–शिला सायमी
विश्व नै कोरोना महामारीको संक्रमणको चपेटामा परेको बेला नेपाल मात्रै अछुतो रहन सकेन । अहिले नेपालमा पनि एक–एक गरेर पचासजनाभन्दा बढी कोरोना संक्रमितहरु भैसकेका छन् । खतराको घन्टी अब बज्दै छन्। चालिसबाट चारसय, चारसयबाट चार हजार हुन कति बेर लाग्छ र ! यस्तो बेला विशेष गरी नेपाली जनता सचेत हुनु अति जरुरी छ। एकातिर संक्रमित व्यक्तिहरु लुकेर बसेको अवस्था छ भने अर्कोतिर सरकारको अदूरदर्शिताले गर्दा जनता अलपत्रमा परेका छन्। धनी पनि ब्यापार व्यवसाय थप्प हुंदा मारमा परेको छ भने गरिवको त झन् बेहालै छ। धन्न नेपाली युवाहरु अगाडि बढेर अलपत्र परेका र विपन्न वर्गको सहयोगमा जुटेका छन्। ठाउंठाउंमा खाना पकाएर बांडेका छन्। खाजा, खाद्यान्न र पानी बांड्दै छन्।
एउटा कुर्सीका लागि तंछाड–मछाड गर्ने नेताहरु भने आज यस्तो विषम परिस्थितिमा आफ्नो कुर्सी च्यापेर बस्नमा बढी रमाएका छन्। के मन्त्रीहरु भाषण गर्न, ठूल्ठूला भवन उद्घाटन गर्न र मिडियामा आफ्ना अनुहार देखाउन मात्रै बसेका हुन् कि जनताको सेवा गर्न आएका हुन ?? वास्तवमा नेता हुन साह्रै गाह्रो पो छ त ! राज्यमा बेलाबखत अनेकौं अप्रिय घटनाहरु घटिरहेका हुन्छन्। दैवीप्रकोप तथा यस्ता ठूल्ठूला महामारी कुन बेला आउंछन् निश्चित हुंदैन। अहिले विश्वमा फैलिएको नोभेल कोरोनाको महामारीले यस्तै परिस्थिति श्रृजना गरेको छ।
यस्तो बेला राष्ट्रपति चुपलागेर बस्न मिल्दैन। राष्ट्रपति भनेको देशको अभिभावक हो। उहां महिला भएको कारणले नेपालकै आमा हुनुभयो। राष्ट्रनै संकटमा परेको आजको स्थितिमा, राष्ट्रपति अति नेै चनाखो भएर बिरालोले आफ्नो बच्चा च्यापे जस्तो राष्ट्र र जनताको संरक्षण गर्नु पर्ने बेला हो। न कि आफ्नो कुर्सी बचाउन नयां योजना तिर।
जव देशमा संकटको अवस्था आउंछ तव प्रत्येक नागरिकको दायित्व संकटको समाधन खोज्नतिर ध्यान केन्द्रित हुनुपर्छ। त्यसबेला धनी, गरिब, ठूला र साना, नेता र जनताको भेदभाव हुंदैन। जसको उदाहरण विसं. २०७२ बैशाख १२ को महाभूकम्पलाई लिन सकिन्छ। आजको अवस्था पनि त्यस्तै हो। यस्तो बेला सरकारलाई घच्घचाउने दायित्व जनताको हो भने जनप्रतिनिधिहरु अगाडि उभिनु पर्छ। उनिहरु अगाडि बढेर सक्दो मद्दत गर्ने र उनिहरुलाई सहयोग गर्ने सर्वसाधारणको कर्तब्य हो। सक्नेले आर्थिक सहयोग गर्ने, बलियोले सामाजिक सेवा गर्ने, विद्धानले सल्लाह दिने केही नसके सरकारले दिएको आदेश मात्र पालन गरेर घरमा बसिदिनु पनि ठूलो सहयोग हो।
हामी नेपाली अरुलाई गाली गर्न साह्रै माहिर छौं । प्रहरीले यसरी जनता कुटे उसरी जनतालाई दुखः दिए भनि फेसबुक स्टाटसमा लेख्छौं। हजारचोटि भनेपनि अटेर गर्नेलाइ कहिले काहीं यसरी नै चुट्नु पर्छ। यस्तो भनेर फेरि ज्यादति भने गर्न पनि मिल्दैन । दिनको १२ देखि २४ घन्टा ड्युटी गरिरहेको अवस्था छ। घाम पानी र खानाको ठेकान छैन। परिवार उनीहरुका पनि छन्। रोग त उनिहरुलाई पनि सर्न सक्छ। आफ्नो ज्यानको परवाह नगरी हामी जनताको सेवामा निरंतर लागिरहेका छन्, उनिहरुको सम्मान गर्नु पनि हाम्रो दायित्व हो भन्ने कुरा पनि हामी सम्झिदिंदा के फरक पर्छ र ! सांच्चैनै अहिलेको लकडाउन को बेला हाम्रा नेपाली प्रहरी–जवानहरु र स्वास्थकर्मीहरु धन्यवादका पात्रहरु हुन्।
