मध्यपुर थिमि (भक्तपुर)। देशकै पहिलो स्थानीय सरकार लेख्ने मध्यपुर थिमि नगरपालिकाका पहिलो मेयर अनि टप–थ्री मेयर मदनसुन्दर श्रेष्ठले शानले राजिनामा दिएका छन्। विपक्षीहरुको चौतर्फी घेराबन्दीमा समेत शानले मध्यपुर थिमि नगरपालिकालाई परम्परागत मौलिक कलात्मक सांस्कृतिक शहर बनाउन सफल मेयर श्रेष्ठले पाँच बर्षे शानदार कार्यकाल सम्पन्न हुन केही दिन वाँकी रहेकै समय पारेर गौरबशाली राजिनामा दिएका हुन्।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट मेयर पदमा निर्वाचित मेयर श्रेष्ठसहित नौ जनाले शुक्रवार एकै साथ राजीनामा दिएका हुन्। राजीनामा दिनेमा मेयर श्रेष्ठका साथमा वडा नंबर ५ का वडाध्यक्ष अमृतमान श्रेष्ठ, वडा नंबर ७ का वडाध्यक्ष कृष्णकुमार प्रजापति, वडा नंबर २, ३, ४, ८ र ९ का वडासदस्यहरु अम्बिका रजत, राजभक्त श्रेष्ठ, रामकेशरी श्रेष्ठ, सुन्दरलाल श्रेष्ठ, मन्दिरा थापा नेपाली, सुन्तली बिक रहेका छन्। वडाध्यक्ष र वडा सदस्यले मेयरलाई र मेयरले उपमेयर अञ्जनादेवी मधिकर्मीलाई राजीनामा पत्र बुझाएका हुन्।

मेयर श्रेष्ठले शुक्रवार नै सुविधाको रुपमा लिएको सवारी साधन, मोवाइल लगायतका सबै सामग्री नगरपालिकाका प्रखुम प्रशासकीय अधिकृत चुरामणी पन्थीलाई बुझाएका छन् । पाँच वर्षको आफ्नो कार्यकालमा मध्यपुरथिमि नगरपालिकाको बिकास, समृद्धि, सम्पदा संरक्षण, मूर्त तथा अमूर्त कला, संस्कृतिको संरक्षण, सडक, खानेपानीलगायतको बिकास गर्दै मध्यपुरथिमिलाई सम्पदाको क्षेत्रबाट विश्वलाई चिनाउन सफल भएको भन्दै मेयर श्रेष्ठले त्यस अबिधीलाई हातेमालो गर्ने सबै जनप्रतिनिधि, सघाउने कर्मचारी लगायत सबैलाई धन्यवाद व्यक्त गरेका छन्।

२०७४ सालको निर्वाचित भएर आउँदा पनि मेयर श्रेष्ठले धेरै समय आफ्नै निजी गाडीमा नगर पालिका आएर कार्यभार सम्हालेका थिए । नगरपालिका मेयरले प्रयोग गर्दै आएको सवारी साधन उपमेयरले प्रयोग गरे पछि धेरै लामो समय आफ्नै निजी गाडीमा ओहोर दोहोर गरेको मेयर श्रेष्ठले नगरपालिकाले नयाँ गाडी खरिद गरे पछि पनि नगरपालिकाको काम बाहेक अन्य समयमा आफ्नै निजी गाडीको प्रयोग गर्दै आएका थिए । शुक्रवार राजीनामा दिएर फर्कने क्रममा पनि मेयर श्रेष्ठ आफ्नै निजी गाडीमा फर्किएका थिए।

प्रकाशन मिति–२०७९ साल बैशाख ९ गते शुक्रवार ।