काठमाडौ। भ्रष्टाचार गरेको आरोपमा साउदी अरबका ११ जना राजकुमार, चार मन्त्री र दर्जनौं पूर्वमन्त्री पक्राउ परेका छन्। भ्रष्टाचार नियन्त्रण गर्ने एक समितिले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुको नाम भने सार्वजनिक गरिएको छैन् । उनीहरुले गरेको भ्रष्टाचारको विवरणसमेत सार्वजनिक गरिएको छैन । यद्यपी सन् २००९ मा आएको बाढी र सन् २०१२ मा मर्स भाइरसको संक्रमणका बेला भ्रष्टाचार भएको अनुमान गरिएको छ।
साउदी अरबमा नयाँ भ्रष्टाचार नियन्त्रण समिति गठन भएको चार घण्टाभित्रै उनीहरुलाई पक्राउ गरिएको हो । सो समितिका अध्यक्ष साउदी अरवका युवराज मोहमद बिन सलमान रहेको बताइएको छ। समितिलाई पक्राउ आदेश जारी गर्ने र यात्रामा प्रतिबन्ध लगाउन सक्ने अधिकार दिइएको छ।
यसैबीच साउदी अरेबियाका राजा सलमानले नेसनल गार्ड मन्त्री प्रिन्स मितेव बिन अब्दुल्लाह र सेनाका कमाण्डर एडमिरल अब्दुल्लाह बिन सुल्तान बिनलाई बर्खास्त गरेका छन् । उनीहरुलाई बर्खास्त गर्नुको कारण खुलाइएको छैन्।
(समाचार एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७४ साल कात्तिक १९ गते आइतवार ।