अब आउंछ नेता । नेता सबभन्दा बाठो हुन्छन् । झन् हाम्रा देशको नेताहरु खपिनसक्नु छ। चुनाव आयो भने देशै स्वर्ग बनाउने कुरा गर्छन् । चुनाव सकेपछि आफूलाई भोट दिने जनता पनि चिन्दैनन्। नेता उठ्ने बेला भनेको यही हो, जुन बेला देशमा संकट परेको हुन्छ। चुनाव त नेताको चिनारी देखाउने समय मात्रै हो। यसपालिको चुनावमा मपनि उठेको छु, योग्य भए मलाई पनि छान्न सक्नु हुन्छ भनेर जानकारी दिने मात्र हो। आजको विषम परिस्थितिमा देश र जनताको सेवा गर्ने मौका आएको छ। आफ्नो क्षेत्रमा समस्या परेकोलाई आवश्यक सहयोग गर्नै बेला हो।
खान नपाएकालाई खाना वितरण गर्ने, राहत नपुगेकोलाई सिफारिस गरिदिने। विरामीलाई औषधीको व्यवस्था गरीदिने, अलपत्र परेकालाई गन्तव्य पुर्याउने, सबभन्दा ठूलो काम भनेको आफ्नो क्षेत्र भित्र रहेका कोही व्यक्ति सरकारले दिएको राहतबाट बन्चित नहोस् भनेर चनाखो भएर बस्नु हो।
पहिलो चरणको राहत बांडीसकेको अवस्था छ भने अव दोश्रो चरणको राहत बांड्ने तयारी भैरहेको छ। सरकारको आंखा नपुगेको ठाँउमा, अलमल भएको ठाउंमा सरकारको ध्यानाकर्षण गराउने हो। यहां सत्ताधारी होस् वा विपक्षी भेदमाव नगरि आफ्नो जनता भनेर अगाडि बढ्नु पर्छ। यस्तो बेला स्थानीय सामाजिक संस्थाहरुसंग पनि समन्वय गरेर जानु अति उत्तम हुनेछ। आज सरकारले एकव्दार नीति अपनाएर राहत बांड्दै छन्।
यस नीतिसंग जनता सन्तुष्ट नभएको अवस्थामा नेताहरु (कुनै पनि राजनैतिक दलका सदस्य) र सामाजिक संस्थाका सदस्यहरुले सरकारको यस नीतिमाथि विश्वास दिलाउने बातावरण मात्रै सृजना गरिदिएको खण्डमा पनि मानवताको दायित्व पूरा हुने थियो कि ! वास्तवमा सांच्चैेको नेता भनेर आफ्नो परिचय दिने बेला भनेको अहिले नै हो । यो अवसर चुक्नु दिनु हुंदैन। चुनावमा खर्च गर्ने पैसाको एक चौथाईमात्र आजै खर्च गरिदिएको भए राज्यसत्तालाई पनि केही राहत हुने, जनताले पनि सुखको सास फेर्न सक्ने र आफ्नो भोट पनि सुनिश्चित हुने थियो कि !
आज कतिको मानिसहरु घरवार भएर नि व्यापार व्यवसाय थप्प भएको कारणले सापत्ति लिनुपर्ने अवस्था आएको छ। घरमा पैसा सकियो, आफन्त कहाँ जान सकिरहेको छैन, तलव आएको छैन, काम धन्दा, व्यापार सबै बन्द छ। यस्ता नदेखिने समस्या काठमाडौंमा मात्रै हैन देशभरि नै छन्। के हाम्रा नेताहरु यतातिर (जुन नदिखिने भोक मरि हुन् ।) समाधान गर्न सकिदैन र !
कमसेकम लकडाउनलाई मात्रै चांडै खोल्न सकिने वातावरण बनाउन सक्नु पनि ठूलो उपलब्धी हुने थियो कि ! जनताले चुनावमा घण्टौ घाममा बसेर, आफ्नो गाउं ठाउं गएर भोट दिन्छन्। आफ्नो नाउं छुट्ला भनी वडा र वडा सम्बन्धित ब्यक्तिसंग सोधपुछ गर्दै हिंड्छन्।
यस्तै समस्या परेको बेला आफूलाई र देशलाई हेर्छकि भनेर हैन र! यस्तो समस्या परेको बेला टुलुटुलु हेरेर बस्ने अनि चुनावको बेला दोैडेर मात्रै जित्न सफल हुन्छ र ? भोट पैसाले हैन मनले जित्नुस् यो देश र जनता तपाईकै हो । अन्यथा, भोेलि भोट माग्न जांदा ढुंगाले हानेर ल्याउने बातावरण आफै श्रृजना नगर्नुस्, विन्ति छ ।
(लेखिका शिला सायमी सामाजिक अभियन्ता हुनुहुन्छ। यो उहाँको अत्यन्त नीजि विचार मात्र हो। –समाचार सम्पादक) प्रकाशन मिति–२०७७ साल बैशाख १७ गते बुधवार ।