ललितपुर। विहीवार दिउंसो स्वतःस्फूर्त रुपमा सहकालका देवता रातो मच्छिन्द्रनाथको रथ तान्न गएका युवाहरु र प्रहरी वीच झडप भएपछि शुक्रवार विहान ४ बजेदेखि राति १० बजेसम्म ललितपुर महानगरमा लगाइएको कर्फ्यू हटाइएको छ।

कर्फ्यू हटाएतापनि जिल्ला प्रशासन कार्यालय ललितपुरले महानगरका दुई ठाउँलाई निषेधित क्षेत्र घोषणा गरेको छ। रातो मच्छिन्द्रनाथको रथ रहेको स्थान पुल्चोक क्षेत्र र मिननाथ रथ रहेको मंगलबजार क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको हो।

सो क्षेत्रमा पाँच जना भन्दा मानिस भेला भएमा कारवाही गरिने जिल्ला प्रशासन कार्यालय ललितपुरले जनाएको छ। भाद्र २६ गते सात दिनसम्मलाई बिहान ५ बजेदेखि राति १० बजेसम्म यी दुई क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको छ।
प्रकाशन मिति–२०७७ साल भाद्र १९ गते शुक्रवार ।