काठमाडौ। बेलायतमा यतिखेर दुई नाटक समय दृश्य र जीगिषाकै चर्चा रहेको छ। बेलायतको इतिहासमा यी दुई नाटकले नाटक हेर्ने बेग्लै जमात खडा गर्न सफलता प्राप्त गरेको छ। यतिखेर बेलायतका विभिन्न शहरहरुमा नाटक जीगिषाको व्यापक मञ्चन भैरहेको छ।
बेलायतमा रहेका प्रसिद्ध नेपाली रंगकर्मी सनम कुमार बैरागको अगुवाई तथा निर्देशनमा यी दुवै नाटक बेलायतमा मञ्चन भएको हो। समय दृश्यले बेलायतमा नाटक पनि चल्छ भन्ने कच्ची बाटो बनायो भने, जीगिषाले त्यस कच्ची बाटोलाई पिच बनाउने कार्य भएको छ।
यसक्रममा यी दुवै नाटकमा अभिनय गर्ने अभिनेत्री प्रसुना कंडेलको हाल व्यापक चर्चा भएको छ। समय दृश्य र जीगिषामा स्वभाविक अभिनय गरेर सवैको मन जित्न सफल कलाकार कंडेल यो जीवनकै अनौठो जितको प्रवेग हो भन्न रुचाउंछिन्।
समय दृश्य र जीगिषाको सफलताले नाटक खेल्ने जीजीविषा अझ बढे्को प्रतिक्रिया दिएकी छन्। बेलायतमा पेशाले नर्स समेत रहेकी प्रसुनाको सानैदेखिको अभिनय गर्ने रहरले नै उनलाई कलाकार बनाएको हो।
काठमाडौमा रहंदा लोकदोहरी गीतमा समेत अभिनय गरिसकेकी बेलायत पुगेपछि फ्रेस अफ प्युरिटी नामक व्युटी कन्टेस्टमा भाग लिएर मिस पब्लिक च्वाइस र मिस पर्सनालिटीको टाइटल अवार्ड जितेर नेपाल र नेपालीको नामलाई उँचा पारिसकेकी छन्।
बेलायतबाट क्रिटिकल केयर नर्सिङमा मास्टर्स गरेकी उनी नेप्लिज नर्सिङ एसोसिएसन, बेलायतकी अध्यक्ष हुन्। उनले बेलायतमा क्रिटिकल केयर नर्सिङको काम गर्दै आएकी छन्। किङडम स्कूल अफ आर्टबाट थिएटर एक्टिङ कोर्स तथा इन्टरनेशनल स्कूल अफ स्क्रिन एक्टिङबाट डिप्लोमा गरेकी उनले इलाहावादको प्रयाग संगीत पाठशालाबाट गुरुदेव कामतमार्फत शास्त्रीय संगीतसमेत सिकेकी छन्।
गत बर्ष २०७२ साल बैशाख १२ गते नेपालमा गएको महाभूकम्पले पीडितहरुलाई नेपालमा नै आएर सहयोग गर्ने कार्यमा पनि त्यतिकै मेहनत गरेकी प्रसुनाले नेपालका भूकम्प पीडितहरुको पीडा मनले बुझेकी कलाकार हुन्। त्यसमाथि, समय दृश्य र जीगिषा पीडाकै यथार्थ कथाबस्तुमा आधारित नाटक भएकोेले अभिनय गर्नमा खासै गाह्रो नभएको भनाई प्रसुनाको रहेको छ।
यथार्थवादी रंगकर्मी निर्देशक सनम कुमार बैरागको प्रयोगवादी निर्देशनको कारणले पनि आफूहरुलाई बेलायत प्रवासमा पनि नाटकमा अभिनय गर्न अत्यन्त सजिलो भएको उनको धारणा रहेको छ।
प्रकाशन मिति–२०७३ साल चैत्र २१ गते सोमवार ।