–श्याम स्मृत
स्वच्छ, सफा, हराभरा काठमाडौं बनाउनका लागि महानगरलाई हरियाली बनाउन अत्यन्त आवश्यक छ। बढ्दो जनसंख्या तथा घनाबस्ती अनि धुलो–धुंवाको प्रदुषणको कारण महानगरको पहिला जस्तो हरियाली निक्कै कम हुन थालेको छ। पहिलाको जस्तै हरियाली कायम गर्नका लागि महानगरभित्र अनिवार्य बृक्षारोपन गर्ने र बृक्षारोपन गरिएका स्थानमा संरक्षण दिनु पर्दछ। जुन कतिपय स्थानमा भैरहेको पाइदैन।
यसले पनि महानगरमा हरियाली कायम हुन सकिरहेको पाइदैन। अर्कोतर्फ दीर्घकालिन रुपमा काठमाडौं महानगरको हरियालीलाई कायम गर्नका लागि विद्यालयस्तरीय हरियाली अवधारणाको विकासलाई मूत्र्तरुप दिन जरुरी भैसकेको छ। विद्यालयस्तरवाटै हरियाली कायम गर्नु आवश्यक छ भन्ने जनचेतनाको विकास भएमा निश्चित रुपमा त्यसले दीर्घकालिन असर पर्ने देखिन्छ। यसको लागि काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले विद्यालयमा विद्यार्थीहरुलाई विभिन्न जात तथा प्रजातिका रुख–विरुवा रोप्ने र तिनलाई संरक्षण गर्नका लागि अभियानकै रुपमा अगाडि बढाउने योजनामा आफू रहेको बताएका छन्।
मेयर शाक्यका अनुसार, काठमाडौं महानगरका कतिपय नीजि तथा सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई रुख–विरुवाका वारेमा जानकारी नै हुन छाडिसकेको छ। सुन्तला, स्याउ, आंप, मेवा, जुनार जस्ता फलफूल कसरी फल्ने गर्दछ भन्ने जानकारी पनि हुन छाडिसकेको छ। कतिपय ती विद्यार्थीहरुलाई ती फलफूल रुखवाट नउमरिकन मेशिनवाट पो बन्ने हो कि भन्ने धारणाको विकास भएको अवस्थामा उनीहरुलाई जनचेतना अभिबृद्धि गर्न र शहरी हरियालीलाई कायम गर्न प्रत्येक विद्यालयलाई फलफूलका विरुवा रोप्न लगाउने र विद्यार्थीहरुलाई नै संरक्षण गर्ने–गराउने बानीको विकास गराउने पक्षमा आफू रहेको मेयर शाक्यको भनाई रहेको छ।
अर्कोतर्फ, महानगरका प्रत्येक वडाका मूल सडकहरुमा अनिवार्य रुपमा रुख रोप्ने र तिनको संरक्षण गर्ने कार्य महानगरवाट गर्ने कार्यमा निरन्तरता दिने जिम्मेवारी पनि महागनरको रहेको छ। यसमा स्थानिय जनप्रतिनिधि, स्थानिय वासिन्दा तथा प्रहरीको पनि साथ–सहयोग आवश्यक छ। स्थानियको साथ–सहयोग नभएसम्म जतिसुकै योजना मेयरले ल्याएपनि कार्यन्वयन हुन नसक्ने राय पनि मेयर शाक्यको रहेको छ। मेयर शाक्यको योजना तथा निर्देशन बमोजिम काठमाडौं महानगरपालिका बाताबरण विभागले क्रियाशीलताका साथ कार्य गर्दैरहेको विभागका विभागिय प्रमुख हरिकुमार श्रेष्ठले बताएका छन्।
विभागिय प्रमुख श्रेष्ठका अनुसार, महानगरको बाताबरणलाई स्वच्छ, सुन्दर तथा हरियाली बनाउने कार्यमा महानगर कटिबद्ध भएर लागिरहेको छ। महानगरका मूल सडकहरुमा हरियाली कायम गर्न ग्रीनबेल्ट बनाउने कार्यदेखि ठाउं–ठाउंमा रुख–विरुवा रोप्ने कार्य भैरहेको छ। विद्यालयहरुमा हरियाली कायम गर्नका लागि जनचेतनामूलक कार्यक्रमहरुलाई अगाडि सारिएको छ। महानगरका ९१ वटा सामुदायिक सरकारी विद्यालय तथा ६ सय ५१ नीजि विद्यालयहरुसंग समन्वय गरेर हरियाली साझेदारी कार्यक्रमहरु गर्ने तयारीमा महानगर रहेको छ। साना–ठूला सवै विद्यालयहरुले आफ्नो विद्यालयको स्थान तथा स्वरुप अनुरुपका हरियाली कायम गर्नका लागि सहयोग गरेमा विद्यालय हुंदै महानगरका मूल सडक, सडक अनि गल्ली–गल्ली र घर–घरहरुमा हरियाली हुने निश्चित छ।
