काठमाडौं। नेपालको जेठो महानगरपालिका काठमाडौं महानगरपालिकाले आफू नजिक रहेका छिमेकी नगरपालिकाहरुलाई पनि सहयोग गर्ने कार्य भएको छ। छिमेकी नगरपालिका हराभरा तथा सफा नभएसम्म काठमाडौं महानगरपालिका हराभरा सफा नहुने काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको सोच तथा खोज अनुरुप छिमेकी नगरपालिकाहरुलाई सहयोग गर्ने कार्य भएको हो।
यसक्रममा काठमाडौं महानगरपालिकाले काठमाडौं जिल्लामा नै रहेका छिमेकी १० वटा नगरपालिका तथा भक्तपुर जिल्लास्थित मध्यपुर थिमी नगरपालिकासँग सम्झौता गरी पार्क निर्माण कार्य अघि बढाउने कार्य भएको छ।
छिमेकी नगरपालिकाहरुको व्युटीफिकेसन गर्ने क्रममा टोखा नगरपालिकामा बौडेश्वर बाल उद्यान, कीर्तिपुर नगरपालिकामा युद्ध स्मारक पार्क, बुढानीलकण्ठ नगरपालिकामा बुढानिलकण्ठ पार्क, तारकेश्वर नगरपालिकामा तारकेश्वरधाम ऐतिहासिक पार्क, नागार्जुन नगरपालिकामा गणेशमान स्मृति पार्क, चन्द्रागिरी नगरपालिकामा मदन भण्डारी पार्क, दक्षिणकाली नगरपालिकामा बहुउद्देश्यीय उद्यान, गोकर्णेश्वर नगरपालिकामा राष्ट्रिय शहीद तथा शान्ति पार्क क्षेत्र भित्र गोकर्णेश्वर पार्क, कागेश्वरी मनोहरा नगरपालिकामा कागेश्वरी धाम उद्यान, शंखरापुर नगरपालिकामा बज्रयोगिनी क्षेत्र हरित उद्यान र मध्यपुर थिमी नगरपालिकामा शंखधर शाख्वा स्मृति सामुदायिक पार्क निर्माण भैरहेका छन् ।
ती पार्कहरुमा महानगरपालिकाले प्रति नगरपालिका एक करोडका दरले ११ करोड लगानी गरिसकेको जानकारी मेयर शाक्यले बताएका छन्।
त्यस्तैगरेर, काठमाडौँ महानगरपालिकाले महानरपालिका क्षेत्र भित्रका अतिक्रमित सार्वजनिक जग्गाको पहिचान गर्दै त्यसको संरक्षण गरी खुला क्षेत्र विकास गर्ने र हरियाली प्रवद्र्धन गर्ने कार्यलाई पनि प्रमुख प्राथमिकताका साथ अघि बढाएको जानकारी पनि मेयर शाक्यले दिएका छन्।
आर्थिक वर्ष २०७७/०७८ को बजेटमा काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका सार्वजनिक जग्गाको संरक्षण गरी खुला क्षेत्रका रुपमा विकास गर्न २० लाखदेखि ६ करोडसम्मका तीस भन्दा बढी पार्क निर्माणको योजना अघि सारेको छ । ती पार्क निर्माणका लागि मात्रै महानगरपालिकाले २७ करोड भन्दा बढी बजेट विनियोजन गरेको छ ।
काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०७७÷०७८ को बजेटमा समावेश गरेका योजनामा महानगर जेष्ठ नागरिक पार्क, स्ट्रिट फुड पार्क, बाल उद्यान, जेष्ठ नागरिक आश्रम, सहिद पार्क, चेसपार्क, महानगर बाजे–बज्यै पार्क, महिला मैत्री पार्कलगायत रहेका छन् ।
योजना अनुसार महानगरपालिकाले वडा–१५ मा सहिद पार्क निर्माणका लागि १ करोड, वडा–५ मा नरबुद्ध पार्कका लागि १ करोड ५० लाख, कुलेश्वर आवास क्षेत्र भित्र रहेको सार्वजनिक जग्गामा पार्क निर्माण गर्न ५० लाख, वडा–१४ को ज्ञानतिर्थमा पार्क निर्माणका लागि ४० लाख, वडा–११ को कुमारी मन्दिर नजिकै र धोवि खोला दोभानको सार्जजनिक जग्गामा पार्क निर्माण गर्न २५ लाख विनियोजन गरेको छ ।
त्यसैगरी महानगरपालिकाले वडा–८ को गुहेश्वरीपारी पार्क निर्माण गर्न २० लाख, वडा–७ को कालोपुल र भत्केको पुलको बिचमा आइल्याण्डपार्क निर्माण गर्न ४० लाख, वडा–९ को कुमारी मन्दिर परिसरमा पार्क निर्माण गर्न २५ लाख, वडा–४ मा धुम्बाराही पार्क निर्माणका लागि १ करोड, वडा–४ कै शिवस्थली पार्क निर्माणका लागि लाग्ने ६ करोड मध्ये यस वर्षका लागि १ करोड विनियोजन गरेको छ।
वडा–१४ को खड्का गाउँमा पार्क निर्माणका लागि ३० लाख, बालाजु पार्क विकास तथा स्वमिङपुल पुःननिर्माणका लागि बहुवर्षीय योजनामा १ करोड, वडा–१७ को धोविचौर परिसरमा निर्माण र गाहिती पुर्ननिर्माणमा ३० लाख, रानीपोखरी क्षेत्र विस्तार कार्यका लागि १ करोड, वडा–३२ को बालकुमारीमा अमरावती पार्क निर्माणका लागि बहुवर्षीय योजनामा १ करोड, वडा–३२ कै तीनकुनेमा आधुनिक बुद्धपार्क निर्माणको लागि डीपीआर प्रतिवेदन तयार पार्न १ करोड विनियोजन गरेको छ । उक्त स्थानमा अहिले अल्पकालीन रुपमा हरियालीसहितको आइल्याण्ड निर्माण गरिएको छ ।
