–शिला सायमी
त्यो बेला म सानै थिएं । काकाले कथा भन्दै हुनुहुन्थ्यो। दाजु र दिदीहरुसंगैं मपनि कथा सुनेर बसिरहेकी थिएं। काका भन्दै हुनुहुन्थ्यो । अनि राजा त्रिभुवन बग्गीमा बसेर हात हल्लाउंदेै मुसुमुसु हांस्दैे गैरहनुभएको थियो। जनता सबै जय–जय्कार गर्दैथिए। अचानक बग्गी तक्क रोकियो । सबैजना चुप लागे ।
राजाको आंखा एउटा बुढो मान्छेमाथि पर्यो, जो अति नै दुब्लो, हेर्दै दयालाग्दो । उक्त बृद्ध बाजेले हात जोडेर भने, महाराज खान पाएन हजुर । राजालाई साह्रै दया लाग्यो र नम्र भएर सोध्नुभयो, दूधभात पनि खान पाएन र बाजे । मेरो दाइ, दिदी र काका सबैजना गल्ल हाँस्नु भयो । म जिल्ल परेर एक पछि अर्काको सबैको मुख हेरिरहेका थिए । किन हांसेको होला, मैले बुझ्नै सकिन ।
५० वर्ष पछि बल्ल आज बुझ्दै छु । जुन आज प्रधानमन्त्रीको संबोधन सुनेर चैत्र महिनाको भाडा लिने भाडावाललाई कारवाही गर्ने चेतावनी दिएको सुन्दा । एकातिर हेर्दा कुरो सही नै थियो । जुन गरिब जनताप्रति यति दायित्व निर्वाह गर्नु सराहनिय छ । दैनिक मजदुरी गर्ने मानिसहरु काम थप्प हुंदा अलपत्रमा परेको सर्वविदित नै छ । काम नहुंदा खान नपाउनु त स्वभाविकै हो ।
आफै खान नपाएका मानिसले घरभाडा कसरी तिर्छ । यस्ता कुरा सरकारले भन्दा जनताले बढी बुझ्छन् । किनभने आफु घाटा खान कोहीपनि मान्दैन । न त सरकार ,न त जनता नै । यस्तो बेला घर धनी मात्रै किन घाटा खान मान्छन् त ! अचम्म त त्यो बेला भयो, जब राहत बांडेको देख्दा ।
सानो परिवारलाई ४ किलो चामल अनि दाल तरकारी केके । जाबो ४ किलो चामल कति दिन लाई पुग्ने हो र ? एक जनालाई चारदिन पुग्छ । कमसेकम आजसम्म लकडाउन भएको २१ दिन भएछ २१ दिनको मात्रै प्रत्यक ब्यक्ति दर ले राहत बाँडेको भएपनि सरकारको इज्जत बच्ने थियो कि ? अब फेरि कतिदिन लकडाउन हुने हो, कस्लाई थाहा ? एक महिना धरभाडा घरधनीले लिएन, कति दिन लकडाउन हुन्छ निश्चित छ र ? अरु बेला के खाने सोच्नु भएको छ र ?
पूर्वराजा ज्ञानेन्द्र शाहले पूर्वयुवराज्ञी हिमानी शाह मार्फत २ करोड नेपाल सरकारलाई राहतको नाममा दान गर्नुभयो । प्रधानमन्त्रीज्यू, खोइ त तपाईले दान दिनु भएको ? राष्टृका नाममा वा कोरोनाको नाममा । हजुर ले त सिधै जनता माथि लादिनु भयो । एक महिनाको भाडा मिनाहा गरिदेउ भनेर । एक महिनाको भाडाले लकडाउन भरि खान पुग्छ कि पुग्दैन सोच्नुभएको छ ? त्यै भाडा उठाएर आफ्नो पेट पालेर बसेको भाडावालको बारेमा सोच्नु भएको छ ? जसको राहत लिन जान पनि लज्जास्पद स्थिति छ । तराजुको पाटा संधै बराबर नै हुनुपर्छ हैन र प्रधानमन्त्रीज्यु ?
बुद्ध जन्मेको यो देश, जहां राजा वीरेन्द्रले शान्ति क्षेत्र घोषित गरेको थियो । यो देश धर्म निरपेक्षताको साथै हिन्दु र बौद्ध समानताका साथ भेदभाव विना रहेको छ । अहिले राहतको नाममा घरवाला र वहालवालाको खादल किन खनिदिनुभयो ?
विन्ति छ ! बरु तपाई अनुरोध गर्नुस्, विपदको बेला सहयोग गर्नु मानव धर्म हो, सक्नेले दया गरि जति सक्छ घरभाडा मिनाहा गरिदिनु, हामी ३ महिना पनि मिनाहा गर्न तयार छौ। । तर, सिंगै घर बहालमा बसेर फुटपाट पसल थापेर दिनको हजारौ कमाउने भाडावाललाई मिनाहा गर्न सकिंदैन ।
सक्ने पनि कसरी, जागिर छैन, ब्यापार छैन, पुर्खौलि सम्पत्ति छैन, अलि अलि आम्दानीको श्रोत घरबहालमा पनि सरकारले आंखा गाड्यो भने गर्ने उपाय के पो रहन्छ नि ? हुन त यो लाटो काठमाडौंबासिलाई जसरी पल्टाएपनि ठिकै थियो । कहिले छात्रवृत्तिमा झुक्यायो त कहिले सहकारी ऐनमा फसायो, कहिले भुमिसुधारमा लत्यायो त कहिले सडक विस्तारमा पछार्यो । कहिले फास्ट्र्याकले त कहिले गुथि विधेयक थड्यायो ।
काठमाडौंबासीकै नाममा मात्रै पिडित भैरहेका छौ कि सोझो भएकै कारण ? यो कुरा भने बुझ्न पनि गाह्रो भैसकेको छ।
अब, राहतकै कुरा गर्दा, राहतको आवश्यक भनेको दैनिक मजदूरी गर्ने ज्यामि र भरिया हुन। त्यो भन्दापनि दुःखी मागेर खान बाध्य दीनदुःखी छन्। जो न त भाडामा नै बसेका छन्, न त नागरिकता नै लिएका छन्। यस्ता कुरामा हामी जनता भन्दा बढी बाठो सरकार भन्ने कुरा शायद कोही मात्रै अनभिज्ञ होला कि कसो ?
(प्रस्तुत लेख सामाजिक अभियन्ता शिला सायमीको व्यक्तिगत विचार मात्र हो।) प्रकाशन मिति–२०७६ साल चैत ३० गते आइतवार ।