काठमाडौ। नेपाली चलचित्र अंशबण्डाको निर्माता शालिकराम मगर नभएको पनि गत मंसिर २४ गते विहीवारबाट १२ बर्ष पूरा भएर १३ बर्ष लागेको छ। १३ औ बार्षिक पूण्यतिथिमा स्वर्गवासी चलचित्र अंशवण्डाका निर्माता रानामगरको काठमाडौ विजेश्वरी स्थित निवासमा एकमात्र सुपुत्र संजीव रानामगर तथा पत्नी मन्जु रानामगर निक्कै गंभीर बने। जापानमा रहेकी निर्माता रानामगर सुपुत्री सविना रानामगर पनि परदेशवाटै पिताको पूण्यतिथिमा पिताको योगदानलाई संझेकी छन्।
नेपाली चलचित्र अंशवण्डामा मल्टीस्टार राखेर बृहत रुपमा निर्माण भएको थियो। जुन चलचित्रलाई धेरैले मन पराएको थियो। यस चलचित्रवाट धेरै कलाकार तथा प्राविधिकहरुले चलचित्रको करियर नै बनाए। निर्देशक सुरज सुव्वा नाल्बोको निर्देशनको यो पहिलो चलचित्र नै बन्यो। निर्माता रानामगरले निर्देशक देखि कलाकार तथा प्राविधिक धेरैलाई डेब्यु गराए। १२ बर्षअघि निर्माता रानामगरको दुःखद निधनको बेलामा ती कसैले पनि संझ्ने समेत प्रयास गरिएन। चलचित्र क्षेत्रमा लाग्नेहरु कतिको बैगुनी हुंदोरहेछ भन्ने त्यो बेलाको ताजा दस्तावेजको रुपमा निर्माता रानामगरको मृत्यु भएको बेला लिइएको थियो।
चलचित्र अंशवण्डा निर्माण तथा प्रदर्शनको केही बर्षपश्चात जापानी इन्फिलाइटिस रोगको कारण दुःखद निधन भएको थियो। महिनौ महिना महाराजगंजस्थित टिचिङ्ग अस्पतालमा जीवन तथा मृत्युको दोसाँधमा रहंदा पनि केही बाहेक प्राय चलचित्रकर्मी त्यहाँ नपुग्नु र मृत्युको दिन पनि कोही चलचित्रकर्मी नपुग्नु निक्कै नै दुःखद अवस्था थियो। नेपाली चलचित्रलाई त्यो बेला नै विदेशमा मार्के्टिङ्ग गर्नुपर्छ भनेर बेलायतमा समेत चलचित्र अंशबण्डा प्रदर्शनको लागि चाँजोपाजो मिलाउंदै गर्दाको समयमा देहान्त भएपछि उहाँको त्यो अधुरो सपना अझै पूरा गर्न नसकेको स्वर्गवासी निर्माता रानामगर पत्नी मन्जु रानामगरले दुःखेसो पोखेकी छन्।
श्रीमान नहुनुको १३ औं बर्ष पुग्दा धेरैको जिन्दगीमा लागेको घाउमा मल्हम लगाउने कार्यमा सक्रिय मन्जुको पीडा आफैमा चानचुने कुरा होइन्। यद्यपि, कतिपनि विचलित नभइकन एक्लो जीवनको लामो यात्रामा एक छोरा र छोरीलाई हुर्काएर उनीहरुलाई सक्षम बनाउन सक्नु यतिखेर जीवनको ठूलो जित जस्तो उनलाई लागेको छ। यसो भएतापनि आफूलाई भन्दा बढी माया गर्ने श्रीमान नहुनुको पीडा घरीघरी श्रीमानको तस्वीर अगाडि पुगेर चुपचाप रुने कार्य बाहेक उनले गर्न सकेको पनि त छैन्। लाग्छ–त्यो फोटोवाट स्वर्गवासी श्रीमान फोटोवाट निक्लेर भूईमा खस्न लागेको त्यो आँशु पुछिदिएजस्तो कयौ रात उनले अनुभव गरेकी छन्।
यसलेगर्दा पनि श्रीमानको भौतिक शरीर यो संसारमा नभएपनि मानसिक रुपमा हरदम हरक्षण आफूसंग नै रहेको अनुभव र अनुभुतिले जीवनमा बाँच्ने ऊर्जा उनमा प्राप्ति हुने गरेको छ। पुष महिनाको चिसो जाडो हो या ज्येष्ठ महिनाको प्रचण्ड गर्मीमा पनि जिउने बानी बनाइसकेकी उनी आफूजस्तै एकल महिलाहरुको दुःखको साथी बन्नमा लागिपरेकी छन्। सामाजिक अभियन्ता बनेर दुःखमा परेकाहरुको लागि सक्दो सहयोग गर्ने कार्यमा हातमा हात बाँट्ने कार्य उनीवाट भैरहेको छ। जुन जीवनको बाँच्ने मेलो भएको उनले भनेकी छन्।
प्रकाशन मिति–२०७२ साल पुष १९ गते आइतवार ।