काठमाडौं। नेपालका राष्ट्रकवि माधवप्रसाद घिमिरेको आज मंगलवार दुःखद निधन भएको छ। राष्ट्रकवि घिमिरेका छोरा राजीव घिमिरेका अनुसार, राष्ट्रकवि घिमिरेको मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा १ सय १ बर्षको उमेरमा निधन भएको हो।

राष्ट्रकवि घिमिरेको जन्म विक्रम संवत १९७६ साल असोज ७ गते लमजुङको पुस्तुन गाउँमा भएको थियो। राष्ट्रकवि घिमिरेका नव मञ्जरी, गौरी (शोककाव्य), मालती मङ्गले (गीतिनाटक), हिमालपारि हिमालवारि (गीतिनाटक), राजेश्वरी, इन्द्रकुमारी, राष्ट्रनिर्माता, किन्नर–किन्नरी (गीतसङ्ग्रह), चारु चर्चा (निबन्ध), आफ्नो बाँसुरी आफ्नै गीत (निबन्ध) लगायतका कृति चर्चित छन् ।

राष्ट्रकवि घिमिरेले विसं.२०५४ सालमा ‘हिमालपारि हिमालवारि’ र विसं.२०५८ सालमा ‘चारु चर्चा’ कृतिका लागि साझा पुरस्कार तथा विसं.२०६७ सालमा पद्मश्री साधना सम्मान पुरस्कार प्राप्त गरेका थिए । राष्ट्रकवि घिमिरेले राष्ट्रिय गीत गाउँछ गीत नेपालीका साथै तारादेवीले गाएको मनको बाँध चलचित्रको फूलको थुङ्गा बगेर गयो तथा नारायणगोपालले गाएको आजै र राति के देखेँ सपना जस्ता गीत पनि रचेका थिए। नेपाली साहित्यमा स्वच्छन्दतावादी शैलीमा कलम चलाउने घिमिरेलाई विसं.२०६० साल असोज ९ गते सरकारले राष्ट्रकविको उपाधि प्रदान गरेको थियो।
प्रकाशन मिति–२०७७ साल भाद्र २ गते मंगलवार ।