काठमाडौ। हङकङ बसोबास गर्ने नेपालकी रचना प्रधान विशेषत कामकाजी महिला तथा समाजसेवीको रुपमा चिनिएकी छन्। त्यसको अलावा हङकङमा हुने विभिन्न धार्मिक सभा–समारोहमा भजन गाउने गायिकाको रुपमा पनि चिनारी राख्न सफलता प्राप्त गरेकी रचना प्रधानको विगत एक बर्षयता नयाँ परिचय बनेको छ।
त्यो परिचय हो–हङकङ नेवार समाजको अध्यक्ष। हङकङ नेवार समाजको चौथो अधिवेशनले गत बर्ष अध्यक्षमा निर्वाचित बनेकी रचनाको कार्यकाल हेर्दाहेर्दै एक बर्ष वितिसकेको छ। अव एक बर्षमात्र बाँकी रहेको छ। हङकङ नेवार समाजको अध्यक्षको नेतृत्वको एक बर्षमा हङकङमा रहेका नेवारहरुलाई एकिकृत गर्ने कार्यमा अहोरात्र लाग्ने कार्यमा रचनावाट भएको छ।
नेवार समाजमा पर्ने विविध समस्यालाई निराकरण गर्ने देखि नेपाल तथा हङकङमा रहेका नेवारहरुलाई सहयोग गर्ने जस्ता कार्यमा निरन्तरता दिने कार्य रचनाको टीमवाट हुंदैआएको छ। अर्कोतर्फ पितालाई कलेजो दान दिने साहसी युवती सरिता महर्जनको सहयोगार्थ हालै हङकङमा विशेष कार्यक्रम गरेर नगद ५ लाख जुटाएर सहयोग गर्ने कार्य भएको छ।
अघिल्लो बर्षजस्तै यो बर्षपनि नेपाल संवत नयाँ बर्षको अवसरमा विशेष म्हःपूजा कार्यक्रम तथा परम्परागत अर्गानिक नेवार भोज लगायतका सामाजिक कार्यक्रम गरेर हङकङमा नेवार एकतामा अभिबृद्धि गर्ने ऐतिहासिक कार्य भएको छ। अर्कोतर्फ नेवार भाषाको बहुचर्चित चलचित्र तुयुमतिलाई हङकङमा रिलिज गरेर त्यसका निर्माता मनिषकुमार श्रेष्ठलाई नगद ३ लाख भएपनि जुटाएर सहयोग गर्ने कार्य भएको छ।
विसं.२०७२ साल बैशाख १२ गते नेपालमा गएको महाभूकम्पको बेलामा पनि व्यक्तिगत रुपमा हङकङवाट नेपाल आएर भूकम्पपीडितहरुलाई विभिन्न सहयोग गर्ने कार्य रचना प्रधानवाट भएको थियो। नेवार तथा गैह्रनेवार सवैलाई एक नेपालीको हैसियतले दुःख तथा पीर–मर्कामा सक्दो सहयोग गर्ने कार्य रचना प्रधानवाट हुंदैआएको छ। समाज–सेवामा बाँचुञ्जेल लाग्ने उनको प्रतिबद्धता रहेको छ।
दिनभर हङकङमा जीविकाको लागि आफ्नो काममा गएर विहान–वेलुका बचेको समयमा हङकङ नेवार समाजको कार्यमा कटिबद्ध भएर लाग्न निश्चय पनि हङकङमा कठिन कुरा हो।
यो कठिन कार्यमा पनि सहजतापूर्वक लाग्न भगवानरुपी पति–परमेश्वरको साथ र सहयोगले सहज भएको खुलासा गर्ने कार्य रचना प्रधानवाट भएको छ। रचना प्रधानको पति–परमेश्वर नाम नेपालका ख्यातिप्राप्त गायक नागेन्द्र श्रेष्ठ हुन्। हङकङमा गायक श्रेष्ठ पनि गीत–संगीतमा नै व्यस्त बनिरहेका छन्।
प्रकाशन मिति–२०७४ साल कात्तिक ८ गते बुधवार ।