–राजेन्द्र महर्जन
बिहान सबेरै उठेर आँखा मिच्दै ह्वाग्रा खेल्ने आँगन
मेरा साथीहरूसँग
आमाचकारी शब्दहरू फलाक्दै खेलेको आँगन
आहा! कति सुन्दर थिए,
गोबर र रातोमातोले लिपेका हुन्थे
तर
कति जैविक थिए !
साथीहरूको फुटेका हातहरूले
पुछ्ने
त्यो बाक्लो सिङ्गान,
महिनौंसम्म ननुहाउँदा पनि
फिटिक्क फोहोरको महसुस नहुने त्यो समय
आज फेरि एकचोटी फर्कन मन लाग्दैछ
तर
तर
आज त्यो आँगन
सडक बनेको छ
अरूका वाहन गुड्ने सडक बनेको छ
अरूका वाहनको बिसौनी बनेको छ
अरूका पसल थाप्ने थलो बनेको छ
म आज भूमिहिन साहु बनेको छु
म आज सीप बन्धकी राखेर
मालिक बनेको छु
मालिक बनेको छु
मैले मेरो स्वाभिमानलाई
आफैले कुल्चेको छु ।। ।।
(कवि राजेन्द्र महर्जन काठमाडौको नयाँ बजार खुशिबुँ स्थित काठमाडौ मोडेल स्कुलका संस्थापक प्रिन्सिपल पनि हुन्।)