभिन्न अतिरिक्त क्रियाकलाप संचालन ,यस संवन्धी पूर्व तयारी र योजना निर्माण ,कार्यान्वयन गर्ने जिम्मेवारी उनीहरुलाई नै दिएमा विद्यालयको हित र सिकाइमा ध्यान केन्द्रित हुन्छ।

५. वि.व्य.स.तथा शिक्षक स्टाफको वैठकमा विद्यार्थी प्रतिनिधिहरुलाई पनि सहभागी गराउनु पर्दछ ,उनीहरुका जायज कुरा तथा माग प्रति विद्यालय संवेदनशील हुनु पर्दछ । विद्यालय सुधारका पक्षमा उनीहरुले दिएका सुझावहरुको कार्यान्वयन गरिनु पर्दछ ।

६. कक्षाकोठामा जिम्मेवारीको वाँडफाँड — उखान छ चोर्ने वुहारीलाई घरको साँचो दिनु भन्ने । अरुको आँखामा वदमाश लाग्ने विद्यार्र्थी पनि जिम्मेवारी र माया पाएपछि सुध्रन्छ । कक्षाकोठामा सिकाइसंग संवन्धित विभिन्न समिति वनाउन सकिन्छ । यसका लागि सामुहिक आचार संहिता उनीहरुवाट वनाउन लगाउनु पर्दछ ।यसवाट आफै वाँधिन्छन्।
क. कक्षा नायक चुन्ने— निश्चित समय तोकेर पालो अनुसार कक्षा नायक चुन्ने कार्यले सवैमा जिम्मेवारीको भावना वढ्छ र खराव आचरण त्याग्दछ । कक्षाको पठनपाठनमा नियमितता आउँछ ,खाली समयको उपयोग हुन्छ र सृजनशीलताको विकासमा सहयोग पुग्छ । यस्तैै सरसफाइ समिति,अनुशासन समिति ,मनोरञ्जन समिति, हाजिरी जवाफ प्रश्न संकलन समिति ,अन्य अतिरिक्त क्रियाकलाप समिति वनाइ उनीहरुलाई जिम्मेवारीको वोध गराउन सकिन्छ।

७. सानासाना उमेरका वालवालिकाहरुलाई सिकाइमा सुधार ल्याउनका लागि, नियमितता वढाउन ,विषयवस्तुमा ध्यान आकृष्ट गराउन , विभिन्न सृजनात्मक क्षमताको विकास गराउन खेल विधिहरु अपनाउन सकिन्छ । विद्यार्थीको हाजिरी वोर्डमा आफैले गर्ने ,कुनै कियाकलापमा राम्रो गरे वापत मायाको टोकन दिने ,कक्षाको त्यो दिनको नायक घोषित गर्ने ,उचित पुरस्कारको व्यवस्था गर्ने ,समूह वनाइ प्रतिस्पर्धा गराउने र्जस्ता क्रियाकलाप अपनाउन र प्रयोग गर्न सकेमा विद्यार्थीहरुमा विना हप्काइ,विना दण्ड, पनि सोस्फूर्तताका साथ सिकाइको गोरेटोमा आउँछन ।

८.विद्यालय शान्ति क्षेत्र घोषणा भैसकेको छ । यसलाई सवै राजनीतिक दल र सरोकारवालाहरुले संवेदनशीलताका साथ लिनु पर्छ । हरेक वालवालिकाको पढ्न पाउने हकलार्इ सुनिश्चित गरिनु पर्छ ।
समष्टिगत रुपमा भन्नुपर्दा सिकाइमा प्रजातान्त्रिकरणको आशय विद्यार्थी आफै सिकाइप्रति अभिप्रेरित हुने माध्यम हो र सहज र स्वस्फूर्तका साथ सहजै सिकाइ गर्न सकिने उपाय भनेकै प्रजातान्त्रिक विधि मूल्यआचरण,हो । यसको लागि ठूलो लगानी,ठूला भवन ,ठूलो जनशक्तिको खाँचो पर्दैन ,मात्र विधि र शैलीलाई पछ्याए पुग्छ।
प्रकाशन मिति–२०७३ साल कात्तिक ६ गते शनिवार ।