काठमाडौं। आज वैशाख ११ गते, १४ औँ लोकतन्त्र दिवस । विसं.२०६२–६३ सालको ऐतिहासिक लोकतान्त्रिक आन्दोलन सफल भएको १४ वर्ष पूरा भएको छ। विसं.२०६२ सालको चैत २६ गतेबाट प्रारम्भ भएर १९ दिनपछि अर्थात् विसं.२०६३ साल वैशाख ११ गते आजैका दिन आन्दोलनले सफलता प्राप्त गरेको थियो।

तत्कालीन राजा ज्ञानेन्द्र शाहले जननिर्वाचित प्रधानमन्त्रीलाई बर्खास्त गरी सत्ता र शक्ति आफ्नो हातमा लिएपछि तत्कालीन सात दलले विघटित प्रतिनिधि सभा पुनःस्थापनाको माग बोकेर सडकमा ओर्लिएका थिए। नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको अडानले बैशाख ११ गते पूर्णरुप पाएको थियो । जनताको हातमा आफूले लिएका सबै शक्ति र सत्ता फर्काउन राजा ज्ञानेन्द्र सहमत भएपछि आन्दोलन टुंगिएको थियो।

विसं.२०६२–६३ मा भएको जनआन्दोलनमा २५ जना नेपाली सपूतले जीवन बलिदान दिए भने थुप्रै घाइते भए। राजा ज्ञानेन्द्रले मुलुकमा निरंकुश शासन लादेपछि विपरीत ध्रुवमा मुख फर्काएर बसेका संसद्वादी सात राजनीतिक दल र माओवादी दिल्ली सम्झौतापछि एउटै विन्दुमा उभिएर लोकतान्त्रिक आन्दोलन सुरु भएको थियो।

भारतको नयाँ दिल्लीमा सात दल र माओवादीबीच निरंकुश राजतन्त्र अन्त्य गरी लोकतन्त्र स्थापना गर्न १२ बुँदे समझदारी भएपछि अगाडि बढेको शान्तिपूर्ण आन्दोलनमार्फत् नेपालीले लोकतन्त्र प्राप्त गरेका हुन् । यसक्रममा २०६४ सालको पहिलो संविधानसभाको बैठकले २०६५ साल जेठ १५ गते मुलुकबाट अढाई सय वर्षको इतिहास बोकेको राजतन्त्र सदाका लागि अन्त्य गर्‍यो।

पहिलो संविधानसभाले संविधान बनाउन नसके पनि दोस्रो संविधानसभाबाट २०७२ असोज ३ गते संविधान जारी भई कार्यान्वयनको क्रममा छ । वैशाख ११ गतेपछि नै यो राजनीतिक विकास भएकाले प्रत्येक वर्ष यस दिन लोकतन्त्र दिवसका रुपमा स्मरण गरिन्छ । कोरोना भाइरसबाट बच्न जारी लकडाउनका कारण भने औपचारिक कार्यक्रम नहुने भएको छ ।

प्रकाशन मिति–२०७७ साल बैशाख ११ गते विहीवार ।