–विमला कोइराला
जेठ ११ गते काठमाडौं जिल्ला कीर्तिपुर नगरपालिका वडा नंंबर १० स्थित मंगल बहुमुखी क्याम्पस अगाडिको सडकपेटीमा एकजना बृद्ध बेवारिसे व्यक्तिको मृत्यु । त्यो पनि सडक मै मृत्युवरण गर्ने स्थानीयका अनुसार उनको नाम सूर्य बहादुर तामाङ हो। बृद्ध उमेरका उनी धादिङका थिए । पाटीमा सुतेर भरियाको काम गर्थे।

लकडाउनका कारण काम पाएका थिएनन् । मृतक विवारिसे व्यक्ति भएकोले मृत्युको कारण निश्चित हुन नसक्नु स्वभाविक थियो। तर समाचार बन्न नसकेका यस्ता बेवारिसे मृत्युका घटना अरुपनि थिए र छन् जसका पछाडि थुप्रै कारणहरु हुन सक्दछन। परिवार, छिमेक, समाज, सम्वन्धित क्षेत्रमा काम गर्ने संघसस्था, सञ्चारकर्मी र सरकार सबै जिम्मेवार हुन्छन र कतिपय घटनामा व्यक्ति स्वयम् पनि।

निश्चयपनि एउटा घटनामा यी उल्लेख भएका सबै एकैपटक दोषी नहोलान् तर यस्ता घटनामा सरकारलाई मात्र दोष दिएर अरु सबै पन्छिने प्रबृत्ति भनेको विवाहपछि पति पत्नी बीचको असमझदारीमा लमीलाई खोजीखोजी दोष देखाउने प्रवृति मात्र हो । निज मृतक जीवित रहुन्जेलसम्म आफ्नो टोल छिमेकमा कहिले कसरी कहाँबाट आए ? त्यो उमेरमा परिवारबाट अलग बसेर जोखिमपूर्ण काम गर्नुपर्ने कुन बाध्यता थियो ? स्थानीयतहसम्म खवर थियो वा थिएन ? सामाजिक सुरक्षा भत्ता र सुविधाको बारेमा जानकारी थियो वा थिएन ?

शायद एकपटक सोध्ने फुर्सद सम्वन्धित पक्ष कसैलाई हुदैन । कुनै परिवारले आफ्ना आमाबाबुलाई समेत बृद्ध र काम नलाग्ने भयो भनेर परिवारबाट अपहेलित बनाएर घर छोड्न बाध्य बनाउदासम्म समाजले खासखुस कुरा काट्नु बाहेक एकपटक त्यो परिवारलाई यो अमानविय कार्य हो भनेर दवाव दिन सक्दैन। मानौ समाज त केवल कुनबेला कसको भयावह मृत्यु हुन्छ वा कुनै मानविय संवेदना क्षतविक्षत हुने समाचार भेटिन्छ र सरकारलाई सरापौला भनेर बसेको छ !

यो घटनाले भावुक भईरहदा मलाई ठयाक्कै १ वर्ष अगाडिको एउटा घटना स्मृतिमा आयो – काठमाडौं महानगरपालिकाको सामाजिक विकास विभागमा एकजना लगभग २०,२२ वर्षकी किशोरी (ठयाक्कै नाम त याद भएन) शालीनताका साथ एउटा गुनासो लिएर आउनुभयो र भन्नुभयो– “एकजना सडकमानव जो कालो टीबी रोेगबाट समेत पीडित पनि हुनुहुन्छ–उहाँ एकहप्तादेखि सडकमा बेवारिसे अवस्थामा मृत्युसँग लडदै हुनुहुन्छ उहाँको तुरुन्त व्यवस्थापन गरिदिनुस्।

मलाई थाहा छैन उहाँ को हुनुहुन्छ ? तर म कलेज जाँदाआउँदा सधैं पीडामा देख्छु सह्य भएन ! त्यसैले आज कक्षा छोडेर सम्वन्धित निकाय खोज्दै आँए । मैले फोनबाट प्रहरी दिएको सम्वन्धित नम्वरमा खवर गरे तर सम्वोधन हुन सकेन।” एकै सासमा सिध्याइएका गुनासोका यी शब्दहरु आजपनि हुबहु याद छन्। मलाई किनभने अपार आनन्द मिलेको थियो यो गुनासोले।

कार्यालयमा आफ्ना व्यक्तिगत र पेशागत गुनासो लिएर धेरै सेवाग्राही आउनुहुन्छ तर जीवनका अनेकन रङको रुमानी संसारमा रमाउने उमेरकी एउटी किशोरी समाज र सरकारलाई सहयोग गर्न एउटा बेवारिसे व्यक्तिको लागि कार्यालय खोज्दै आउनुभएको थियो र हामीले उहाँ त्यही बस्दाबस्दै तुरुन्त व्यवस्थापन गरेपछि मात्र धन्यवाद् दिएर जानुभएको थियो ।

