काठमाडौ । दुई वर्षपछि नेपालमा भेट्ने बाचा गर्दै दक्षिण एसियाली खेलकुद (साग) को १२ औं संस्करण मंगलबार भारतको गुवाहाटीमा संपन्न भएको छ । गुवाहाटीको सुरुसजाईस्थित इन्दिरा गान्धी रंगशालामा आयोजित भव्य समापन समारोहमा नेपालका युवा तथा खेलकुदमन्त्री सत्यनारायण मण्डललाई भारतका युवा तथा खेलकुदमन्त्री सर्वानन्द सोनोवालले सागको झन्डा हस्तान्तरण गरेपछि १२ औं साग संपन्न भएको घोषणा गरिएको छ। बुधवार नेपालमा फुटबलमा स्वर्ण पदक जितेर फर्केको नेपाली खेलाडीको टोलीलाई भव्य स्वागत तथा सम्मान गरिएको छ।
यसअघि भारतको सपान कार्यक्रममा भारतीय मन्त्री सोनोवालले भारतीय ओलम्पिक कमिटीका अध्यक्ष एन रामचन्द्रनलाई सागको झन्डा दिए। त्यसपछि रामचन्द्रनले उक्त झन्डा अन्तरराष्ट्रिय मान्यताप्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठलाई हस्तान्तरण गरेका थिए। अन्त्यमा उक्त झन्डा श्रेष्ठले नेपालका खेलकुदमन्त्री मण्डललाई हस्तान्तरण गरेपछि सागको १३ औं संस्करण आयोजना गर्ने जिम्मेवारी नेपालमा सरेको हो। प्रत्येक दुई–दुई वर्षमा आयोजना हुने सागको आगामी संस्करण सन् २०१८ मा नेपालमा हुने भएपनि प्रतियोगिताको मिति र खेल स्थलको टुंगो लाग्न भने बाँकी छ।
मन्त्री मण्डललाई सागको झन्डा हस्तान्तरण गरिएपछि कार्यक्रममा आगामी आयोजकको हैसियतमा नेपालको राष्ट्रिय गान बजाएतापनि आयोजक भारतको बदमासीले प्राविधिक गडबढी गरिदिएको थियो। साथमा आगामी आयोजक राष्ट्रको कला–संस्कृतिका विषयमा जानकारी गराउने उद्देश्यले कार्यक्रममा नेपाली कलाकारले नेपालबारे विभिन्न प्रस्तुति रोचक ढंगवाट प्रस्तुत गरेका थिए।
कार्यक्रममा एनओसीका अध्यक्ष श्रेष्ठले सागको १३ औं संस्करण नेपालले भव्य रूपमा आयोजना गर्ने प्रतिबद्धता पनि व्यक्त गरे। श्रेष्ठले दक्षिण एसियाली राष्ट्रहरूको ओलम्पिकका रूपमा परिचित सागको आगामी संस्करण सफल बनाउन आफूहरूलाई सरकारको पूर्ण साथ रहेको जानकारी पनि गराए। कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार बिष्ट पनि सहभागीता रहेको थियो ।
दक्षिणएसियाली खेलकुद प्रतियोगिताको सुरुआत नै नेपालबाट भएको हो । सन् १९८४ मा पहिलो दक्षिणएसियाली खेलकुद नेपालमा आयोजना भएको थियो । यसैगरी सन् १९९९ मा दक्षिण एसियाली खेलकुदको आठौं संस्करण पनि नेपालमै आयोजना भएको थियो।
सागमा स्वर्ण जित्नेलाई जनही ५ लाख रुपैयाँ दिने
बुधवार नै नेपाल सरकारले १२ औं दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण जित्ने खेलाडीलाई जनही ५ लाख रुपैयाँ दिने घोषणा गरेको छ । साग विजेता खेलाडीलाई स्वागतरसम्मान गर्न बुधबार दशरथ रंगशालामा भएको कार्यक्रममा युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डलले ५ लाख रुपैयाँ घोषणा गरे। मन्त्री मण्डलका अनुसार स्वर्ण जित्ने सबै फुटबल खेलाडी तथा अफिसियलसहित व्यक्तिगत स्वर्ण जित्ने अरु दुई खेलाडीलाई सरकारले ५ लाख दिनेछ । नेपालले फुटबलसहित जुडो र उसुमा स्वर्ण जितेको छ ।
प्रकाशन मिति–२०७२ साल फागुन ६ गते विहीवार ।