महानगरपालिकाले आफ्नो ड्रिम प्राजेक्टका रुपमा अघि बढाएको मेगा हलमा पनि ६० प्रतिशत स्थानमा खुला स्थान र हरियाली प्रवद्र्धन गर्ने योजना अघि सारेको छ । मेगा हल निर्माण गर्ने भनिएको भृकुटी मण्डपमा अहिले करीब २८ प्रतिशत मात्रै खुला स्थान रहेको छ ।
विष्णुमती करिडोरमा पार्क निर्माणका लागि बहुवर्षीय योजना अन्तर्रगत २ करोड, वडा–७ मा मैजुबहाल पार्क निर्माणका लागि ६२ लाख, वडा–३१ मा जेष्ठ नागरिक आश्रम तथा पार्क निर्माणका लागि वहुवर्षीय योजनामा २ करोड, वडा ३२ को कोटेश्वर महादेवस्थानमा सार्वजनिक भवन र पार्क निर्माणका लागि ५० लाख, बागमती मनोहरा दोभानदेखि बालकुमारी पुलहुँदै मनोहरा, हनुमन्ते दोभानसम्म नदी किनारको जग्गा संरक्षण र पार्क निर्माणका लागि २ करोड, कोटेश्वर महादेवस्थानको सिडी स्तरोन्नती र पार्क निर्माणका लागि ३० लाख विनियोजन गरेको पनि महानगरपालिकाले गरेको छ।
त्यस्तै वडा–३२ को जनमैत्री हरित उद्यान निर्माणका लागि वहुवर्षीय योजना अन्तरर्गत १ करोड, वडा–२५ को महानगर जेष्ठ नागरिक पार्क निर्माणका लागि १ करोड, वडा–११ को थापाथलीमा सडक किनारा पार्क निर्माणका लागि ४० लाख, वडा–११ को चेसपार्क स्तरोन्ततिका लागि ३६ लाख, वडा–४ को महानगर बाजे–बज्यै पार्कको वहुवर्षीय योजनाका लागि ३ करोड, वडा नम्बर –३१ को प्रयागमार्ग पार्क निमार्णका लागि बहुवर्षीय योजनामा १ करोड, वडा–१० मा स्ट्रिटफुड पार्क निर्माणका लागि २५ लाख, वडा–१० को सानो गौचरण पार्क सुधारका लागि १ करोड, वडा नम्बर–३० को मैतिदेवी पार्क निर्माणका लागि ५० लाख, वडा–३१ को जागृति बाल उद्यान निर्माणका लागि ५० लाख, वडा–३२ को पुरानो टाउनप्लानिङ मनोहरा नदी किनारमा पार्क निर्माणका लागि ५० लाख, खुला योग तथा व्यायमशाला निर्माणका लागि ५० लाख, वडा–४ को विशालनगरमा पार्क निर्माण कार्यका लागि ५० लाख विनियोजन गरेको छ ।
महादेव खोला, बल्खु, करखुशी, सामाखुशी, विष्णुमति, वागमती नदी किनारको सार्वजनिक जग्गा संरक्षण, हरियाली प्रर्वद्धन र नदी नियन्त्रण कार्यका लागि पनि महाननगरपालिकाले करीब ७ करोड बजेट विनियोजन गरेको छ । यी स्थानहरुमा पार्क निर्माणका लागि विनियोजन गरेको बजेट नगरसभाबाट पारित भएको छ ।
काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०७६/०७७ मा २३ वडामा सहिद धर्मभक्त माथेमा पार्क, ३१ वडामा हनुमान पार्क, गणेश मन्दिर पार्क, लोकेश्वर महादेव मन्दिर परिसरमा पार्क निर्माण सम्पन्न गरेको छ । त्यसैगरी वडा ४ मा टुँडालदेवी पार्क, त्यस्तै टुसाल पार्क निर्माणको काम पनि महानगरपालिकाले सम्पन्न गरेको छ । विभिन्न वडामा मदन भण्डारी पार्क, वडा नम्बर–४ मा सुकेधारा कृष्ण गल्ली पार्क, वडा नम्बर–३ मा बाँसबारी इकोपार्क निर्माणको पनि महानगरपालिकाले पहिलो चरणको काम सम्पन्न गरेको छ ।
त्यसैगरी महानगरपालिकाले आर्थिक वर्ष २०७६/०७७ मै न्ह्योखा पार्क, शान्ति नमूना पार्क, गौरीघाट हरियाली पार्क, धोबीखोला पार्क, त्रिपुरेश्वर ज्येष्ठ नागरिक पार्क, कुलेश्वर पार्क, कुलेश्वर आवास क्षेत्र पार्क, बागमती नगर पार्क, कुमारी पार्क, रानीबारी पोर्पा अजिमा पार्क, वडा नम्बर–२१ मा लगं पार्क, कमल पोखरी पार्कलगायको निर्माण कार्य शुरु गरिसकेको छ ।
यी पार्क निर्माणका लागि करीब ३८ करोड बजेट व्यवस्था गरेको छ। वागमती नगर पार्क करीब ७ करोडमा र लगं पार्क करीब ६ करोडको लगानीमा निर्माण भैरहेका छन् । कमलपोखरी गुरुयोजना अन्तर्गत करीब ७ करोडको लगानीमा निर्माण कार्य सूचारु रहेको महानगरपालिकाले जनाएको छ।