काठमाडौ। भारतको तमिलनाडु राज्यकी तत्कालिन अत्यन्त लोकप्रिय मुख्य मन्त्री जयललिताको दुःखद निधन भएकोमा शोकाकुल ७७ जनाले आत्महत्या गरेका छन्।
तमिलनाडु राज्यको सत्तारुढ दल अन्ना द्रविड मुनेत्र कषगम (एआइडीएमके)ले जारी गरेको विज्ञप्ति अनुसार जयललिता अस्वस्थ्य भएको र उनको निधन भएको खबर सुनेपछि आत्महत्या गर्नेहरुको संख्या ७७ पुगेको छ।
केन्द्रीय गुप्तचर संस्थाले भने जयललिताको निधनका कारण आफ्नो ज्यान दिनेको संख्या ३० पुगेको र आत्महत्याको प्रयास गर्नेको संख्या ४ रहेको जनाएको छ। तर एआइडीएमकेले जयललिताको निधनपछि शोकाकुल ७७ जनाले आत्महत्या गरेको दाबी गर्दै उनीहरुको सूचीसमेत सार्वजनिक गरेको छ।
सो पार्टीले जयललिताको निधनपछि आत्महत्या गर्ने प्रयास गरेका पार्टीका पदाधिकारी तथा कार्यकर्ता, आफ्नो औंला काटेर शोक मनाएका कार्यकर्तालाई क्षतिपूर्तिस्वरुप पार्टीका तर्फबाट ५०–५० हजार रुपैयाँ दिने घोषणासमेत गरेको छ । (एजेन्सी)
प्रकाशन मिति–२०७३ साल मंसीर २३ गते विहीवार ।