नजिकबाट हेरेकी छु
थुप्रै मृत्यु आँखै अगाडि मरे
थुप्रै मृत्यु मर्दा मर्दै थाहा पाए
र थुप्रै जिन्दगीले मृत्यु स्विकारेको पनि देखे।
म आफै पनि
धेरै पटक मृत्यु स्विकारेर जिएकी छु।
ज़िन्दगीले हार्दा, पैसा नकमाउदा, सम्पति जोड्न नसक्दा,
असफलताहरु हातलाग्दा,
यि सबै सबै बेलामा
मेरो चित्त बुझाई हुन्थ्यो
“आ ! एक दिन सबै मर्ने त हो नी !”
म लखतरान भै थाकेर घर फर्किदा
मनमनै सोच्ने गर्थे
मरिलानु के छ र ? यति धेरै दौड़धूप र थकान !
मन विरक्त हुदा म सधै मृत्यू स्विकार गर्थे र
घण्टौसम्म पशुपति आर्यघाटमा जलिरहेका लास हेर्थे।
साँझ पंख जलिरहेको लास, बलिरहेको आरतिसंगै
रोईरहेका र नाचिरहेका मानव
म घण्टौसम्म ज़िन्दगी तुलना गर्थे
अनि मृत्युलाई स्वीकार गरेर घर फर्किन्थे।
धेरैलाई संझाएकि छु
मर्नु छदैछ,
लोभ नगर, हिंसा नगर, दुःखी नहौ र यस्तै थुप्रै
मैले आँखै अगाडि
जनयुद्धताका कैयौ मान्छेको लासको खात देखे
भूकम्प जादा हजारौ मान्छे छिनमै लास बनेको देखे।
बाढी, पहिरो र दुर्घटनाले दैनिक सामुहिक लास देखे।
अहिले पनि छिन छिन मै मान्छे मरिरहेछ।
मृत्यु जित्न नसकेरै,
तर, तर यति बेला
म
म हामी अनि हामी सप्पै
मृत्युलाई जित्न बन्दकोठामा थुनिएका छौ
लुकेका छौ संभावित मृत्युलाई रोक्न।
बाहिर सडकमा पुलिस बसेका छन्
काल नै हो कि भनेर बाटोमा हिडेका मानिस छेक्न
कसैलाई थाहा छैन
अब कति बेर बाच्नु छ भनेर
कति दिन खानु छ भनेर
फेरि पनि मान्छे
लुकिरहेछौ बाँच्न भनेर।
थुप्रै पटक जीवन हारेर मृत्यु स्वीकारेकी म
अब एउटा अर्को ज़िन्दगी बाँच्नु छ
र हेर्नु छ,
यि सुनसान सडक फेरि खचा–खच भएको
पसल र बजार झलमल्ल भएको
साथीहरुसंग अट्टहास गरेको
संसार मेरै हो भनेर बेफुर्सदिलो भएको
यो सप्पै सप्पै गर्नु छ।
यसैले मैले ज़िन्दगी जिउनु छ
र त म
बन्द कोठामा बसिरहेछु।
संभावित मृत्युबाट आफूलाई बचाईरहेछु।