–कल्पना तिवारीविवाह बलात्कारको पहिलो संस्था हो। यो स्वभाविक कुरा पनि हो। बर्षौ बर्षदेखिको प्रेम संवन्धलाई विवाहमा बदलिदा शायद त्यो विवाहमा बलात्कार भन्ने शव्दले स्थान पाउंदैनहोला। तर, चिन्दै–नचिनेको मान्छे अनि खासै बोलचाल नभएको मान्छेसंग सुहागरातको नाममा यौन संवन्ध कायम गर्नु र गर्नुपर्ने बाँध्यता त्यो भावनात्मक हुनै सक्दैनन्। एक किसिमको विवाहको नामको बलात्कार नै हो। यसमा शायद कसैको दुई मत नहोला।
जान्दै–नजानेको अनि मन र भावना नमिलेको मान्छेसंग विवाहको नाममा यौन संवन्ध गाँस्नुपर्ने बाँध्यता त्यो निश्चित रुपमा बलात्कार हो। यस बलात्कारको विषयमा महिला लेखक अर्चना थापा, कुमारी लामा र उमा सुवेदीले स्थापना गरेको आव्हान नामक संस्थाले आयोजना गरेको ‘अहिले नबोले कहिले बोल्ने, वलात्कार पीडितका लागि न्याय’ विषयक बहस पनि हालै संपन्न भएको छ।
त्यस बहसमा पनि विवाहलाई बलात्कार पहिलो संस्था भनेर निश्कर्ष निकालेको छ। बहसमा लेखिकाद्वय निभा शाह र आन्विका गिरीसँगै उपस्थित लेखक साहित्यकार तथा विविध क्षेत्रकाले समेत वलात्कार न्युनीकरणसँगै पीडितका लागि न्यायका पक्षमा बोले। कुमारी लामाले साहित्यमात्र नभई महिलाको संस्था भएकाले महिलाका पक्षमा यसपटक आवाज उठाउन खोजिएको बताइन्।
यतिबेला कञ्चनपुरकी १३ बर्षिया बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउन माग गर्दै उनका बुबा आमा धर्नामा बसिरहेका छन् । उनीहरूको न्यायको आशाको दियोमा तेल थप्नेसँगै वलात्कार हुनुको सामाजिक, राजनीतिक तथा आर्थिक पाटोमा खुलेर बहस भयो। आधा आकाश बढी ढाकेको जनसंख्या महिलाको भए पनि महिलामाथि हुने वलात्कार विरुद्धमा आवाज उठाउने सवालमा महिला सामुहिकताकै अभाव रहेको आन्विका गिरीले बताइन् । उनका अनुसार निर्मला पन्तको वलात्कारपछि हत्या भएपछिका समयमा कञ्चनपुरमै ३० भन्दा बढी वलात्कारका घटना भैसके।
पन्तको हत्यामा संलग्न अहिलेसम्म पत्ता लाग्न सकेको छैन । बढ्दो घटना किन भैरहेको छ भन्ने पत्ता लगाउन राज्य संरचना असफल रहेका बेला गिरी भने पितृसत्तात्मक सोचको संरचना भंग नभएसम्म वलात्कार घट्न नसक्ने तर्क गर्छिन् । ‘ कमजोर महिला नै वलात्कारको सिकार भइरहेका छन् छ,’ उनले भनिन्, ‘जसलाई मारेर फालेपनि केही फरक पर्दैन।’ वलात्कारको निरुपण नभएपनि पीडितले न्याय पाउने विषयमा भने निरन्तर खबरदारीको आवश्यकता रहेको उनले सुनाइन् । सरकारलाई खबरदारी गर्न प्रतिपक्षले पनि गर्नु पर्ने जति नगरेको आरोप उनको रहेको छ।
राज्य संरचनाले नै वलात्कार गर्नुपर्छ भन्ने खालको शिक्षा दिइरहेका त्यसको तत्काल अन्त नहुने लेखक निभा शाहको भनाइ थियो । अझ अल्पसंख्यक,दलित महिला, जनजातिका आवाज आउन नसक्नु पितृसत्तात्मक सोचकै उपज रहेको उनले औंल्याइन् । ‘सत्ताको जरामा पुगेर यसको अन्त गर्न सकिन्छ,’ शाहले भनिन् , ‘वैवाहिक संस्था नै वलात्कारको पहिलो संस्था हो त्यो नै अन्त हुनुपर्छ ।’ उनका अनुसार घरघरमा हुने पारिवारिक बलात्कारको कुरा बाहिर आउने हो भने नेपालमै पनि ९९ प्रतिशत सम्बन्ध विच्छेद हुनसक्छ।
मार्टिन चौतारीमा भएको कार्यक्रममा विभिन्न क्षेत्रका राधा शर्मा, धनकुमारी सुनार, लक्ष्मी खतिवडा लगायतले महिला एकिकृत भएर यस्ता घटनाको विरोध गर्नुपर्नेमा जोड दिए। बहसमा मूख्य भूमिका निर्वाह गरेका गिरी र शाहले जबसम्म पूँजीवादको मातहतमा राज्य सञ्चालन हुन्छ तबसम्म महिला लगायतका मुद्धाले किनारा नपाउने तर्क गरे । फुटाउ र राज गर सिद्धान्तलाई पूँजीवादले मलजल गरिरहेकाले आर्थिक क्षेत्र र सम्पत्तिमा महिलाको पहुँच नपुगेसम्म महिलामाथि बलात्कारजस्ता घटना बढोत्तरी हुने दाबी उनीहरूले गरे।
भविष्यका बालिका सुरक्षित गर्न हरेक घरका अभिभावकले आफ्ना बालबालिकालाई महिलाको सम्मानित स्वरुपका बारेमा सानैदेखि दिनुपर्नेमा सहभागिहरू सहमत भए। कुनै छोराले वलात्कार गरेमा सामाजिक बहिस्कार गर्ने र वलात्कार भएकी बालिकाले खुलेर आफ्ना पीडा भन्न सक्ने अवस्था सृजना गर्नुपर्ने उनीहरूको भनाइ थियो।
यसकारण पनि विवाह यथार्थमा बलात्कारको लाइसेन्स पो हो कि भन्ने कुरा आएको छ। तसर्थ, विवाहको सोचमा बदलिनु आवश्यक छ। मन र भावना नबुझिकन तथा एक–अर्कामा समर्पित नबनिकन विवाह गर्नु र गराउनु बलात्कार नै हो।
(नामी साप्ताहिक बर्ष ५ अंक ४ वाट साभार) प्रकाशन मिति–२०७५ साल मंसीर १५ गते शनिवार।