काठमाडौ । विशेषत कलाकारको जिन्दगी सावुनको फोका जस्तै हो भन्ने गरेको छ। ज्यानमा लाली तथा अभिनयमा जोश हुन्जेल कलाकारको जिन्दगीले साथ दिने गरेको बताइन्छ। नेपाल जस्तो देशमा कलाकारिताले नाम मज्जाले कमाइने भएतापनि दाम कमाउन नसक्ने पीडा यथावत रहेको छ। यही पीडाले गर्दा नेपालका नाम चलेका ख्यातिप्राप्त कलाकार पनि अमेरिका लगायतका मुलुकमा दाम कमाउनकै लागि विदेशिनु परेको छ।
कतिले विदेश गएर राम्रै कमाई गरेको पाइएको छ। ती देशमा बस्ने र त्यहाँको नागरिक बन्ने राम्रो अवसर पनि पाएको पाइन्छ। यसो भएतापनि विदेशको दोश्रो दर्जाको नागरिक बन्ने चाहना कतिपयलाई चित्त नबुझ्दो पनि छ। रहरले भन्दा बाँध्यताले त्यसरी दोश्रो दर्जाको नागरिक बनेर बसेपनि अन्तोगोत्व नेपाल नै प्यारो भन्ने कलाकारको जमात देखिएको छ। जसमा करिश्मा मानन्धर, सरोज खनाल, गौरी मल्ल, रमेश उप्रेती लगायतका रहेका छन्।
यी कलाकारले अमेरिका लगायतका मुलुकमा राम्रै प्रतिष्ठा सहित त्यहाँको ग्रीनकार्ड पाएर राम्रै लाइफ मेन्टन गरेर बसेतापनि आखिरमा उनीहरुलाई नेपाल नै प्यारो बनेको छ। नेपालमा मर्न होइन, नेपालमा काम गर्न नै फर्केको भनेर फर्केका छन्। जुन राम्रो कुरा भएको छ। फर्कनेको जमातसँगै जानेको पनि लर्कोमा कमी आएको छैन्। बाल–बच्चा र आफ्नो भविष्य भन्दै केकी अधिकारी लगायत अमेरिका जाने तर्खरमा रहेका छन्। रिचा घिमिरे, रन्जना शर्मा, अरुणिमा लम्साल, दीलिप रायमाझीहरु यसअघि नै भविष्य बनाउन भनेर अमेरिका सेटल बनिसकेका छन्।
आउने जाने क्रममा अमेरिकाको ग्रीनकार्ड पाएर पनि नेपालको प्रतिष्ठित नोबल एकेडेमी कलेज तथा नोबल अस्पतालका डारेक्टर उत्तम भौकाजीलाई अमेरिकाले आकर्षण गर्न सकेन । ग्रीनकार्ड होल्डर भएकोले बर्षको एकपल्ट घुम्ने हिसावले अमेरिकामा इन्ट्री गरेर आउने गरेका भौकाजी जस्ता धेरै ग्रीनकार्ड होल्डरहरु नेपालमा नै रमेका छन्।
विदेश कोही पनि रहरले जाने गर्दैनन्। मजबुरी तथा बाँध्यताले जाने गर्दछन्। मजबुरीले विदेशिनेको संख्यामा निक्कै बृद्धि भैरहेको छ। एसएलसी तथा प्लस टु सकिनासाथ पढ्नको नाममा बर्षेनी विदेशिने लाखौ लाख विद्यार्थीका कारण नेपालका कतिपय कलेजहरुमा विद्यार्थी चाप न्यून हुन थालेको छ। यसो हुनुमा नेपालमा रोजगारीको अवसर क्रमिक रुपमा निक्कै न्यून हुनु र भएमा पनि पहुँचवालाहरुकै बोलवाला भएकोले सवैको गन्तव्य विदेश बनिरहेको छ। यसतर्फ सरकारी नीति राम्रो नभएसम्म ऊर्जनशील जनशक्ति विदेश पलायन हुंदैजाने देखिएको छ।
मुलुकको ऊर्जनशील जनशक्ति विदेश पलायन भएकै कारणले मुलुकमा विनाशकारी भूकम्पयता निर्माण तथा पूननिर्माणको कार्यमा जनशक्तिको अत्यन्त अभाव देखिएको छ। समयमा निर्माण तथा पूननिर्माण कार्य संपन्न गर्न नसकेर कतिपय संरचना तथा सम्पदाहरु थला परिरहेको पाइन्छ । विदेशको रहरलाग्दो रोजगारीमा जानेहरु पनि निश्चित समयको काम पछि स्वदेश नै फर्केर त्यहाँ सिकेको र कमाएको स्वदेशमा नै लगानी गर्नेतर्फ सरकारी उत्प्रेरणा भएमा निश्चय पनि नेपाल निर्माणमा ठूलो सहयोग हुनेछ।
प्रकाशन मिति–२०७२ साल माघ १५ गते शुक्रबार ।