काठमाडौ। नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको आज दुई वर्ष पूरा भएको छ । नेपाली जनताले आफूले चुनेका प्रतिनिधिमार्फत संविधान प्राप्त गर्ने सात दशक लामो चाहनाले २०७२ असोज ३ गते मूर्तरुप पाएको थियो।
संविधान जारी भएको दुई वर्षभित्रै नेपालको संविधान कार्यान्वयनको पहिलो खुड्किलो स्थानीय निर्वाचन सम्पन्न भइसकेको छ। प्रदेश र प्रतिनिधीसभा निर्वाचन मंसिर १० र २१ गते दुई चरणमा हुँदैछ। माघ ७ गतेभित्र तीनै तहको निर्वाचन सम्पन्न गर्नुपर्ने संवैधानिक व्यवस्था छ।
६ वटा प्रदेशमा जनप्रतिनिधीले काम सम्हालिसकेका छन् भने प्रदेश नम्बर २ मा जनप्रतिनिधी चयनका लागि मतदान सम्पन्न भइसकेको छ। संविधान दिवसलाई राष्ट्रिय पर्वका रुपमा मनाउन सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ । नेपालको लिखित संविधान मध्ये यो सातौं संविधान हो।
यसअघिका सबै संविधान आयोग वा विभिन्न रुपमा निर्माण भए पनि जनताका प्रतिनिधिमार्फत जारी भएको संविधान भने यो नै पहिलो हो । नयाँ संविधानले नेपाललाई विश्वमा नै सहभागितामूलक लोकतान्त्रिक देशको परिचय दिएको छ ।गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशीता र सामाजिक न्याय नेपालको संविधानका मूलभूत विशेषता हुन्।
प्रकाशन मिति–२०७४ साल असोज ३ गते मंगलवार ।