काठमाडौ। बुद्ध जन्मस्थल लुम्बिनीको प्रवेशद्वार भैरहवा सिद्धार्थनगरलाई बुद्धमय बनाउने अभियान सुरु गरिएको छ । विश्व शान्तिको केन्द्र लुम्बिनी पुग्ने स्वदेशी तथा विदेशी पर्यटकलाई सिद्धार्थनगर भैरहवा आउँदा बुद्धको झझल्को दिने गरी सिद्धार्थनगरलाई बुद्धमय बनाउने अभियान सुरु गरिएको हो।
राससका अनुसार,प्रवेशद्वारको रुपमा रहेको सिद्धार्थनगर भैरहवालाई बुद्धमय नगरी बनाउने उद्देश्यअनुसार पहिलो चरणमा भैरहवाको प्रमुख बजार बैंकरोडका पसल तथा घरमा बौद्ध झण्डा राख्ने अभियान आजदेखि सुरु भएको हो ।
बुद्धनगरी भैरहवामा अहिलेसम्म भैरहवाको बुद्धचोकमा बुद्धमूर्ति र देवकोटा चोकमा बुद्धको अर्ध कदको सालिक तथा लुम्बिनी रोडमा वैदिक सनातन धर्म सेवा समितिले निर्माण गरेको लुम्बिनी द्वार मात्र थिए । सिद्धार्थनगरलाई बुद्धमय बनाउने अभियानस्वरुप एउटै रङका बुद्धको झण्डा र घरमा रङ प्रयोग गर्ने गरी अभियानको थालनी गरिएको अभियानमा सामेल भैरहवा मर्निङवाक ग्रुपले जनाएको छ।
अभियानलाई सिद्धार्थनगर नगरपालिकाले पनि आवश्यक नीतिगत सहयोग गर्ने जनाएको छ। पाँचवटा रङ नीलो, पहेंलो, रातो, सेतो र कलेजी मिश्रित रङले बौद्ध झण्डा बनाइएको हुन्छ।
प्रकाशन मिति–२०७३ साल पुष १४ गते विहीवार ।