काठमाडौं। विवादास्पद पूर्वसञ्चारमन्त्री गोकुल बांस्कोटाको निर्माणाधिन घरमा शक्तिशाली बम विष्फोट भएको छ। भक्तपुरको मनहरा फाँटस्थित पूर्वसञ्चारमन्त्री बाँस्कोटाको निर्माणाधीन घरमा शक्तिशाली बम विष्फोट भएको हो।

बम विष्फोटका कारण घरको पर्खाल र रेलिङ भत्किएको छ। बाँस्कोटाको छिमेकी कपिलदेव घिमिरेको घरमा पनि बमले क्षति पुगेको छ। बमले घिमिरेको चार तला माथिको ढोका उप्किएको छ। सिसा पनि बमले फुटेको छ। साथै घरको प्लास्टर गरेको पिल्लर चर्किएको छ। घर अगाडि पार्किङ गरेर राखिएको बा १९ च ४७८१ नम्बरको एउटा डेलिभरी भ्यान पनि क्षतिग्रस्त भएको छ ।

बम विष्फोटका कारण बाँस्कोटाको घर वरिपरिका बासिन्दा त्रसित बनेका छन्। प्रेसर कुकर बम विष्फोट गराइएको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ।  जिल्ला प्रहरी कार्यालय भक्तपुरले बम विष्फोट बास्कोटाकै घरलाई लक्षित गरेर गराइएको जनाएको छ।

बम विष्फोटको समयमा पूर्वसञ्चारमन्त्री बास्कोटा सो घरमा थिएनन्। उनी बालकोटस्थित प्रधानमन्त्री केपी शर्मा ओलीको निजी निवासमा बस्दै आएका छन् । उनी मन्त्री बनेदेखि नै ओली निवासमा बस्दै आएका छन् । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा कमिसन डिल गरेको भनिएको अडियो सार्वजनिक भएपछि बांस्कोटाले सञ्चारमन्त्री पदबाट राजीनामा दिएका थिए।
प्रकाशन मिति–२०७६ साल फागुन २८ गते बुधवार ।