काठमाडौं। कोरोनाभाइरस (कोभिड–१०) को महामारीको कारण जारी लकडाउनवाट बन्द भएको र लकडाउन अन्त्य गरिसकेको अवस्थामा पनि सरकारले विद्यालय संचालन गर्नमा रोक लगाइरहेको छ। अव भने, सरकारले मुलुकभरका विद्यालय सञ्‍चालन कार्यढाँचा जारी गर्ने भएको छ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै बिहीबार सरकारका प्रवक्ता एवं सञ्‍चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय सञ्‍चालन कार्यढाँचा जारी गर्ने निर्णय भएको जानकारी दिएका हुन् । भदौ १ गतेदेखि भर्ना खोल्ने निर्णय भने यसअघिको बैठकले गरेको थियो ।

मन्त्रिपरिषद् बैठकले विद्यालय भवन र परिसरमा क्‍वारेन्टाइन, आइसोलेसन सञ्‍चालन नगर्ने र त्यस्ता संरचना बनाइ प्रयोग हुन छाडेका विद्यालय, भवनलाई मापदण्डअनुसार स्थानीय तहले निर्मलीकरण गरी अध्यापन गराउन योग्य बनाउने निर्णय समेत गरेको छ।

विद्यालय, विद्यालय परिसरभित्र र विद्यार्थी आवगमनमा प्रतिकूल पर्ने वा विद्यालय क्षेत्र निकट हुने गरी कोभिड–१९ र रोकथाम र नियन्त्रणसम्बन्धी कुनै पनि संरचना नबनाउने र गतिविधि नगर्ने पनि सरकारको निर्णय छ।

प्रवक्ता खतिवडाले शैक्षिक सत्र २०७६–७७ का परीक्षाको बाँकी नतिजा प्रकाशन गर्ने, भदौ १ देखि नयाँ विद्यार्थी भर्ना गर्ने, भर्ना भएका विद्यार्थीको शैक्षिक तथ्यांक भराउने, पाठ्यपुस्तक उपलब्ध गराउने, कक्षागत विद्यार्थीको संख्या एकीन गर्ने र विद्यालयका शैक्षिक क्रियाकलाप सञ्‍चलानार्थ शिक्षकहरु अबिलम्ब विद्यालय पुग्ने व्यवस्था मिलाउने निर्णय बैठकले गरेको जानकारी दिएका छन्।
प्रकाशन मिति–२०७७ साल साउन १५ गते विहीवार ।