ललितपुर । आँट, धैर्य र साहसको प्रतिक बहुमुखी प्रतिभाका धनी कलाकार स्वतन्त्र संसार महर्जनको अध्यक्षतामा संसार संगीतालय शुभारम्भ भएको छ। खोकनामा मुख्यालय रहने गरी संसार संगीतालयको विधिवत रुपमा पूजापाठ गरेर शुभारम्भ भएको हो।

संगीतज्ञ रत्न बेहोशीको विशेष आतिथ्यता तथा गायिका एवम् समाजसेवी सरिता महर्जनको संरक्षकत्वमा संसार संगीतालयको शुभारम्भ भएको घोषणा गर्ने कार्य भएको छ। घोषणासंगै गायिका सरिता महर्जन तथा बहुमुखी प्रतिभाका धनी कलाकार स्वतन्त्र संसार महर्जनले गीत गायन कार्यक्रम शुरुगरेपछि अनवरत् ननस्टप आठ घण्टा भएको शुभारम्भ संगीत कार्यक्रममा बरिष्ठ गायक प्रवेशमान शाक्य, जुजुकाजी रञ्जित, किशोरकुमार शाही लगायत खोकनाकै स्रष्टाहरु एकराज महर्जन, विष्णुभक्त महर्जन, ज्ञानलाल महर्जनहरुको बेजोड प्रस्तुतिले खोकना गुञ्जायमान बनेको थियो।

कार्यक्रममा संगीतकार अनिल तुलाधर, अन्तरसंचारकर्मी धर्मराज बज्राचार्य, नेपालभाषाका प्रथम चलचित्र पत्रकार विजयरत्न असंबरे, नेपाली नोबल साहित्यकार बिक्रम भक्त जोशी, सामाजिक अभियन्ता सुनिता कायस्थको आतिथ्यता रहेको थियो । संसार संगीतावाट संगीतको प्रशिक्षण दिनुको अलावा संगीतका आयामिक गतिविधि संचालन गर्ने जानकारी अध्यक्ष स्वतन्त्र संसार महर्जनले बताएका छन्।

प्रकाशन मिति–२०८१ साउन २० गते आइतवार ।