प्राय नीजि तथा सामुदायिक विद्यालयहरुमा प्रकृति क्लबहरु स्थापना पहिलादेखि हुंदैआएको छ। ती प्रकृति क्लबहरु मार्फत हरियाली कायम गर्ने कार्यहरु नभएको होइन्। विद्यार्थीहरुले खाजा खान अभिभावकसंग मागेर ल्याएका गोजीका न्यून पैसा र विद्यालयको न्यून सहयोगको आधारमा चलिरहेका विद्यालयका प्रकृति क्लवहरुले चाहेर पनि विद्यालयको वातावरणमा हरियाली कायम गर्न नसकिरहेको गुनासो द स्प्याङ्गल हाई स्कुलका प्रधानाध्यापक धनप्रसाद सुव्वाको रहेको छ। विद्यालयका प्रकृति क्लवहरुलाई शहरी हरियाली कायम गर्न महानगरले सहयोग र समन्वय गरेर कार्य गरेमा बर्तमान अवस्थामा महानगरले विद्यालयस्तरीय हरियाली योजनावाट धेरै नै लाभ पुग्ने जिकिर प्रधानाध्यापक सुव्वाको रहेको छ।
अर्कोतर्फ शहरी हरियाली बचाउने प्रयासमा नेपालको भूगोलमा मात्र पाइने “रैथाने (इडेमिक)” र स्थानीय (इन्डिजेनियस) बोट विरुवालाई प्राथमिकतामा राख्न बनस्पतिविज्ञहरुले महानगरलाई सुझाएका छन् । बनस्पतिविज्ञहरु डा. निर्मला जोशी, सह—प्राध्यापक प्रकाश खड्गी र सह—प्राध्यापक डा. शितल वैद्य संलग्न टोलीले काठमाडौं महानगरपालिका मेयर र उपमेयरलाई यस्तो सुझाव दिएको हो।
स्थानीय जातका विरुवा चिन्न, चिनिएका बिरुवा हुर्काउन लाग्ने समय र यसका लागि आवश्यक वातावरण सृजना गर्न महानगरलाई बनस्पतिविज्ञबाट प्राविधिक सहयोगको अपेक्षा मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले गरेका छन्। “हामी चाहन्छौं, तर प्राविधिक कारणले सोचेको काम गर्न सकिएको छैन। तपार्इँहरु प्राविधिक सहयोग गर्नोस्, काम गर्ने वातावरण हामी तयार पार्छौ” मेयर शाक्यको भनाइ थियो।
उपमेयर खड्गी श्रेष्ठले — स्थानीय जातका विरुवाबाट काठमाडौंको छुट्टै पहिचान कायम गर्न सकिने बताएकी छन्। कतिपय विरुवाहरु स्थानीयको संस्कार र आस्थासँग जोडिएका छन्। यस्ता विरुवा बचाउन महानगरले नेतृत्व गर्नेछ, उपमेयर खड्गी श्रेष्ठले प्रतिवद्धता जनाएकी छन्। बनस्पतिविज्ञ डा. निर्मला जोशीले रैथाने बनस्पति रोपेर सहर हरित, स्वच्छ र सुन्दर पार्नुको साथै जैविक विविधता पनि जोगाउन सकिने भनेकी छन्।
काठमाडौ.उपत्यकामा मात्रै करीव १५८ स्थानीय प्रजातिका रुख र ७५ प्रजातिका बुट््यानहरु पाइन्छन। त्यस्तै नेपालमा ३१३ प्रजातीका रैथाने (इन्डेमिक) वनस्पतिहरु छन् जुन विश्वका अन्त कतै पाइदैनन। महानगरको हरियाली जोगाउन सडकको किनारा, पार्क वा घरमा जहाँ ठाउँ छ, त्यहाँ आफ्नै वातावरणमा परिचित बोट विरुवा रोप्न बनस्पतिविज्ञहरुको सुझाव रहेको छ।
सडकको छेउमा पैयुँ, असारे, लेक पाङ्ग्रा, सिरिङ्ग जातिका विरुवाहरु रोप्न सिफारिस गरिएका हुन् भने पार्कमा मिकुसी स्वाँ, फल फल्ने र फूल फुल्नेका वनस्पति, मौलिक वुट््यानहरु र भिराला ठाँउमा उत्तिस जस्ता विरुवाहरु उपयुक्त भनिएका छन् । वृक्षारोपणबाट दिगो वातावरणीय लाभ लिन कम्तीमा ५ फिट भन्दा ठूला बोटविरुवा रोप्न प्रोत्साहन गरिएको छ। महानगरको वातावरणीय ह्रासमा न्युनता ल्याउन तथा दिगो वाताबरणीय लाभ प्राप्त गर्न यसले सहयोग पुग्ने देखिन्छ।
(नामी साप्ताहिकवाट साभार)
प्रकाशन मिति–२०७५ साल चैत्र १९ गते मंगलवार ।