काठमाडौ। संसारकै अग्लो उच्च शिखर सगरमाथा क्षेत्रमा फोहोरको मात्रामा अत्याधिक बृद्धि भएको छ। जसको कारण पर्यटक तथा पर्यटन व्यवसायी चिन्तित बन्न थालेका छन्। सगरमाथा क्षेत्रमा फोहोरको बृद्धि हुनुमा सगरमाथा सफाई गर्ने जिम्मा पाएको सगरमाथा प्रदूषण नियन्त्रण समिमितले जिम्मेवारी पूरा नगर्दा यसप्रकारको समस्या बढेको विज्ञहरुको भनाई रहेको छ।
सगरमाथा क्षेत्रमा फलामको डन्डी, सिसा, बोतललगायत फोहोर जताततै रहेको पाइएको पर्यटक तथा सगरमाथा आरोहीहरुले गुनासो गरेका छन्। समिट नेपाल टे«क प्रालिका पथप्रदर्शक दावा तामाङ आरोहीलाई सामग्री भन्दा पनि आफू कसरी सकुशल फर्कने भन्ने हतारका कारण सगरमाथामा फोहोरको मात्रा बढेको स्वीकार्छन्।
सम्बन्धित निकायले समयमै सफा गर्न ध्यान नदिए पर्यटनमा असर पुग्ने तामाङ्गको भनाइ छ। आरोही र कामदारले फोहोरलाई आफैँले फिर्ता ल्याउनुपर्ने पर्वतारोहण नियमावलीमा उल्लेख छ । नष्ट गर्न सकिने, पुनः प्रशोधन गर्न सकिने, र पुनः निकासी गर्नुपर्ने गरी फाहोरलाई तीन भागमा वर्गीकरण गरिएको छ।
क्याम्प १ भन्दामाथी रहेको फोहोर सगरमाथा आधार शिविर ल्याएर जलाउनुपर्ने, पुनःप्रशोधन गर्न सकिने फोहोर काठमाडौँ महानगरपालिकामा लगेर बुझाउनुपर्ने तथा पुनः निकासी गर्नुपर्ने भए सम्बन्धित आरोहीले आफ्नो देशमा फिर्ता लैजानु पर्ने कानुनी प्रावधान छ।
सगरमाथा क्षेत्रको फोहोरमैला व्यवस्थापन गर्नका लागि विसं.२०५४ सालदेखि सगरमाथा प्रदूषण नियन्त्रण समितिले प्रतिआरोही ६०० डलर लिने गरेको छ। उक्त शुल्कबाट शौचालय निर्माणदेखि फोहोर सङ्कलन केन्द्र स्थापना गर्ने गरिएको छ । तर सो समितिले फोहोरको व्यवस्थापनमा ध्यान नदिएको आरोहीको आरोप छ।
सगरमाथा प्रदूषण नियन्त्रण समिति(एसपीसीसी)का अध्यक्ष आङदोर्जे शेर्पा आधारशिविरभन्दा माथिको फोहोर सङ्कलनको जिम्मा समितिको नभएको भन्छन्। प्रत्येक आरोही र कामदारलाई आठ किलोग्राम फोहोर आधारशिविरसम्म ल्याउन लगाउने र क्याम्प २ मा कर्मचारी राखेर अनुगमन गरी प्रदूषण गर्नेलाई कारबाही गर्ने गरिएको शेर्पाको दाबी छ।
पर्यटन विभागले क्याम्प २ देखि चुचुरोसम्मको बाटो सरसफाइ गर्नका लागि पर्वतारोही सञ्चालक सङ्घलाई जिम्मा दिएको छ । त्यसको कार्यान्वयन नहुँदा समस्या भएको सरोकारवालाहरुको भनाइ रहेको छ।
प्रकाशन मिति–२०७४ साल बैशाख १२ गते मंगलवार ।