–शीला सायमी
काठमाडौं। उमेरको हिसाव गर्दा यतिखेर तिर्थमाया महर्जनको उमेर ८८ बर्ष पुगिसकेको छ । आजभन्दा ८१ बर्षअघि तिर्थमाया सात बर्षकी मात्र थिइन् । त्यो सानो उमेरमा काठमाडौं आजको जतिको यति धेरै घना थिएन । तरेली परेका खेतबारीका हरिया लहरका कारण विछट्टै रमाइलो थियो । टाढा टाढा हेरिरहंदा पनि रमाइलो लाग्ने त्यो क्षण तिर्थमायाको मानसपटलमा अझै रहेको छ।
अझ आफ्नी आमाको हात समाउंदै आमासंग खेतबारीका आली तथा डालीमा रम्दै हिंडे्का ती दिन सम्झदा पनि तिर्थमायाको आँखा तेजिलो भएर आउने गर्दछन् । ्अरुबेला प्राय सुनसान हुने काठमाडौंको हालको टेकु अस्पताल जाने मोडमा त्यो बेला मानिसको भीड नै लागेको थियो ।
तिर्थमायालाई भने त्यो कहिले पनि नदेखेको भीड देखेर साह्ै अचम्म लागेको थियो । न त जात्रा , न त बाजा न त हल्ला नैे थियो ! बाटोमा मान्छेको भने हुलका हुल । तिर्थमाया त्यो दिन खाना खाएर आमासंग त्यही वाटोभएर खेततिर जाँदै थिइन् । तिर्थमायाको घरवाट १५ मिनेटको वाटो पार गरेपछि खेत आउने गर्दथ्यो । त्यो दिन विसं. १९९७ माघ १० गते रहेछ । जुन दिन अमर शहीद शुक्रराज शास्त्रीलाई टेकुमा झुण्डाएर तत्कालिन क्रुर राणा शासकहरुले मारेको दिन थियो । जुन दिन नेपालीहरुको लागि कालो दिन थियो ।
त्यो दिन तिर्थमायाले टेकुको आफ्नो खेतसंगै मानिसहरुको भिड् जम्मा भैराखेको देखेभन,े कोह आँशु पुछ्दै आइरहेको पनि भेटे । कोहप् मास्तिर औंला तेस्र्याइ रहेको पनि देखे । तिर्थमायाको आंखा पनि मास्तिर सोझिए । नभन्देै ठूलो रुखमा त मान्छेलाई पो झुण्डाइराखेको देखिइन् । तिर्थमायाले त्यो दृश्य देख्नासाथ आफूलाई सम्हाल्न नसकेर आतिएपछि तिर्थमायाको आमाले हतार हतार तिर्थमायाको हात तान्दै खेतमा बनाइराखेको सानो घर (बल्चा) भित्र लगेको यादमात्र तिर्थमायासंग छ ।
रुखमा झुण्डाएको त्यो मानव शरीर देखेपछि सात्तोपुत्लो गएका आमाछोरी धेरैबेर बल्चाभित्रै डराउंदै बसेको यादलाई तिर्थमायाको सम्झनामा अझैपनि छ । सातबर्षको त्यो उमेरमा त्यो झुण्डिएको लाश अमर शहीद शुक्रराज शास्त्रीको भन्ने कुरा थाहा पनि थिएन । कसैसंग सोध्ने आँट पनि आमा–छोरीलाई त्यो बेला थिएन । त्यो बेलाको अवस्था आजको जस्तो सहज अवश्य थिएन ।
त्यो दिन तिर्थमाका आमा–बुबा दिनभरि नै खेतमा व्यस्त बनिरहे । तिर्थमाया भने बल्चा वाहिर बसेर मानिस झुण्डाएको रुख घरीघरी नियाल्दै डराउंदै बस्दैमा दिन वितेको पत्तै नभएको आज पनि तिर्थमायालाई कालो सपना जस्तो लाग्ने गर्दछन् ।
करिब १० रोपनिमा फैलिएको तिर्थमायाको बाजे द्यःसिं महर्जनको खेत थियो । खेतको छेउमै क्वंसिमा (रुख)थियो । क्वंसिमाको छेउमै बाटो थियो । पूर्वमा त्रिपूरेश्वर, पश्चिममा कालिमाटी,उत्तरमा लगन र दक्षिणमा बागमती जाने बाटो । पापीहरुले अमर शहिद शुक्रराज शास्त्रीलाई सबैले देख्ने गरी चोबाटोमै ल्याएर झुण्ड्याएको रहेछ ।
अरुबेला संसांझमा खेतवाट घर फर्किनेहरु त्यो दिनभने उनीहरु ४–५ बजेतिरै घर फर्के। बेलुकी आमाबुबा कुरा गरिरहेको तिर्थमायाले पनि सुनेर बसेकी थिइन् । बुबाले राति नै धेरै गाडीहरु र सिपाहीहरु आएको देखेका रहेछन् । काका र बुबालाई बल्चा बाहिर हेर्नै दिएन रे । गाडीको आवाजले रातभरि निदाउनै सकेन रे । के गरेको, किन आएको पत्तै भएन । बिहान बाहिर आउंदा पो रुखमा झुण्डाएको त्यो लाश त शहीद शुक्रराज शास्त्रीको पो रहेछ । लासमाथि कागजको माला(पर्चा) लगाइएको कुरा तिर्थमायाको बुवाले भनेको अलि अलि धमिलो याद तिर्थमायामा अझै छ ।
त्यो दिनदेखि घरका सबैजना डराउने गरेको तिर्थमायाले भनेकी छन् । आंखा चिम्ल्यो कि त्यही झुण्डिरहेको लाश मात्रै देख्ने गरेको तिर्थमायालाई अझैपनि झझल्को आउने गर्दछन् । त्यो दिनवाट सामान्य अबस्थामा आउन धेरै समय लागेको थियो । त्यो दिन देखि तिर्थमायाका बा र काका खेतमा ुुसुत्नै गएनन् । पछि पट्ठाकाजी (धर्म भक्त माथेमा) लाई सिफलको रुखमा लगेर झुण्ड्याएको सुनेको तिर्थमायाले भनेकी छन् ।
हाल तिर्थमाया महर्जन काठमाडौं महानगरपालिका वडा नंबर १३ स्थित डल्लु चागलमा बस्ने गर्छिन्। वि सं १९९० मा आमा तल्सीमाया महर्जन र बुबा सानु महर्जनको कोखबाट काठमाडौंको इनाखा टोलको माकःगल्लीमा तिर्थमायाको जन्म भएको थियो । नौ वर्षकै उमेरमा कोहिटी निवासीे अष्टनारायण महर्जनसंग तिर्थमायाको विवाह भएको थियो । हाल तिर्थमाया तीन छोरा चार बुहारी ( जेठो छोरा बितिसके) एक छोरी, सोह्र नाती र बाह्र पनातीहरुका साथ खुशीसंग रमाएर बसेकी छन् ।
प्रकाशन मिति–२०७८ साल माघ २१ गते शुक्रवार ।