लन्डन । नेपालका वरिष्ठ कवि तथा साहित्यकार गोपाल पराजुली आइतवार लन्डन आइपुगेका छन् । कवि पराजुली धर्मपत्नी लक्ष्मी पराजुलीका साथमा लण्डन आइपुगेका हुन्। नेपाली साहित्य विकास परिषद यूकेको निमन्त्रणामा लण्डन आएका कवि पराजुली दम्पतिलाई परिषदका वरिष्ठ सहअध्यक्ष कवि कोमल प्रसाद श्रेष्ठ मल्ल, सदस्य ज्ञानेन्द्र राउत लगायत साहित्यकारहरूले लण्डनको हिथ्रो विमानस्थलमा स्वागत गरेका थिए।
परिषदले गत वर्ष घोषणा गरेको एक तोला सुन र पांच तोला चाँदीमा बनेको एनएलडिसी गोल्ड मेडल पुरस्कार प्रदान गरिने भएको छ। कवि पराजुली यही १४ मार्च देखि नेपाली दूतावासमा हुन लागेको सप्ताहव्यापी मेलामा पनि सहभागी हुने कार्यक्रम रहेको परिषदले जनाएको छ । परिषदले आगामी ३ अप्रिल सांझ हुने नव वर्ष साहित्य सांझ कार्यक्रममा पराजुलीलाई पुरस्कार प्रदान गर्नेछ।
डायष्पोरामा रहेका नेपाली साहित्यकारहरु समेटेर औपचारिक रूपले सन् २००३ मा गरिमाको बेलायत विशेषांक प्रकाशित गरी सर्वप्रथम डायस्पोरिक साहित्यलाई नेपाली साहित्यको मुल प्रवाहमा प्रवाहित गराए वापत कवि पराजुलीलाई उक्त पुरस्कारबाट सम्मानित गर्न लागिएको हो । पराजुली ४ अप्रिलमा नेपाल फर्कनेछन्।
प्रकाशन मिति–२०७३ साल चैत्र ३ गते विहीवार ।