काठमाडौं । शैक्षिक क्षेत्रमा सफलता हासिल गर्ने बज्राचार्यहरुलाई दिईँदै आएको वल्र्ड बज्राचार्य अवार्डस्को दोश्रो संस्करण आउँदो पुस २ गते हुने भएको छ। आउँदो पुस २ गते काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा एक भव्य समारोहकाबीच बज्राचार्य अवार्ड वितरण गर्न लागिएको हो।
शैक्षिक क्षेत्रमा केन्द्रीत हुँदै बज्राचार्य समुदायमा वितरण गरिँदै आएको अवार्डमा यस पटक सय भन्दा बढि विद्यार्थीहरु पुरस्कृत हुन लागिएको कार्यक्रम संयोजक शैलेन्द्रमान बज्राचार्यले बताउनुभयो । कार्यक्रममा एस.ई.ई. देखि स्नातकोत्तर तहसम्म हरेक संकायको हरेक विधामा उच्च अङ्क ल्याइ उत्तीर्ण हुने बज्राचार्यहरु अवार्डबाट पुरस्कृत हुनेछन्।
यसैगरी, पि. एचडी. पूरा गरेका, नेपालभाषा र बुद्धिष्ट विषयमा उत्तीर्ण भएका हरेक बज्राचार्य विद्यार्थीलाई अवार्ड प्रदान गरिनेछ । विश्वका विभिन्न कुनाकाप्चामा बसोबास गरेर बसेका पाँच सय बढि बज्राचार्यहरुले अवार्डका लागि आफ्नो नाम दर्ता गराएका थिए।
त्यसैगरी अवार्डको दोश्रो संस्करणमा बौद्ध विद्वान फनिन्द्ररत्न बज्राचार्य लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित हुँदैछन् । बौद्ध धर्म, संस्कारको क्षेत्रमा लामो समयदेखि अनवरतमा रुपमा दिँदै आएको योगदानको कदर स्वरुप बज्राचार्यलाई सम्मान गर्न लागिएको आयोजक बज्राचार्य क्लबले जनाएको छ ।
त्यस्तै, बौद्ध सम्पदा संरक्षण, जिर्णोद्धार साथै पुनर्निर्माण र बुद्ध शिक्षा प्रचार प्रसारमा विशिष्ट योगदान पु¥याएको भन्दै काठमाडौं महानगरपालिकाका पूर्व प्रमुख विद्यासुन्दर शाक्यलाई विशेष सम्मानबाट सम्मानित गर्न लागिएको छ ।
बौद्ध सम्पदा र शिक्षाप्रति युवा पुस्तामा जागरण ल्याउने उद्देश्यले अवार्ड कार्यक्रमको आयोजना गर्दै आएको संयोजक शैलेन्द्रले बताए । क्लबका अध्यक्ष सर्जु बज्राचार्यले यो अवार्ड शैक्षिक क्षेत्रमा केन्द्रीत रहेको र भविष्यमा विभिन्न क्षेत्रमा योगदान दिने बज्राचार्यहरुको सम्मानको लागि अलग अलग कार्यक्रमको आयोजना गर्ने योजना रहेको पनि सुनाए। ‘अहिले हामी शैक्षिक क्षेत्रमा केन्द्रीत छौं, भविष्यमा बज्राचार्य स्पोर्ट्स अवार्ड, बज्राचार्य बिजनेस अवार्ड आदि पनि गर्ने हाम्रो योजना छ’ अध्यक्ष सर्जुले बताए।
प्रत्येक दुई वर्षमा आयोजना गर्ने भनिएको अवार्डको पहिलो संस्करण सन् २०१९ मा भएको थियो । दोश्रो संस्करण कोभिड महामारीका कारण तीन वर्षपछि मात्र हुन लागेको आयोजक संस्थाले जनाएको छ ।
प्रकाशन मिति–२०७९ साल मंसीर २८ गते बुधवार ।