काठमाडौ। साउन महिना आएपछि त्यसैपनि हराभरा हुने गर्दछ। अर्थात जताततै हरियो नै हरियो हुने महिनाको रुपमा साउन महिनालाई लिइने गरेको छ। यसले गर्दा पनि साउन महिनालाई हरियो महिनाको रुपमा लिइने गरेको छ। आज यो बर्षको साउन महिनाको पहिलो सोमबार।  यस साउन महिनाको सोमवारको अझ बढी धार्मिक महत्व रहेको मानिन्छ।

यो महिनालाई भगवान् शिवको महिनाको रुपमा पनि लिने गरिन्छ। त्यसमाथि साउनको सोमबारमा भगवान शिवको ब्रत बस्ने चलन छ। देशभरका शिव मन्दिर तथा काठमाडौको पशुपतिनाथमा महिलाहरुको व्यापक भीड लागेको छ।

यो साउनमा महिला दिदीबहिनीहरुको गलामा हरियो पोते, हातमा पहेलो चुरा, हातमा मेहेन्दी र बस्त्र पनि हरियो नै देख्न पाइन्छ। साउन महिनामा खास गरी हिन्दु धर्मालम्बीहरुले भगवन शिवको पूजा आराधना र व्रत बस्ने परम्परा छ।

हिमालयकी पुत्री पार्वतीले साउन महिनामा निराहर ब्रत बसेर शिवलाई प्राप्त गरेको विश्वासमा महिलाहरुले साउनमा ब्रत बस्ने गर्दछ। त्यसैले साउन महिना साँस्कृतिक हिसाबले पवित्र महिना हो।

यो महिनाभर महिलाहरु शुद्ध साकारहारी खाना खाने तथा सोमवार ब्रत बस्ने गर्दछन् । आफ्नो परिवारको सुख शान्ति र कुशल मंगलको कामना गरी सोमबार ब्रत वस्ने गरेको महिलाहरु बताउछ्न्।

प्रकाशन मिति–२०७५ साल साउन ७ गते सोमवार ।