काठमाडौ। यो वर्षको जेठ महिनामा मलमास परेकाले नवविवाहित जोडीहरुको हनिमुन योजना नै रोकिएको छ। वैदिक मान्यता अनुसार मलमासलाई अशुद्ध महिनाको रूपमा हेरिन्छ। मलमासका समयमा शुभकार्य गर्न नहुने धार्मिक मान्यता छ। नवविवाहित जोडीहरु यस अवधिभर सँगै बस्न र सुत्न हुँदैन। यो वर्ष जेठ १ गतेदेखि ३० गतेसम्म मलमास अर्थात् अधिकमास परेको छ।
एक वर्षमा कुल ३६५ दिन र १२ महिना हुन्छ। सूर्यको गतिअनुसार गणना गरिने मासलाई सौरमास भनिन्छ भने चन्द्रमासको गतिको आधारमा गणना गरिने मासलाई चन्द्रमास भनिन्छ । सामान्यतया सैरमासमा सक्रान्तिदेखि मसान्तसम्ममा २९ दिनदेखि ३२ दिनसम्मको एक महिना हुन्छ। चन्द्रमासमा एक पूणिर्मादेखि अर्को पूर्णिमासम्म २९ दिन १२ घण्टा ४४ मिनेट र २४ सेकेन्डको एक चन्द्रमास हुन्छ। त्यस्तै सौरमासको गणना अनुसार एक वर्षमा जम्मा ३६५ दिन हुन्छन्। चन्द्रमास अनुसार ३५४ दिनमात्र हुन्छ।
चन्द्रमानअन्तर्गत ३ सय ५४ दिनको एक वर्ष हुने भएकाले प्रत्येक १२ महिनामा ११ दिनको अन्तर पर्छ । यसरी झन्डै साढे दुई वर्ष भन्दा बढि अर्थात् ३२ महिना १६ दिन ४ घडीपछि थपिने एक महिना अधिकमास अर्थात् मलमासका रूपमा रहन्छ। ज्योतिष शास्त्र अनुसार १२ महिनाको अधिपति अरुण, सूर्य, भानु नाममा सूर्य रहने तर अधिकमासको अधिपत्य सूर्यले स्वीकार नगरेका र यसको अधिपत्य स्वयम् भगवान् पुरुषोत्तमले स्वीकार गरेकाले यो महिनालाई पुरुषोत्तम महिना पनि भनिन्छ। यस अनुसार हरेक ३२ महिना १६ दिन वितेपछि मलमास सुरु हुन्छ। साधारणतया ३२ महिना १६ दिन पछि मलमास हुन्छ।
मलमासमा शुभकार्य गर्नु हुँदैन र यो कालमा साइत पनि हुँदैनन्। त्यसैले महिनाभर विवाह, व्रतबन्ध जस्ता शुभकार्य गरिँदैन। दैनिक रूपमा गरिने स्नान, ध्यान, सन्ध्या, काज किरिया गर्न छेकथुन हुँदैन भनेका छन्। विवाह पछिको पहिलो वा विवाह गरेको वर्षमा पर्ने मलमासमा पतिको घरमा श्रीमती बसेमा सासूलाई कष्ट हुने, पतिपत्नीको संसर्गबाट गर्भधारण भई जन्मने शिशु रोगी हुने, पतिलाई कष्ट हुने विश्वास छ। त्यसैले नवविवाहिताले मलमास वार्ने गर्छन्। मलमासको समयमा नवविवाहित जोडीहरु अलग बस्नुपर्ने र गर्भधारण गर्न नहुने मान्यता छ।