यदाकदा घट्छन् यस्ता घटना ! कैयौ व्यक्ति हिडे होलान् त्यही बाटो भएर तर सचेत ब्यक्तिको जिम्मेवारी पूरा गर्न देखाएको ती किशोरीको सकृयताले एउटा व्यक्तिले जीवन प्राप्त गरेभने समाज सभ्य र सुरक्षित भयो अझ सुन्दर पक्ष सरकारी प्रतिनिधिलाई सचेत नागरिकको विश्वास प्राप्त भयो । यही कर्तब्यनिष्ठ नागरिक र जिम्मेवार सरकार बीचको विश्वास र साझेदारीले आउने हो सुशासन ।

सरकारी कार्यालय भनेर नाक मात्रै खुम्च्याउने प्रवृतिको अन्त्य हुनु जरुरी छ । सबै राम्रा छन यो दावा कतै होइन तर सबै नराम्रा पनि त हुदै होइनन् । अझै राम्रो बनाउन सहयोग त गरौं । त्यसो त ५० लाखको कारको सिसाबाट फोहोर फुत्त फ्यालेर शहर फोहोर भयो भन्दै सरकार सराप्नेहरुको भिंडमा रुद्रमती र बागमती सफा गर्न एकोहोरो लागिरहने सचेत र कर्तब्यनिष्ठ नागरिकहरु नभएका पनि होइनन समाजमा।

यस्ता नागरिकको संख्या उलेख्य हुनु जरुरी छ।समाज रुपान्तरणका लागि। सामाजिक सुरक्षा र नागरिकको जिम्मेवारी निश्चय नै राज्यको हो। त्यसका लागि सरकार प्रयत्नशील छ। काठमाडौं महानगरपालिकाले काठमाडौं महानगरलाई बेवारिसे मानव मुक्त सडक बनाउने घोषणाका साथ सडक मानव मुक्त महानगर बनाईसकेकोछ र बिस्तारै अन्य स्थानीय तहमा पनि यो पहल निरन्तर जारी छ। तर, सहयोग र सकारात्मक भावका साथ नागरिकले पनि सानो कर्तब्य पूरा गरिदिँदा वातावरण कति सहज र सुखद बन्छ भन्ने कुराको सानो उदाहरण मात्र यो।

समाजबाट हराउदै गएको संवेदना र अराजकता बुझ्न
अर्को घटना हो-जाजरकोटका दलित युवालाई गैर दलित युवतीसँगको प्रेम गरेको कारण साथीहरुलाई समेत खेदीखेदी मारिनुपर्ने घटनाका पछाडि परिवार, त्यहाँका अगुवा व्यक्ति, असभ्य र ढोगी समाज अनि त्यही क्षेत्रमा कार्य गर्न गैरसरकारी संस्था कति जिम्मेवार छन् ? सामाजिक न्याय विरुद्धको यो गम्भिर र कुरुप सत्य आधुनिक मानव सभ्यताको कलंक हो कि होईन ?

यस्तो घोर अमानवीय अपराधको सत्यतथ्य छानविन गरेर सरकारले दोषीलाई कारवाही गर्ला । तर यस्ता घटना हुनै नदिन किन नागरिक र समाजको तर्फबाट कुनै पहल हुँदैन ? हाम्रो मस्तिष्कको प्रदुषण मेटाउन र हामीलाई हाम्रो कर्तब्य बोध गराएर जिम्मेवार नागरिक बनाउन सरकारसँग कुनै औषधि छ त ? अप्ठयारोमा सरकारले हात समाउँछ सजिलो बाटो हिंडन त नागरिक कर्तब्य पूरा गरेर हिंडने पहल गर्न सक्छौं नि !

धेरै टाढा जानुपदैन विहानीको सरकार छ आँगनमा (स्थानीय सरकार) नागरिक आर्फैले चुनेको, हातेमालो गरौं, विश्वास गरौ, सचेतना फैलाऔं, चलायमान बनाऔं, खवरदारी गरौं अनि हिसाव राखौं काम गरे नगरेको। हिजो पहिरन लगाईदिएको पनि नागरिकले हो र भोली नागों बनाउने अधिकार पनि छ नागरिकलाई छ। मतदान गर्नु मात्र कर्तब्य होइन त्यसपछिको खवरदारी सबैभन्दा असल कर्तब्य हो । सुशासन सहितको आधुनिक सभ्य समाज हाम्रो चाहना हो भने– नागरिक कर्तब्य पूरा गर्न किमार्थ नचुकौं ।


(लेखक विमला कोइराला काठमाडौं महानगरपालिकाको सामाजिक विकास महाशाखा प्रमुख हुनुहुन्छ।)
प्रकाशन मिति–२०७७ साल जेठ १४ गते बुधवार ।