काठमाडौ। पचासको दशकका अत्यन्त प्रतिभाशाली चर्चित हाँस्य अभिनेता नारायण त्रिपाठी त्यो बेला प्रेमचरो नामैले बनेका कलाकार हुन्। यिनै प्रेमचरो उपनामले निक्कै नै चर्चा तथा परिचर्चा पाएका कलाकार त्रिपाठी त्यो बेला हालका महानायक राजेश हमालभन्दा पनि महंगा कलाकारका रुपमा चिनिने गर्दथे।
लामो भागको टेलिसिरियल ट्वाक्क–टुक्कवाट नेपाली चलचित्रको अभिनय क्षेत्रमा छलाङ्ग मारेका कलाकार त्रिपाठीको अभिनय–कला आम कलाकारका भन्दा पृथक भएको कारणले गर्दा पनि त्यो बेला त्रिपाठीको अत्यन्त डिमाण्ड बढे्को हो। घमण्ड भन्ने कुरा कुन चरीको नाम हो भन्ने पटक्कै थाहा नभएको बताउने प्रेमचरो माया गर्नेहरुका लागि नमूना कलाकार नै मान्ने गर्दथ्यो।
सयौं चलचित्रमा अभिनय गर्न भ्याएका यी कलाकारको त्यो बेलाको व्यस्तता देख्नेहरु अझैपनि कलाकार त्रिपाठीलाई संझ्ने गर्दछ। प्रत्येक बर्षको दशैंमा नेपाल टेलिभिजनले प्रसारण गर्ने गरेको दशैं टेलिसिरियलमा रुखमा कपडा फलाउने ज्वाइँको भूमिकामा अभिनय गरेका ज्वाइँ हिरोको रुपमा सवैले चिनेका त्रिपाठीको त्यो भूमिका अझै जीवन्त रहेको छ।
त्रिपाठीलाई अहिलेको नयाँ पुस्ताले पनि बचपनमा हेर्ने गरेको दशैं सिरियलको त्यो ज्वाइँ कलाकार भनेर चिन्ने गरेका छन्। प्रायले ट्वाक्क–टुक्कका प्रेमचरो नै भनेर बढी चिन्ने गर्दछन्। कलाकारिताको त्यो उर्वरता तथा उच्च–शिखरमा पुगेको बेलामा अमेरिकातिर लागेका कलाकार त्रिपाठीले अमेरिकामा पनि राम्रो स्थान कायम गरेका छन्।
अमेरिकाको टेक्सासमा हाल बस्दैआएका कलाकार त्रिपाठी त्यहाँ प्रतिष्ठित लाइफ विताइरहेका छन्। नेपाली कलाकार संघ टेक्सासको संयोजक समेत रहेका कलाकार त्रिपाठी त्यहाँ रहेका नेपाली कलाकारहरुलाई एकजुट बनाउने प्रयासमा रहेका छन्। परदेशमा नेपाली कला–संस्कृतिको प्रचार–प्रसार तथा यसको संवद्र्धन र जगेर्ना गर्नुको अलावा नेपाली समाजको हितको लागि कलाकार त्रिपाठी हाल अत्यन्त क्रियाशील रहेका छन्।
निकट भविष्यमा पहिला जस्तै कुनै न कुनै माध्यमवाट निरन्तर अभिनयमा क्रियाशील भएर लाग्ने प्रतिवद्धता कलाकार त्रिपाठीले व्यक्त गरेका छन्।
प्रकाशन मिति–२०७३ साल चैत्र १३ गते आइतवार ।